पूर्वाञ्चल खबर
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा रेडिमेट कपडा पसलले ५ गुनासम्म मुल्यवृद्धि गरी कालोबजारी गरेको पाइएको हो ।
अनुगमना क्रममा विराटनगर मेनरोडमा रहेको ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३९ सय रुपैयामा बिक्री गर्ने गरेको भेटिएको बाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए । उनका अनुसार साकेत ट्रेडर्सले पनि ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ताको मुल्य १५८५ रुपैयामा बिक्री गर्ने गरेको पाइएको हो ।
दुबै पसलले दशैको मुखमा कालोबजारी गरेको भेटिएपनि प्रशासनले सात दिन भित्र उपस्थीत हुन भन्दै पत्र थमाएको छ । ग्यालेक्सी मार्टले ४ सय ५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मुल्य १ हजार ३ सय ७५ राखेको पाइएको थियो भने साकेतमा पनि ४ सय पर्ने पेन्टको बिक्री १ हजार ३ सय रुपैया राखेको पाइएको थियो ।
‘अनुगनका क्रममा ६ गुनासम्म मुल्यबढी राखेर कालोबजारी गरेको पाइयो ।’ बाणिज्य कार्यालयका निमित्त प्रमुख दाहाल भन्छन ‘सात दिन भित्र दुबै पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थीत हुन निर्देशन दिइएको छ ।’
दशैको मुखमा ६ गुणाबढी मुल्य राखेर कालोबजार गरेको भेटिएपछि प्रशासनले कागजपत्र सहित उपस्थीत हुन निर्देशन दिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
प्रशासन निरिह
बिहिवार ६ गुणाबढी मुल्य लिएको भेटिएपनि अनुगमन गर्न निस्कीएको प्रशासन टोली कारवाही प्रकृया अघि बढाउन निरिह देखियो । खरिद मूल्यको बढीमा २० प्रतिशत सम्म मुनाफा खान कानुनले बैधानिकता दिएको छ । तर बिहिवार आखै अगाडी ६ गुणा बढी मुनाफा लिएको भेटिएपनि प्रशासनले निरिह हुदै सातदिने पत्र थमाएर फर्कीयो ।
अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको टोलीले कालोबजारी नियन्त्रण गर्न भन्दापनि तर्साउन खोजे जस्तो गरिएको देखिन्थ्यो । सहायक प्रजिअ पाण्डे व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको बताउँछन् । ‘तत्कालै कालोबजारी नियन्त्रण गर्ने, निमिटान्य पार्ने भन्दा हामी फेल हुन सक्छौ ।’ उनले भने ‘ व्यापारीलाई सच्चिनु पर्छ भन्ने म्यासेज दिन खोजेको हौं ।’
खरिद मुल्यको ६ गुना बढि मुल्य लिनु कालोबजारी भएको बताउदै उनले दशैको मुखमा उपभोक्ता नठगिउन भन्ने उदेश्यले अनुगमन गरिएको बताए ।
कालोबजारी गर्ने साकेत र ग्यालेक्सीलाई कारवाही गर्ने बिषयमा कागजपत्र हेरेपछि मात्र भन्न सकिने उनले बताए । ‘जिल्ला प्रशासनमा सात दिन भित्र बोलाएका छौ ।’ उनले भने ‘ मुद्दा लाग्ने अवस्था खुल्छ खुल्दैन अनुसन्धानको फेजमा छौ ।’
गोल्छा डेरीको बिक्री रोक
बिहिवार अनुगमन गरेको टोलीले गोल्छा डेरी उद्योगबाट उत्पादित सामाग्री तत्काल विक्री नगर्न निर्देशन दिएको छ । मिसावट हुने गरेको गुनासो आएपछि अनुगमन गर्न विराटनगर पाञ्चालीमा रहेको उद्योगमा पुगेको टोलीले तत्काल विक्री बितरणमा रोक लगाएको हो । उद्योगबाट उत्पादित सामाग्री परीक्षणकालागि नमुना संकलन गरेको थियो । संकास्पद अवस्था रहेकाले नमुनाको परीक्षण रिपोर्ट नआए सम्म बिक्री नगर्न निर्देशन दिइएको दाहालले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा गोल्छा डेरी उद्योगको सामागी परीक्षणकालागि लगिएको छ । किराना पसल र मिठाइ पसलमा अनुगमन गरिएको थियो ।