पूर्वाञ्चल खबर
सिएजी स्वस्थ्य क्लबले विराटनगरमा आयोजना गरेको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागिता अन्तर्गत आजको फाइनल खेल विर्तामोडले साविक विजेता धरान भेट्रान फुटबल क्लवलाई १–० गोलमा पराजित गरी उपाधि कब्जा गरेको हो । यो सँगै विर्तामोडले गत वर्षको फाइनलमा भोगेको पराजयको बदला लिँदै उपाधि कब्जा गरेको हो ।
सहिद रंगशालामा भएको खेलमा विर्तामोड आक्रमक खेललेको थियो भने धरानले रक्षात्मक खेललेको थियो । धरानका रक्षापंक्तिका सामु आक्रमक खेलेको विर्तामोडले गोलका खतरापूर्ण अवसर बनाउन सकेन । खेलको १७ औं मिनेटमा विर्तामोडका तोयाराम भुजेल गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे । १९ औं मिनेटमा धरानका प्रेम घिमिरेले २५ यार्डबाट गरेको फ्रि किक प्रहार पोलमाथिबाट बल बाहिरियो । ३१ औं मिनेटमा विर्तामोडका नरेन्द्रमणि लिम्बूले बक्स अगाडिबाट गरको प्रहारलाई गोलरक्षकले डाइफ हान्दै बचाउ गरे । ३८ औं मिनेटमा सुवास आङथुपाले गरेको प्रहार पोलमाथिबाट बाहिरियो । ५१ औं मिनेटमा धरानका प्रेम घिमिरेले दिएको पासमा सुरज श्रेष्ठले गरेको प्रहार पोल नजिकैबाट बल बाहिरियो । ५९ औं मिनेटमा विर्तामोडका नरेन्द्रमणि लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ द फाइनल धरानका खगेन्द्रबहादुर लिम्बू घोषित भए ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक विर्तामोडका टंक धिमाल, चार गोल गरेर काँकडभिट्टा भेट्रान क्लबका लाक्पा लामा सर्वाधिक गोलकर्ता, म्यान अफ द सिरिज विर्तामोडका नरेन्द्रमणि लिम्बू भए । प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।
खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक क्लबका अध्यक्ष किशोर धमला, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानिया, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मोरङ फुटबल सँघका अध्यक्ष दीपेन्द्र घिमाललगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको फाइनल खेलको अवसरमा पूर्व फुटबल खेलाडी शिशिर थापा र सिएमजी क्लबका शिवराज राईलाई सम्मान गरिएको थियो ।