छठ पर्वको विधि आजदेखि सुरू

खबर पूर्वाञ्चल, २५ कार्तिक २०७५, आईतवार ०९:१८
फाइल तस्वीर

विराटनगर / प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको विधि आजदेखि सुरू भएको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए ।

आज पहिलो दिन (चतुर्थी) अरबा–अरबाइन गरिन्छ । यसलाई नहाय–खाय पनि भनिन्छ । छठको पहिलो दिनदेखि व्रतालुले शुद्ध भोजन गरी व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ ।

यसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि रंग्याई व्रतालु दिनभरि निर्जला व्रत बस्छन् । बेलुकी चन्द्रमालाई खीर अर्पण गरी सोही प्रसाद खाने परम्परा छ । तेस्रो दिन षष्ठी तिथिमा गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटी विभिन्न खाद्य सामग्री बनाइन्छ । फलफूल, ठकुवा, भुसवा, खजुरी, पेरूकिया,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय पुग्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ’अरिपन’ चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई फूल अक्षता हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गर्छन् । चौथो तथा अन्तिम दिन बिहान व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोर्होयाई सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्यको गाथा श्रवण गरिन्छ । छठ पर्वमा शुद्धता र निष्ठालाई महत्त्व दिइन्छ । यो पर्वमा चाहिने भाँडाकुडा र वस्तुको जोहो एक महिना अगाडिदेखि नै गर्ने चलन छ। छठमा व्रत बस्नेले अाजबाट भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मुसुरोलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५