पूर्वाञ्चल खबर
आगराको प्रिल्युड पब्लिक स्कुलको मैदानमा आज भएको खेलमा नेपालका लागि टीकाराज गुरुङले दुई तथा क्याप्टेन दिनेश हेन्जमले एक गोल गर्दै चीनलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।
मैदानमा हावी बनेको नेपालले सुरुआतबाटै खेलमा दबाव बनाएको थियो। दक्षिण एशियाको पावर हासउ मानिएको चीनलाई पराजित गर्ने क्रममा नेपालका लागि टिकाराज गुरुङले खेलको सातौं मिनेटमा गोल गरेका थिए। सो गोलका लागि टोलीका क्याप्टेन हेन्जमले एसिस्ट गरेका थिए । अफ्गानिस्तानलाई ९ शुन्यले पराजित गर्न सफल चीनका लागि वाङ झियाङले खेलको ३२ औं मिनेट आकर्षक गोल गर्दै खेल बराबरीमा पुराए। ल्यु सुङले प्रहार गरेको कर्नर क्रसबारमा बल लागेर रिबाउण्ड हुदा“ वाङले गोल गरेका थिए। पहिलो हाफमा दुवै टोली समान एक गोलको बराबरीमा सकिएपनि दोश्रो हाफ नेपाली टोलीको पक्षमा रह्यो। खेलको ७० औं मिनेटमा नेपालका क्याप्टेन दिनेश हेन्जमले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किकमा चीनका गोलरक्षक झाङ तिङयाझु समेत बचाव गर्न असफल भए।
चीनका खेलाडीले नविन गुरुङलाई खराब ट्याकल गरेपछि प्राप्त फ्रि किकको अवसरलाई क्याप्टेन हेन्जमले गोलमा परिणत गरेका थिए। त्यसपछि मैदान थप हौसिएको नेपाली टोलीले खेलको ७४ औं मिनेटमा जय गुरुङले उपलब्ध गराएको क्रसमा टिकाराज गुरुङले टोलीका लागि दोश्रो गोल गर्दै नेपालीको जित सुनिश्चित गराएका थिए। समूह ए मा रहेको नेपालका लागि यस जितसंगै अर्को चरणमा प्रवेशको संभावना झिनो रुपमा रहेको छ। प्रतियोगिता अन्र्तगत नेपालले समूहको अन्तिम खेल बुधबार अफगानिस्तानविरुद्ध खेल्नेछ। समूहमा अंकविहीन अफ्गानिस्तान जारी प्रतियोगिताको कमजोर टोलीका रुपमा रहेको छ ।