पूर्वाञ्चल खबर
आज भएको अक्सनमा सन्दीपलाई लाहोरले बोली लगाएको हो । सन्दीप लाहोरमा ५० हजार डलर पारिश्रमिकमा आबद्ध भएका हुन् । उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो ।
सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कप्तान कार्लोस बाथवेट, न्यूजिल्यान्डका कोरि एन्डर्सन छन्।
सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट विदेशी लिगमा खेल्न सुरुवात गरेका थिए । त्यसयता सन्दीपले लगातार विदेशी लिग खेलिरहेका छन् । आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले क्यानेडियन, क्यारिबियन, बिग ब्यास तथा अफगानिस्तानको लिग खेली सकेका छन् ।
आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन्।
पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी फ्रेन्चाइज लिगमा आवद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भएपनि उनलाई कुनै पनि टिमले चासो देखाएको थिएन । यता सन्दीपसँगै ड्राफमा परेका सोमपाल कामीलाई भने कुनै पनि क्लबले लिएनन् । सोमपाल सिल्भर क्याटगरीमा थिए ।