पूर्वाञ्चल खबर
विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा काँकरभिट्टाले मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान फुटबल क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । काँकरभिट्टाले एकपक्षीय खेल खेल्दै नतिजा आफ्नो पक्षमा पारेको हो । काँकरभिट्टाबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी लाक्पा लामाले ४ गोल गरे भने रमेशकुमार बस्नेत १ गोल गर्दै टिमलाई विजयी बनाए । एभरेष्टका लागि एकमात्र सान्तवना गोल कुमुदकुमार लिम्बूले गरे । दुवै टिमबाट ‘ए’ डिभिजनका अनुभवी खेलाडीहरुको सहभागिता रहेको थियो ।
खेलको तेस्रो मिनेटमा एभरेष्टका कुमुदकुमार लिम्बूले डिबक्सभित्र मिलाइ दिएको पासमा छत्र लिम्बू गोल गर्न चुके । ५ औं मिनेटमा रमेशकुमार लिम्बूले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । कर्नर प्रहारलाई एभरेष्टका सन्दिप बुढाथोकीले क्लियर गर्न खोज्दा हातमा लागेपछि काँकरभिट्टाले पेनाल्टीको अवसर पाएको थियो । १७ औ मिनेटमा एभरेष्टका सन्दिप बुढाथोकीले २५ यार्ड नजिकबाट गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे । २९ औं मिनेटमा डिबक्स अगाडिको लाइनबाट काँकरभिट्टाका दर्शनभक्त राज लवतले गरेको सिधा प्रहार गोल हुन सकेन ।
३८ औं मिनेटमा काँकरभिट्टाका लाक्पा लामाले सेन्टरबाट एक्लै लगेर गोल गरे । ४८ औं मिनेटमा काँकरभिट्टाका राजु गुरुङले बक्सभित्र मिलाइ दिएको पास दर्शनभक्त गरेको प्रहार पोलमाथि लाग्दै बाहिरियो । ५२ औं मिनेटमा पुनः लाक्पा लामाले वान भर्सेस वानमा गोल गरे । ६२ औं मिनेटमा काँकरभिट्टाका लागि लाक्पा लामाले चौथो गोलका साथै व्यक्तिगत ह्याट्रिक गरे । ६८ औं मिनेटमा पुनः काँकरभिट्टाका लागि लाक्पाले गोल गरे । उनले दर्शनको क्रसपासमा गोल गरे । खेलको ७० औं मिनेटमा एभरेष्टका कुमुदकुमार लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच काँकरभिट्टाका लामा घोषित भए । बुधबारको पहिलो सेमिफाइनल खेल झापा दमकको पूर्वाञ्चल र सुनसरीको धरान भेट्रान क्लबबीच हुनेछ ।