पूर्वाञ्चल खबर
विराटनगर–१ स्थित गंगा चोकमा रहेको उद्योगी चम्पालाल राठीको गोदाम घरमा जुवा खैल्दै गरेको अवस्थामा प्रहरीले गएराति ठूलो रकमसहित जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडे विराटनगरका ठूला व्यापारिक घराना हुन् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले करिब रातको २ बजे उद्योगी राठीसहित ५ जनालाई १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
राठी स्वस्तीक जुटमिलका मालिक हुन्। प्रहरीले राठीसहित विराटनगर–५ का जीवन रिजाल, विराटनगर–३ का मुकेशकुमार अग्रवाल, विराटनगर–७ का विमल अग्रवाल र हंशराज जैनलाई पक्राउ गरेको हो। पक्राउ परेका रिजाल विराटनगरका ठूला धानचामल व्यापारी हुन् भने अग्रवाल तेल र च्यूराको व्यापार गर्नुका साथै उनको श्याम एग्रो उद्योग पनि छ। यस्तै विमल अग्रवाल भने कटहरीका धानचामल व्यापारी हुन् भने जैन विराटनगरका स्थापित मारवाडी अगुवा हुन्।
जुवाको खालबाट प्रहरीले नगद एक लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। जुवाको खालबाट पक्राउ परेका व्यापारीलाई छुटाउन विराटनगरका उद्योगी व्यवसायी जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका छन्।