पूर्वाञ्चल खबर
विराटनगर / अवैधरुपमा भारतबाट ल्याउँदै गरेको २४ लाख नेपाली रुपियाँसहित विराटनगरबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
हुण्डी मार्फत भारत पठाएको रकम भुक्तानी गर्न आएका भारत फारविसगञ्ज ९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया शुशिलादेवी गुप्ता साहलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
भारतीय बजारमा नेपाली मुद्रा सटही गरेर भुक्तानीका लागि आउँदै गरेको अवस्थामा प्रहरीले बि आर ३८ एच ६१४२ नम्वरको भारतीय सुजुकि कार विराटनगर रोडशेष चोकमा चेकजाँच गर्दा रकम फेला परेको थियो । नेपाल सरकारले एक् व्यक्तिले १० लाख रुपियाँ भन्दा बढी रकम बोकेर हिड्न नपाउने व्यवस्थासमेत गरेको अवस्थामा ठूलो परिमाणमा नगद बोकेर आएको तथा कारको डिकिमा लुकाएर ल्याएकोले पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसंद्दानका क्रममा हुण्डि मार्फत भारत पठाइएको रकम भुक्तानी गर्न ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता घनश्याम श्रेष्ठले बताए । हुण्डि मार्फत अवैधरुपमा आर्थिक कारोवार भइरहेको र त्यसको ठूलो सञ्जाल फेरी सक्रिय भएको सूचना प्राप्त भएको अवस्थामा रकमसहित दुई जना भारतीय नागरिक फेला परेको उनले बताए ।
पक्राउ परेकाहरुबाट २४ लाख १५ हजार नेपाली रुपियाँ तथा ४ हजार ९ सय भारतीय रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कारवाहीका लागि सुनसरीको इटहरी स्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।