CLASSICTECH NET

ए ! सरकार, कन्चनपुरलाई न्याय दिन किन ढिलो?अब त अति भयो छिटो न्याय देऊ सरकार!

खबर पूर्वाञ्चल, १३ आश्विन २०७५, शनिबार १७:३९
तिलकुमारी शर्मा

तिलकुमारी शर्मा
पीडितले सँधै आँसु बगाएर न्यायको खोजीमा भौतारिइरहनुपर्ने अनि अपराधी खुलेआम शिर ठाडो पारेर हिड्ने ? अपराधीलाई प्रहरी प्रशासन आफैंले लुकाउने अनि पीडितले न्याय माग्दा प्रहरीकै गोली लागी मृत्युवरण गर्नुपर्ने? के यही हो त प्रशासनिक दक्षता र कुशलता? अझै कहिलेसम्म आलटाल गरिरहने हो प्रशासन?

कन्चनपुरकी निर्मला पन्तको बलत्कारपछि हत्या भएको गतेको हिसाबले असोज ११ गते दुई महिना पूरा भयो। तर अझै सम्म पनि अपराधी फेला पर्न नसक्नु साह्रै दुखलाग्दो कुरा हो। आज पत्ता लाग्ला, भोली पत्ता लाग्ला भन्दा भन्दै घटना झन रहस्यमय बन्दै गइरहेको छ। अनुसन्धानमा संलग्न प्रहरीहरुको फितलो र लापरबाही अनुसन्धान अनि अविस्वासिलो र असान्दर्भिक प्रसङ्गहरू घटनासँग जोड्दाव नटकीय व्यवहारले सिङ्गो प्रहरी संगठन बद्नाम भएको मात्र छैन प्रदेश र केन्द्रीय सरकारमाथि पनि प्रश्न उब्जिएको छ। यो घटना कञ्चनपुरमा मात्र सिमित छैन। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरलाई नै यो तानेको छ ।

सीता र भृकुटी अनि राम र गौतम बुद्धको भूमी सुन्दर शान्त विशाल भनेर विश्वमा चिनिएको देश आज हत्याहिंसा र बलत्कार भइरहने देशकोरुपमा चिनिंदा समेत प्रदेश र केन्द्रीय सरकार, राजनीतिक दल र प्रहरी प्रशासन कसैलाई फरक नपरेकै हो त ? यदि होइन भने किन कोही पनि अपराधी समातिदैनन् आजसम्म?

दुई महिना बित्यो, अझै कति पर्खने ? अपराधी पत्ता लगाउन र कारबाही गर्न नसक्ने हो भने जनताले तिरेको करबाट तलब र भत्ता पचाएर कुर्सीमा बसिरहने अधिकार छैन कसैलाई ।

घटना गत श्रावण १० गतेको हो। कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर २ महुलिया हुम्लाघाँट निवासी सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १३ बर्षीया बालिका निर्मला पन्त आफ्नै कक्षाकी साथी रोशनी बमका घरमा पढ्न गइन्। सोही नगरपालिका वडा नं.१८ मा पर्ने उक्त दुईतले घरमा रोशनी र उनकी दिदी बबिता बस्थे। उनका बुबा आमा जागिरका शिलशिलामा दार्चुलामा बस्छन् । घर भाडामा पनि लगाइएको छैन।

निर्मलाका बुबा यज्ञराज पनि कान्छी श्रीमतीका साथ सोही नगरपालिकाको भासी भन्ने ठाउँमा पानी पुरी व्यापार गरि उतै बस्थे। आमा दुर्गादेवी भने तीनवटी छोरीहरुका साथमा आफ्नै घरमा चटपटे बनाउँदै गुजारा चलाउँदै आएकी थिइन्।
त्यसदिन आमा दुर्गादेवी सामान किन्न भनि विहान ८ बजे बजार निस्किइन। दिउँसो १ बजे घर आउँदा ठूला दुवै छोरीहरु घरमा थिएनन्। सानी छोरीबाट थाहा भयो कि जेठी छोरी मनिषा उनकी साथी भूमिका भट्टका घरमा हिसाब सिक्न गएकी थिइन् भने माइली छोरी निर्मला रोशनी कहाँ विज्ञानको गृहकार्य गर्न,अम्बा लिन र अघिल्लो दिन रोशनीले उधारो लगेको चटपटेको पैसा लिन ११ बजे नै गएकी थिइन्। दिदी मनिषाले आफु आएपछि मात्र जान भनेकी थिइन्। तर मनिषा हिँडेको केही समय पश्चात नै निर्मला पनि साइकल लिएर निस्किइन्। मनिषा २ बजे घर आइन्। तर निर्मला आइनन्। छोरी अबेरसम्म पनि नआएपछि साइकल लिएर आमा दुर्गादेवी छोरी लिन रोशनीका घरमा गइन्। गेट लागेकाले भित्र पसिनन्। गेट बाहिरबाटै बोलाइन्।

“ए! रोशनी बाहिर आऊ, निर्मलालाई पनि ल्याऊ। रात परेको थाहा छैन ? के गरेर बसेका यतिबेरसम्म ?” त्यतिकैमा रोशनी बाहिर निस्किएर भनिन् “अरे आन्टी निर्मला त अघि २ बजे नै गइसकी। अम्बा पनि लगी, चटपटेको पैसा पनि लगी।” आमाले भनिन् “घरमा त पुगेकी छैन। कता गइ त ?” भन्दा ‘भासी जान्छु भन्थि’ भनेर रोशनीले भनेपछि मनमा शंका उब्जियो। किनकी निर्मला अघिल्ला दिन श्रावण ९ गते नै भासी पुगेर आएकी थिइन्। भासीमा उनका बुबा र सानीआमा भारत जाने कुरा निर्मलालाई थाहा थियो। त्यसैले डर र शंकाले एकैपटक च्यापेपछि आमा दुर्गादेवीले यति भनिन् ”यहाँबाट हराएकी छ तैँले पनि खोज्नुपर्छ, जिम्मा लिनुपर्छ” भन्दा माथिल्लो तलाबाट दिदी बबिता जंगिइन् “ए ! आन्टी कस्तो धम्की दिएर बोलेको? हामीले ठेक्का लिएका छौं ? पोइला गइकि कहाँ गइ, आफ्नी चेली कस्ती थिइ बिचार गरेर खोज, हामीलाई नधम्क्याऊ।” बबिताको कुराले आमाको मनमा चिसो पस्यो। यसले पोइलाको कुरा कसरी उठाइ कतै कुनै केटासँग लगाइ दिइकि! जस्तो लाग्यो। छोरीलाई बेच्न पो लगेकी भन्ने पिरले पनि सतायो। बबिताको यस्तो धम्की सुनेपछि उनलाई अप्ठ्यारो लाग्यो। रोशनीको घरभित्र पसेर हेर्ने धोको थियो तर बबिताको धम्कीले उनी भित्र पसेर हेर्ने आँट गरिनन्। तुरुन्तै घर फर्किइन्। घरमा छोरी अझै आएकी थिइनन्।

मनमा अनेक कुरा खेल्न थाले। अचानक अघिल्ला दिनको घटना उनी सम्झन्छिन्। श्रावण ९ गते निर्मलाका घर आएकी रोशनीले २० रुपैयाँको चटपटे उधारो लिइन् र भनिन् “आन्टी निर्मलालाई भोली मेरो घरमा पढ्न पठाइदिनु, त्यतिबेला चटपटेको पैसा पठाइदिउँला।”
उनी झन आत्तिइन् र छिमेकी लक्ष्मण भट्टलाई लिएर फेरी रोशनी बमको घरमा गइन्। बमको घरको कोठामा पसेर हेर्ने धोको थियो। तर बबिताले फेरी धम्कीको भाषामा भनिन् ‘बार बार किन आएको ?’ बबिताको धम्कीपूर्ण व्यवहारले लक्ष्मण पनि डराए। “म केटामान्छे भित्र पस्दा गुण्डा लगाइ भन्लान् बरु प्रहरी ल्याएर हेरौंला” भनेर उनीहरु फर्किए। वरिपरी रहेका सबै प्रहरी विटमा फोन गरे। तर कतैबाट प्रहरी आएनन्। आखिर राती नै गाउँलेको सहयोगमा प्रहरी कार्यालय पुगेर उजुरी गरे। खाना खाइसकेका थिए प्रहरीहरुले। तैपनि कपडा लगाएर आउनकालागि तयार थिए। जिल्लामा फोन गरेर जानकारी गराउँदा ‘अहिले राती भयो नजानु भोली विहान जानु’ भनेर जिल्लाले रोक्यो। जिल्लाले अहिले जान रोक्यो भोली फोटो लिएर वडा प्रहरी कार्यालयमा आउनु भनेपछि लगभग राती १२ बजे उनीहरु घरमा आएर सुते। भोलिपल्ट विहान गाउँलेका साथमा वडा प्रहरी कार्यालयमा फोटो र उजुरी दिएर रोशनीका घरमा पुग्दा केही सिभिल र केही ड्रेसमा भएका प्रहरीले बम दिदीबहिनीको घरमा सुरक्षा दिइरहेका थिए। त्यसबेला गाँउलेहरुले भित्र पसेर हेर्न खोज्दा प्रहरीले दिएनन्। न त बम दिदी बहिनीसँग सोधखोज गर्न नै दिए।

बरु उल्टै “तपाईंहरु धेरै नबोल्नु हामी अनुसन्धान गर्छौं। के गर्नुपर्छ के गर्नु पर्दैन हामीलाई सिकाउनु पर्दैन” भनेर ओठे जवाफ फर्काए। एकैछिनमा एक जना आएर ‘साइकल भेटियो’ भने। ‘साइकल भेटियो भने लास पनि त्यतै होला नि’ भनिन् बबिताले। त्यहाँ भएका गाउँलेले सुनें। साइकल निर्मलाकै थियो। आमा रुन थालिन्। निर्मलालाई खोज्ने क्रममा भिमदत्त नगरपालिका वडा नं.१९ स्थित ऊखुबारीमा अर्ध नग्न अवस्थामा निर्मलाको शव भेटियो। यो ऊखुबारी बमको घरभन्दा करिब छ सात सय मिटरको दुरीमा छ। निर्मलाको शव भेटिंदा बम दिदी बहिनीलाई कुनै फरक परेन न त चासो नै देखाए। अरुसँगै छोरीको लास हेर्न गएकी आमालाई छोरीको लास हेर्न नदिइ आधा ऊखुबारीबाट फर्काए गाउँलेले। अरु मान्छे हेर्दै फर्कदै गरे।

निर्मला पन्तको शरीर हिलोमा थियो। शरीरको तल्लो भागमा कपडा थिएन। छेउमा रोशनीले दिएको भनिएका अम्बाहरु थिए। एउटा चप्पल पनि थियो। राती पानी परेको थियो। रोशनीका घरमा गृहकार्य गर्न भनि लगिएका किताब कापी पनि छेउमै थिए तर भिजेका थिएनन्। त्यस स्थान र मृतकबाट भेटिने प्रमाणहरु जोगाउनतिर होइन धमाधम प्रमाणहरु नष्ट गर्न तर्फ जुट्यो प्रहरीको टोली ।

प्रहरी प्रमुखको इशारामा सिभिल ड्रेसमा भएकी महिला प्रहरी चाँदनी साउदले निर्मलाको सुरुवाल धोइन्, रगत बगिरहेको गुप्ताङ्ग पनि हिलो पानीले पखालिन् र पखालेको सुरुवालले गुप्ताङ्ग छोपिदिइन्। स्थानीय न्यायिक समितिका सदस्य तथा जनप्रतिनिधी सन्तोषी साउदले ‘यसरी प्रमाण नष्ट नगर्नु’ भन्दा महिला प्रहरी चाँदनीले सन्तोषीलाई पिट्न खोजिन्। पोस्टमार्टमको रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर मारिएको देखियो। त्यस बाहेक शरीरमा अन्य कुनै पनि चोटपटक थिएन।

बलत्कारीको खोजी र कारवाही नगरि शव नबुझ्ने अडान लिएका निर्मलाका बुबा आमालाई स्थानीयले साथ दिए।अपराधीको खोजी गरि कारवाही गर्न र पीडित परिवारलाई राहतको माग गर्दै विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका स्थानिय१०महिला र दुईजना पुरुषको अगुवाइमा शान्तिपूर्ण आन्दोलन चल्यो।
परिवारलाई शव बुझ्न दवाव दिइयो।

।’शव बुझ नत्र बुबाले नै छोरीको बलत्कारपछि हत्या गरेको हो भनेर भन्दिन्छौ। बुबाले छोरीलाई बलात्कार गरेको घटना सुनेको होला नि’ भन्दै बुबालाई धम्क्याए ।परिवारले शव बुझ्न नमान्दा शव बुझ्न बाध्य पार्ने योजना बुनेर निर्मलाका मामा पर्ने डोटीका तिर्थराज भण्डारीलाई बोलाइयो। तिर्थराजले पनि दवावपूर्ण शैलीमा दिदी भिनाजुलाई धम्क्याए “तपाईंहरु शव नबुझ्ने हो भने मेरी भान्जीको शव म आफैं दाहसंस्कार गर्छु।” सिडिओ कुमार खड्काले पनि “लास कुहाएर राख्ने बिचार छ?” भन्दै दाहसंस्कार गर्न बाध्य पारे। आखिर प्रहरीको घेराभित्र निर्मलाको दाहसंस्कार गरियो। त्यसपछि बुबाआमाले १५ लाख रुपैयाँ लिएर शव बुझेको भनि हल्ला फैलाए प्रहरीले।

यसपछि आन्दोलन अझ उचाइमा पुग्यो। जब आन्दोलन चर्कदै गयो आत्तिएका प्रहरीले धमाधम नक्कली अभियुक्तहरु उभ्याउन थाले । निर्मलाको हत्यारालाई खोजी गरि कानूनी कारवाहीको माग राखेका आन्दोलनकर्मीहरु माथी प्रहरीले निर्ममता पूर्वक लाठी,अश्रु ग्यास र गोली बर्साए।१४ बर्षीय बालक सनी खुनाको छातीमा गोली लाग्यो र उनको मृत्यु भयो। धेरैजना घाइते भए। घाइते मध्ये एकजनाको खुट्टा काट्नु पर्ने अवस्था छ।

निर्मलाको शव फेला परेको तेश्रो दिन दिपक नेघी र जीवन घर्ती मगरलाई पक्राउ गरे। कैलालीका जीवन घर्ती मगर मानसिक रोगी र दिपक नेघी यौनरोगले ग्रसित व्यक्तिहरु हुन्। तैपनि घटना स्विकार गर्न प्रहरीबाट चरम यातना भयो । आन्दोलनको बलले गर्दा उनीहरुलाई प्रमाण नपुगेको भन्दै १२ दिनमा छाडिदिए। त्यसपछि वैदेशिक रोजगारीबाट फर्किएका चक्र बडूलाई पनि सोधपुछकालागि भनेर लगे।चक्र विहान ८बजे घरमा नास्ता खाने तयारी गर्दै थिए। प्रहरी घरैमा पुगे। तयार भएको नास्ता पनि खान दिएनन् प्रहरीले। सोधपुछमा दुई तीन घण्टा लाग्छ भनेर घरबाट लगिएका बडूलाई मानसिक यातना दिएर गुपचुक तरिकाले भित्रभित्रै म्याद थप्नै राख्दै गरे। घटना कबुल गरे सजायँ कम गरिदिने र घरका मान्छेलाई बचाई दिने नत्र कसैलाई नछाड्ने सबैलाई भित्र हुलिदिने भन्दै धम्क्याए। श्रावण २१ गते पक्राउ परेका बडूलाई २८ गतेसम्म भित्र यातनापूर्ण व्यवहार गरे। तर बाहिर उनलाई पक्डिएको कसैलाई जानकारी गराएनन्।भाउजू भेट्न जाँदा ‘यो नामको मान्छे यहाँ छैन’ भनेर झुट बोले। मानव अधिकारकर्मी, संचारकर्मी, कसैले थाहा पाएनन् बडूलाई थुनेको। सोधपुछकालागि भन्दै ल्याएर थुने, रगत परिक्षण गर्नुपर्दछ भन्दै रगत निकाले ।केही लेखेको कागजमा जवरजस्ती सही गराउन खोजे। सही गर्न नमान्दा प्रहरीलाई गाली गलौज गरेको अभियोगमा सार्वजनिक मुद्दा लगाउन सम्म पछि परेनन् प्रहरी।
त्यसैबीच परिवारले खबर गरेपछि अन्यत्रै प्रहरीको जागिर खाइरहेका बडूका दाजु आए। दाजु आएपछि चक्रलाई पक्डिएको सार्वजनिक गरियो। अनि यातना पनि कम भएको चक्रले संचारमाध्यमलाई बताए।

प्रहरीले यस्ता अति घृणित र निच भन्दा निच काम गरेको कुरा संचारमाध्यममा दिइएको अन्तर्वार्ताबाट प्रष्ट हुन्छ। उनी १२ दिनपछि धरौटीमा छुटेका छन्। त्यतिमात्र होइन त्यसैबीच बडूका भाइ र बहिनी लक्ष्मी बडूलाई पनि सोधपुछका लागि लगे। निर्मलाकी साथी भूमिकाकी दिदी (जसको घरमा निर्मलाकी दिदी मनिषा पढ्न गएकी थिइन्) कक्षा १२ मा अध्ययनरत हेमन्ती भट्टलाई समेत सोधपुछकालागि भनेर लगे। त्यसपछि ऊनलाई ‘एक आफन्तसँग मिलेर आफूले निर्मलाको हत्या गरेको हो’ भन्न लगाए ।”भन्ने भए भन नत्र तातो पानी लगाएर हुन्छ कि के के गर्नु पर्ने हो हामी गर्छौं” भन्दै टाउको तल र खुट्टामाथी पारेर चरम यातना र धम्की दिए। उनले कुनै पनि हालतमा आफुले निर्मलाको हत्या गरेको स्वीकार नगरेपछि छाडिदिए। तैपनि कहिले कलेज त कहिले घरबाट सोधपुछकालागि भन्दै लाँदै गर्थे। लगभग पाँच छ पटक उनलाई लगे। यसरी अनावश्यक रुपमा कंचनपुर वासीलाई दुःख दिने काम भयो प्रहरी प्रशासनबाट।

चारैतिरबाट प्रहरी प्रशासनको बिरोध भएपछि प्रारम्भिक अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक डीएसपी अंकुर जोशीको नेतृत्वमा ३ जनाको टोली त्यहाँ पठाइयो। आन्दोलन चर्किरहेको थियो। तैपनि त्यो टोलीले घटनास्थलको निरिक्षण गर्यो। तर बम दिदी बहिनीलाई अनुसन्धानको दायरामा ल्याउन चासो देखाएन । आन्दोलनले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन माग गर्यो। सोही अनुसार बम दिदी बहिनीको मोवाइल चेक गर्ने क्रममा मोवाइलमा ३ वटा सिमकार्ड प्रयोग गर्ने गरेको भएपनि एउटा सिम निस्कृय रहेको पाइयो। फोन गरेको रेकर्ड, फेसबुक, वाटस्अप,मेसेज आदी हेर्दा शंकास्पद नदेखिएको तथ्य बाहिर ल्याइयो। उनीहरुको अनुसन्धान चित्तबुझ्दो थिएन। त्यति मात्र होइन घटनास्थल वरिपरी बाटामा हिड्ने जो कोहीलाई देखेपनि पक्डेर हाकिमलाई फोन गर्दै अनुमति लिन्थे ‘हाकिम ल्याँउ?’ यसरी पक्रने र सोधपुछ गर्ने क्रममा एक सय जनालाई सोधपुछ पछि कागज गरेर छाडे भने चार सय जनाको हाराहारीमा सोधपुछ गर्दै छाड्दै गरे। त्यसपछि आन्दोलनबाट आत्तिएका प्रहरी प्रशासनले यसरी नै नक्कली अभियुक्त खोज्ने क्रममा २५ दिनपछि फेरी योजनाबद्धरुपमा दिलिपसिंह विष्टलाई समाते। घटना स्थलमा सबुत खोज्न जाँउ भन्दै निर्मलाका बुबा यज्ञराजलाई लिएर प्रहरी आए। राम्ररी नखोजी नै “यहाँ सर्टको पकेटको टुक्रा र कण्डम भेटियो” भने। दिलिपसिंह विष्टको सर्टको पकेटको टुक्रा भेटिएपछि प्रहरीलाई दिलिपलाई फसाउन झनै सजिलो भयो। दिलिपसिंह विष्टका दाजु खड्गसिंह बिष्टले संचारमाध्यमसँग कुराकानी गरे। २५ औं दिनका दिन सादा पोशाकमा दुइजना व्यक्ति घरमा आए। एकजनाले नास्पाती किन्ने निहुँ गरे र अर्का जनाले दिलिपसिंह विष्टको सुकाइ राखेको सर्टको खल्ती च्याते। त्यतिबेला सम्म पनि प्रहरी भनेर चिनेका थिएनन् विशिष्ट परिवारले। वडा अध्यक्षको रोहवरमा त्यही बसेर पक्राउ पुर्जी लेखे। खड्गसिंह विष्टको मनमा कस्लाई फसाउन लागे भन्ने झस्को पस्यो। पुर्जी छोडेर जान्छौं भन्थे तर आफैं लिएर गए। बेलुका ५ बजेतिर सार्वजनिक गरेछन् ।अपराधीलाई सार्वजनिक भनेपछि पो थाहा पाइयो भाइलाई झुटो आरोप लगाएर पक्रिएको कुरा।दिलिपसिंह विष्टले भिनाजुको हत्या गरेको आरोपमा जेल सजायँ पूरा गरेर केही समय अगाडी मात्र छुटेका थिए।

उनी बाटामा हिड्ने मान्छेसँग पाँच दश रुपैयाँ माग्ने र गाँजा चुरोट किनेर खाने तर महिला देख्ने बित्तिकै भाग्ने स्वभावका दिलिपसिंह विष्ट बलात्कारी हुनै नसक्ने भन्दै स्थानीयले चर्को विरोध गरिरहे। संचारमाध्यम तथा आन्दोलनबाट भएको चर्को विरोधका कारण दिलिप सिंहको स्वास्थ्य परिक्षण र डिएन ए चेक गर्न भनि काठमाण्डौ लगे। डि एन ए रिपोर्ट नमिलेको भन्दै उनलाई पनि छाडियो।पक्राउ गरेको बेला उनीमाथि अनेक प्रकारका यातना दिएको सम्झन्छन् दिलिप “पहिला अर्कैको साइकल बनाएको थियो त्यो पनि भन भन्ने। पेन्ट किनिदिन्छु भन्दै काठमाण्डौ लगे। हातमा सिक्रि लगाएको थियो। दिशा पिसाब गर्छु भन्दा पनि नदिने,सिक्रीले तान्ने,बोल्न नदिने,चर्पीको किरा ल्याएर मुखमा हालिदिन खोज्ने,कान तान्ने,आँखामा पिनले घोच्न खोज्ने,केही बोल्यो भने घाँटीमा समाएर भ्वाक्क हान्ने,पाइपले पाइतालामा हान्ने जस्ता अत्यन्तै निच र घृणित व्यवहार गरेर भएपनि घटना सकार्न लगाउँथे।”

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारले पनि यस अगाडि प्रहरीको अनुसन्धानले सरकारलाई नै अविश्वास हुनेगरि काम गरेको स्वीकार गरे। उनले भने ”सबै क्षमता लगाएर अनुसन्धान गरी दोषी पत्ता लगाइ कडा कारवाही गरिने छ।” त्यसैगरि निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ, सनी खुनालाई शहीद घोषणा गर्ने र १० लाख रुपैया आर्थिक सहयोग गर्ने, त्यसैगरि आन्दोलनमा घाइते भएकाहरुको निशुल्क स्वास्थ्य उपचार गर्ने र अंगभङ भएकाहरुलाई आर्थिक सहयोग गर्ने संचार तथा
सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले जानकारी दिए। तर अहिलेसम्म पीडित परिवारले राहत पाएका छैनन् ।

उच्च स्तरीय छानविन समितिका सदस्य विरेन्द्र केसीले प्रहरी इमान्दार भए मात्र अपराध रोक्न सकिने बताए। केही प्रहरीका कारण प्रहरी संगठन नै बद्नाम भैरहेको तथ्य खुलाए। उनले भने ”निर्मला पन्तको आत्मा र परिवारले न्याय पाउने मैंले देखिन। शक्तिशाली अपराधीहरु बाट मेरो ज्यान खतरामा छ” भन्दै प्रदेश सरकार, नेपाल सरकार,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार

सम्बन्धी काम गर्ने संघ संस्थालाई आफ्नो र परिवारको जीवन असुरक्षित भएकाले जीवन रक्षाको अपिल गर्दै पत्रकार सम्मेलन गरी राजिनामा दिए। फेरी केहिदिन पछि “गृहमन्त्रीले मलाई शान्ति सुरक्षाको विषयमा आश्वस्त पार्नुभयो” भन्दै फेरी “उही समितिमा रहेर काम गर्छु ” भन्दै फिर्ता आए। “यदी संयुक्त प्रतिवेदनमा आफ्ना कुराहरु नअटाए फरक मत बुझाउँछु” सदस्य केसीले संचारकर्मीहरुलाई बताए ।

समितिका यस्ता नचाहिंदा गतिविधीबाट शसंकित भइ छानविन टोलीमाथि जनस्तरबाट चर्को विरोध आएपछि उनीहरुलाई निलम्बन गरि अर्को टोली खटायो। उनीहरुलाई निलम्बन गर्ने,कारवाही गर्ने,अनुसन्धान गर्ने जस्ता कदम चाल्यो। यसरी विभिन्न टोली खटाउँदै अनुसन्धान गर्दा पनि वास्तविक अपराधीलाई फेलापार्न सकेका छैनन्।

खोजी यसरी गरिनु पर्छः-
१.प्रमाण जोगाउनु पर्नेमा किन प्रमाण नष्ट गर्नतिर सक्रिय भए प्रहरी ?२.घरबाट चटपटे खान आउँदा पैसा नल्याउनु अनि उधारो चटपटे खाने बहानामा निर्मलाकालागि आमासँग बिदा मागिदिनु ३.पढ्न भनि गएकी निर्मला घर नफर्कनु ४.आमा सोध्न जाँदा बबिताले आमालाई धम्क्याउनु ५.पोइला गइकि कहाँ गइ, आफ्नी चेली कस्ती थिइ बिचार गरेर खोज भन्नु ६.”साइकल भेटियो भने लास पनि त्यतै होला नि” भन्नु ७.शव फेला परेको कुराले पनि बम दिदी बहिनीमा कुनै फरक नपर्नु/चासो नदेखाउनु ८.मान्छेको आवतजावत भैरहने ठाँउ भएकाले त्यस स्थानमा त्यस्तो घटना हुने सम्भावना नहुनु ९.गाउँलेले बम दिदी बहिनीको घरमा पस्न र सोधखोज गर्न खोज्दा बम दिदीबहिनी र घरको सुरक्षाकालागि खटेका प्रहरीहरुले गाउँलेको कुरा नसुन्नु बरु धम्क्याउनु

९.गाउँलेले बम दिदी बहिनीको घरमा पस्न र सोधखोज गर्न खोज्दा बम दिदीबहिनी र घरको सुरक्षाकालागि खटेका प्रहरीहरुले गाउँलेको कुरा नसुन्नु बरु धम्क्याउनु १०.अनुसन्धानलाई अन्यत्र मोड्नु भनेको प्रहरीभित्रकै मान्छे अपराधी हुनु त होइन?११. मामा भनिएका तिर्थराज भण्डारीको स्वार्थ के थियो?१२.अनुसन्धानमा खटिएका सबै प्रहरीलाई पनि अनुसन्धान गरिनुपर्ने
१३. बम दिदी बहिनीलाई अनुसन्धानमा पार्नुपर्ने १४.एस पी डिल्लीराज विष्टका छोरा किरण विष्टले जन्मदिन मनाएको होटल ओपेराको मालिकलाई पनि अनुसन्धानमा राखिनुपर्ने १५. जन्मदिन मनाउँदा ३जना पुरुष र ३जना महिला (बालिका) पनि थिए भन्ने कुरा आएको छ ति को को थिए खोजी गरिनुपर्ने१६. नगरपालिका ले रोडमा लगाएको सबै सीसीटिभी क्यामेरा पनि एकै पटक बिग्रनुको कारण पत्ता लगाउनुपर्ने १७. निर्मलालाई कसैले कपडा किनेर दिएको, मोडल बनाइदिने भनेको र नृत्य सिक्न कसैले भनेको कुरा पनि संचारमाध्यमहरुले व्यापकरुपमा बाहिर ल्याएका छन्। उनीहरुको खोजी गरि तथ्य पत्ता लगाउनुपर्ने।१८. बमका घरमा भएको अम्बाको बोट काटिनु र एउटा कोठामा रंग लगाएको भनिएको छ। सोबारे अनुसन्धान हुनुपर्ने।

यसरी जरासम्म पुगेर खोजी गर्ने हो भने धेरै रहस्यहरु खुल्न सक्छन् । के थाहा यि कुरालाई मसिनो गरि केलाउँदा लुकेका अन्य तथ्यहरु पनि फेला पर्लान् कि ! कतै निर्मला जस्तै अन्य बालिका पनि अपराधको शिकारमा परिरहेका त छैनन् ? खोजी तथा अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो ।

देश र जनताको जन र धनको सुरक्षा गर्ने जिम्मा लिएका प्रहरीहरुबाटै अपराधिको ढाकछोप हुन्छ र दोषीलाई संरक्षण गर्न घटनालाई अन्यत्र मोडिन्छ भने जनताले कसरी बिश्वास गर्ने? जसले राज्यको तलब र सपथ खाएको छ, देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएको छ, काम गर्न पद र अधिकार अनि जिम्मेवारी पाएको छ। तैपनि ऊ आफ्नो दायित्वबाट चुक्छ भने उसलाई पनि छाड्नु हुँदैन।

अर्को कुरा कसुरदार लाई प्रत्यक्ष अप्रत्यक्ष जुनसुकै तरिकाले सहयोग गरेपनि ऊ मतियार ठहर्छ र कसुरदारले पाउने सजायँको आधा सजाँय मतियारले पनि पाउँछ भन्ने कुरा मूलुकी ऐन अपराध संहितामा उल्लेख गरेको छ ।

अहिले बलात्कारका घटनाहरु एकपछि अर्को गर्दै चरणबद्ध रुपमा बाहिर आइरहेका छन्। निर्मला काण्ड पछि पनि थुप्रै ठाउँमा यस्ता घटना भैरहेका छन्। कतै बलत्कारपछि धम्क्याएर छाडिएको छ भने कतै मारिएको छ। तर पनि अपराधीहरु पक्राउ परिरहेका छन्। तर दुई महिना बितिसक्दा पनि निर्मलाको बलत्कारी हत्यारा किन पत्ता लाग्दैन ? कुरा प्रष्ट छ कि पीडित शक्तिशाली होस् या कमजोर त्यससँग सरोकार हुँदैन बरु जुन घटनाको अपराधी शक्तिशाली वा कमजोर छ त्यो सरोकारको विषय बन्दोरहेछ। कसुरदार कमजोर भएको अवस्थामा एउट कुकुरले न्याय पायो भने कसुरदार शक्तिशाली भएको अबस्थामा बलात्कारको पीडा भोग्न बाध्य छन् बलत्कृत हाम्रा आमा, हजुरआमा,दिदी बहिनी तथा सानासाना अबोध नानीहरु।

संचार माध्यममा प्रशारण भएको घटना अनुसार बनेपा नपा ७ का संविधान जोशीको घरमा पालिएको कुकुरले बाटो हिँड्ने क्रममा भुकेर टोक्न खोजेपछि वनेपा नपा ५ बस्ने १९ बर्षीय सुरेश ब्लोन र धुलिखेल १ का २८बर्षीय राज लामाले घर बनाउने रडले कुकुरलाई कुटे। त्यसपछि आफ्नो घर पालुवा कुकुरलाई कुटेको भनि संविधान जोशीले इलाका प्रहरी कार्यालय वनेपामा उजुरी दर्ता गराए । अहिले उनीहरुलाई पक्राउ गरि नयाँ मुलुकी ऐन अपराध संहिता अनुसार मुद्दा चलाएको प्रहरी उपरीक्षक सुनिलजंग साहले बताए।

त्यसैले जुन घटनामा अपराधी कमजोर छ त्यहाँ अपराधी पत्ता लाग्छ जुन घटनाको अपराधी शक्तिशाली छ त्यहाँ अपराधी पत्तो लाग्दैन भन्ने प्रमाण खोज्न वर्तमान र विगत दुवैले प्रष्ट्याएको छ । अपराधी शक्तिशाली भएकै कारण न त जननेता मदन भण्डारीको हत्यारा पत्ता लाग्यो न त दरबार हत्याकाण्डका हत्यारा नै। त्यसैले जनस्तरबाट दवाब दिन छाड्नु हुँदैन।

अर्को कुरा चाहे त्यो अपराधी होस् या साथ दिने मतियार या त ढाकछोप गरि बचाउने नै किन नहोस अपराध एकदिन उसको घरमा पनि पस्छ जुन आज उनीहरुले अरुका घरमा पसाइ दिएका छन्। त्यतिखेर के गर्छन् उनीहरु?प्रहरी प्रशासन यति कमजोर र लाचार किन बन्यो कि आफ्नै आँखाको सामु भएको अपराधी पनि देख्न सकेन किन ? के भोली उनीहरुको घरभित्र यो घटना छिर्यो भने पनि अपराधी पत्ता लगाउन सक्दैनन् प्रहरी प्रशासनले ? यो घटनाको नालीबेली बुझ्ने जोकोहीलाई पनि अपराधी पत्ता लगाउन त्यति गाह्रो पर्दैन। त्यसैले साँच्चै निर्मला र निर्मलाको परिवारलाई न्याय दिने अठोट र संकल्पका साथ लाग्ने हो भने असम्भव छैन र समय पनि लाग्दैन । घटनामा संलग्न र सम्बन्धित सबै पक्षबाट अनुसन्धान हुनुपर्छ।

घटनामा अरुलाई मुछेर अनावश्यक तनाव दिनु भन्दा सिधै मुख्य शुत्रधार बम दिदी बहिनीलाई सम्झाएर सोध्दा ओकलेनन् भने २/४ कोर्रा लगाउने बित्तिकै फटाफट भन्न थाल्छन्। त्यसपछि एसपी डिल्लीराज विष्ट,उनका छोरा किरण विष्ट,भूपेन्द्र बिष्टका छोरा आयुष बिष्ट,निर्मलाका मामा पर्ने तिर्थराज भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने हो भने सबै पत्ता लाग्छ। हुनत यिनीहरु को डिएन ए र पोलिग्राम परिक्षण गरिएको छ। तर रिपोर्ट कतिको इमान्दारितापूर्वक निकालिन्छ र सार्वजनिक गरिन्छ भन्ने कुरा अर्को महत्वपूर्ण पाटो हो। त्यसैले यिनीहरुबाट घटनाको जरासम्म पुगेर खोल्नुपर्छ। ताकि भोली अर्की नारीले यस्तो पीडा भोग्नु नपरोस्।

निर्मलाकालागि न्याय माग्दै उनका सहपाठीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखे। महिला अधिकारकर्मीहरुका साथमा निर्मलाका बुबा आमा देशका ठूला मान्छे भनेर चिनिएकाहरुको ढोकामा न्यायको भिख माग्दै भौतारिइरहे। चटपटे बेचेर गुजारा गर्दै आएका परिवारले गुमाइएकी एक छोरीको न्यायकालागि नाबालक दुई छोरीलाई भगवानको भरोसामा घरमा एक्लै छोडेर हप्तादिनसम्म काठमाडौंमा भौतारिइरहे।के यस्तो दर्दनाक पीडाले किन छोएन कसैलाई?

यस्ता जघन्य अपराधहरु दैनिक भैरहने र त्यो घटनामा ६ महिनाका कलिला छोरीदेखि ७० बर्षका बृद्धाहरु परेको देख्दा सुन्दा जसको पनि मुखबाट निस्कने शब्द हो “बलत्कारीलाई फासी दे !”, “हत्यारालाई मृत्यु दण्ड दे !” अहिले पनि देशका सबै भागमा बलत्कारी तथा हत्यारालाई मृत्युदण्डको माग जल्दो बल्दो रुपमा उठिरहेको छ। साँच्चै भन्ने हो भने यि मागले सडक तताइरहेको छ। तर नेपालमा मृत्युदण्ड संभव छ त ? अहिले संभव छैन। किनभने नेपालमा मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्छौं भनेर हाम्रा महान् नेताहरुले संयुक्त राष्ट्र संघमा हस्ताक्षर गरिसकेका छन्। हाम्रा नेताहरु यति महान् छन् कि लागु गर्न नसके पनि हस्ताक्षर गर्न भने अवस्य पछि पर्दैनन्। अर्को कुरा नेपालको संविधानमा पनि मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने कुरा खुलाइएको छ। त्यसैले संविधानले नै रोकेको कुरा ऐनमा कसरी लेख्न सकिन्छ ? फेरी अहिले नै गर्न नसकिने कुरा उठाउनुको कुनै औचित्य छैन। बरु संयुक्त राष्ट्र संघमा आफ्नो देश यो बिषयमा पुनर्विचार गर्न चाहन्छ भनेर प्रस्ताव राख्न सकिन्छ। प्रस्ताव पास भए पछि संविधान संशोधन गरि ऐन कानून बनाउन सकिएला।

के मृत्यु दण्ड वा फाँसी दिँदा समस्या समाधान हुन्छ त?अनि बलात्कारका घट्ना हुँदैनन् ? यसो होइन, मान्छे मारेर समस्याको समाधान हुँदैन। न त घटना नै रोकिन्छ। किनभने
मान्छे मर्न डराउँदैन। के आत्महत्या गर्नेहरुले डराएर आत्महत्या गरेका हुन् र ? त्यसैले एकपटक त मर्नै पर्ने हो भन्ने हिम्मतले पनि यस्ता कुकार्य गर्न उक्सिएका हुन सक्छन्।
अर्को कुरा यस्ता अपराधीले बलत्कारपछि हत्या गरिएकाहरुको प्राण सजिलै गयो होला? के उनीहरुले छटपटी र पीडा भोग्नु परेन ? त्यो छटपटी र पीडा अपराधीलाई भोगाउनु पर्दैन? त्यसोभए त्यस्ता अपराधीलाई किन एकै पटकमा मार्ने ? उनीहरुको भौतिक शरीरलाई एकै पटक नष्ट गर्नु भन्दा तड्पाई तड्पाई मार्ने, जिउँदो लास बनाएर राख्नु महत्वपूर्ण कुरा हो। मान्छे मर्न तयार हुन्छ तर बद्नामी र अपहेलना सहेर बाँच्न सक्दैन ।
उसको तड्पाइ र लाचारीपन देखेर फेरी कसैले त्यस्तो कुकर्म गर्ने सोच बनाउन सम्म नसकुन्।

मृत्युदण्डको विकल्पमा

१.सर्बस्वसहित आजिवन कारावासको सजायँ२.नपुसंक बनाइदिने (यौन कार्य गर्न नसक्ने अवस्था)३.यौनअंगै काटेर फालिदिने ४.सामाजिक रुपमा बहिष्कार गर्ने ५.सरकारी सेवा सुबिधा बाट बन्चित गर्ने ६.”यो बलत्कारी हो” भनेर सार्वजनिक स्थानमा उसको पोस्टर बनाएर टाँस्ने
यसो गरियो भने यस्ता घटना कम हुन सक्छन्।

तपाईको प्रतिक्रिया

moder era School
birat eye hospital

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५