पूर्वाञ्चल खबर
आज बसेको केन्द्रीय समिति बैठकले नेता गच्छेदारलाई उपसभापति बनाउने निर्णय गरेको हो । उनी तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा गएका थिए। उनले सम्झौताअनुसार भूमिका नपाएको भन्दै पछिल्लो समय सम्झौता कार्यान्वयनका लागि दबाब दिन सुरु गरेका थिए।
राजनीतिक आवश्यकता अनुसार गच्छदारलाई उपसभापतिमा मनोनीत गरिएको नेता रमेश लेखकले बताए। एक वर्षअघि पार्टी एकता हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारको पार्टीबाट उपसभापतिसहित १० जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने सहमति गरेका थिए। त्यसअनुरूप केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने विषयमा निर्णय लिनका लागि बैठकले पार्टी एकीकरण गरेको फोरम लोकतान्त्रिकका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय समेत गरेको छ ।
गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो ।