CLASSICTECH NET

फुटबलको महाकुम्भमा नेपाली झण्डा फहराउँदाको आनन्द

खबर पूर्वाञ्चल, १९ श्रावण २०७५, शनिबार २१:१६

मीनकुमार नवोदित
हरेक ४ वर्षमा आयोजना हुने फुटबलको महाकुम्भ विश्वकप टेलिभिजनको स्क्रिनमा हेर्न थालेको पनि निकै भएको थियो । खासगरी ठ्याक्कै मिति याद नभए पनि फुटबलबारे जान्न र बुभ्mन थालेदेखि नै हो विश्वकप टेलिभिजनमा हेर्न सुरु गरेको । टेलिभिजनमा हेरिरहँदा जीवनमा स्टेडियममै पुगेर प्रत्यक्ष हेर्ने रहर नजागेको कहाँ हो र ? तर, त्यो रहर पूरा हुन्छ भन्ने सोचेको पनि थिइनँ कहिल्यै पनि । स्टेडियममै पुगेर आफ्ना प्रिय खेलाडीलाई नजिकबाट हेर्ने र गोल हान्ने बित्तिकै हुटिङ गर्ने रहर थियो । भनिन्छ ‘तँ चिता म पूरा गर्छु’ भन्छन् रे भगवान्ले पनि । यसपालि त्यस्तै भयो । विश्वकप प्रत्यक्ष हेर्ने रहर पूरा भयो ।

रसियामा जारी फिफा विश्वकपलाई स्टेडियममै पुगेर हेर्ने अवसर प्राप्त भयो यसपटक । विराटनगरस्थित मकालु टेलिभिजनका सिइओ दिवस सुवेदीसहित सञ्चारकर्मीहरू दीपेश सुवेदी, वीरेन्द्र भगत, जेनिस कोइराला, पर्वतराज झा र सुदीप खत्रीसँगै बसेर खेलमात्रै हेरिएन, नेपालको राष्ट्रिय झण्डा फहराएर हुटिङ ग¥यौं । त्यो बेलाको आनन्द शब्दमा वर्णन गर्न सक्दिन । विश्वकपको माहोलमा आफ्नो देशको झण्डा फहराउन पाउँदा कुनचाहिं व्यक्ति खुसी नहोला र ?

दुबईको शारजहाँ विमानस्थल हुँदै मस्को पुगेको नेपाली सञ्चारकर्मीको टोली २४ घन्टाको रेलको यात्रापछि रसियाको रस्तोव–वन–डोन सहर पुग्यौं । जहाँ ब्राजिल र स्वीजरल्याण्डबीचको प्रतिस्पर्धा थियो । रेलभरि निकै कौतुहल र निकै उत्साह जागेको थियो । स्टेडियम कस्तो होला, भित्र बस्ने ठाउँ कस्तो होला, दर्शक कति होलान् ? जस्ता अनकौं प्रश्न स्डेडियम छिर्नुभन्दा अगाडिदेखि नै मनभरि मडारिएको थियो । सरकारले व्यवस्था गरेको रेलमा मस्कोदेखि रस्तोव–वन–डोनसम्म गयौं । जुन रेलमा विदेशी दर्शकमात्र थिए । सबैलाई निःशुल्क यात्राको व्यवस्था मिलाइएको थियो । रेलको यात्राभरि ब्राजिल, मेक्सिको, स्वीजरल्याण्डलगायत दुई दर्जनभन्दा बढी मुलुकका दर्शक थिए । त्यसैमध्ये हामी नेपाली सञ्चारकर्मीको टोली पनि थियो ।

मस्को विमानस्थलमा उत्रिएदेखि नै स्वागत पाइयो । विश्वकपको गीतमा स्वयमंसेवकहरूले फ्यान आइडी झुण्ड्याएका विदेशीहरूसँग हात मिलाउँदै नाच्दै उफ्रिँदै स्वागत गरे । उनीहरूको उद्देश्य जहाजको लामो यात्रापछि थकानमा रहेका दर्शकको मुड फ्रेस बनाउनु थियो । त्यस्तै स्वागत रस्तोव–वन–डोनमा पनि मिल्यो । रसिया बसाइका क्रममा ब्राजिल र स्वीजरल्याण्ड तथा आयोजक रसिया र इजिप्टबीचको खेल हेरियो । रसिया पक्षमा हुडिङ गर्दा छेउमै रहेका रसियन दर्शक औधी खुसी भए ।

रसियन भोड्का उपहार
खेल हेरेर होटल फर्कियौं । होटलमा रुसले जितेको खुसियालीमा पाटी नै चलेको थियो । रसियन नागरिकहरूमा खुसीको सीमा थिएन । होटलवाला पनि रसियन नै परेछन् । उनको त झनै भुइँमा खुट्टा थिएन । यस घटनाले पनि उनीहरू आफ्नो देशलाई कति माया गर्दा रहेछन् भन्ने प्रस्ट हुन्थ्यो । देशप्रति कति समर्पित छन् भन्ने पुष्टि हुन्थ्यो । जितको खुसीयालीमा उनीहरू एकअर्कामा ‘चेर्यस’ भन्दै भोड्का पिउँदै थिए । हामीले पनि खाना मगायौं ।

नेपालको जस्तो दाल, भात, तरकारी र अचार त कहाँ पाउनु र । फ्राई राइस र चिकेन खाँदै रसियनको खुसीमा समाहित भयौं हामी पनि । मैले ६–७ वटा नेपाली टोपी बोकेको थिएँ । त्यहीमध्येबाट त्यहाँमध्ये सबैभन्दा उमेरले ज्येष्ठ रसियनलाई मैले नेपाली टोली लगाइदिएँ । उसले पनि रसियन भाषामा लेखिएको खादा लगाइदिए । खुसी साटासाटकै क्रममा उनले एउटा रसियन भोड्का ‘गिफ्ट’ भन्दै दिए । रसियन सेनाका मेजरसमेत रहेका उनी छोरा र श्रीमतीसहित आएका रहेछन् । सबैसँग परिचय गराए । त्यसपछि टोलीमा रहेकामध्ये केही साथीले रसियन भोड्काको भरपुर स्वाद लिए ।


नेपाली टोपीको शान

हामी स्टेडियन झिर्नुभन्दा अगाडिदेखि नै नेपाली टोपी लगाएर गएका थियौं । स्टेडियम अगाडि निकै भीड लागिसकेको थियो । देशका झण्डा अगाडि राखेर फोटो खिच्ने दर्शकको संख्या बाक्लै थियो । नेपाली टोपी लगाएकाले भीडमा पनि हाम्रो पहिचान बेग्लै थियो । हामीसँग सेल्फी खिच्नेको भीड नै लाग्यो । हामी सबैजना त्यहाँ सेलिब्रेटी भयौं एकैछिन भए पनि ।

दूतावासमा एक घण्टा
रसिया पुगिसकेपछि आफ्नो देशको दूतावास पुग्ने इच्छा जाग्नु स्वभाविकै हो । रसियामा लामो समयदेखि बसेर व्यवसाय गर्दै आएका जीवा लामिछानेमार्फत दूतावासको फोन नम्बर प्राप्त भयो । लामिछानेसित रसिया जानुभन्दा अगाडिदेखि नै फेसबुकमा कुरा हुँदै थियो मेरो । तर, उहाँ आफ्नो काम विशेषले अमेरिका हुनुहुँदो रहेछ हामी रसिया पुग्दा । लामिछानेले दिएको नम्बरमा फोन गरें मैले । रसियन नागरिकले उठाइन् । ‘मैले हामी नेपालबाट आएका सञ्चारकर्मी हौं, राजदूत हुनुहुन्छ’ भनेर सोधें । उनले तत्कालै फोन डाइभर्ट गरिन् । फोन दूतावासका द्वितीय सचिव खिमानन्द भूषालले उठाए । उनले दिएको लोकेसनका आधारमा हामी ट्याक्सीबाट दूतावास पुग्यौं । दूतावासमा झण्डै एक घण्टा चियागफ भयो । भूषालले स्वागत गर्नुभयो हामीलाई । केहीक्षणपछि राजदूत ऋषिराम घिमिरे पनि आइपुग्नुभयो । केहीक्षण छलफल भयो ।

‘कुनै समस्या परे सम्पर्क गर्नुहोला’ भनेर आफ्नो दायित्व प्रस्तुत गर्नुभयो उहाँहरूले । उहाँहरूले रसियामा बस्न निकै कठिन भएको जानकारी गराउनुभयो । ६ महिना हिउँ पर्दो रहेछ रसियामा । चिसोमा निकै कष्टकर हुने रसिया सडकबाट डोजर लगाएर हिउँ हटाउनुपर्दो रहेछ । रसियाभरि १ हजारको हाराहारीमा नेपाली नागरिक बस्दा रहेछन् । जसमा ५ सय अध्ययन र अन्य व्यापार व्यवसाय गरेर बस्दै आएका रहेछन् । नेपाली कम भएकाले दूतासवासको काम पनि कमै हुने आंकलन गरें मैले । वार्षिक करिब ५ हजार रसियन नागरिक नेपाल जान दूतावासमार्फत भिसा लिएको तथ्यांक सुनाए राजदूत घिमिरेले ।

चस्मा लिएर छुरी दिएपछि
रसिया पहिलोपटक गएकाले एउटा पनि ठाउँको जानकारी थिएन हामीलाई । हिंडेर पुग्न त कल्पना गर्न पनि सकिँदै थियो । जताततै घरैघर अनि सडकभरि गाडी नै गाडी । म्यापको सहायताले पुग्न त सकिन्थ्यो तर धेरै टाढा हिंड्न समस्या साथै समयको अभाव । थोरै समयमा धेरै ठाउँ घुम्नु थियो । होटलबाट हामी गोर्कीपार्क घुम्न भनेर निस्क्यौं । बाहिर सडक किनारमा एउटा ट्याक्सी पार्किङ गरेको देखियो । त्यही ट्याक्सी चडेर गोर्कीपार्कतर्फ हुँकियौं । अगाडिको सिटमा बसें म । करिब ३५–३६ वर्षको अग्लो चालक थियो ट्याक्सीको ।

चालक चेचनियाका रहेछन् । उसले केही क्षणपछि ‘तिम्रो चस्मा मलाई उपहार देऊ’ भन्यो । मैले हुन्छ भनिहालें । उसले हतनपत्त लियो र चस्मा लगाइहाल्यो । अनि ट्याक्सीकै ऐनामा हे¥यो । अनि धन्यवादको शैलीमा हात मिलायो । उसले पनि मलाई ट्यासीको बक्साभित्रबाट एउटा छुरी झिकेर दियो । म एकछिन बोल्न सकिनँ । डर लाग्यो । कतै लगेर लुट्यो भने के गर्ने भनेर मुटु काम्न थाल्यो । मैले तत्कालै निर्णय गरें छुरी नलिने । किनभने छुरी बोकेको प्रहरीले भेट्यो भने त रुसकै जेलमा कति वर्षसम्म सड्नुपर्ने हो अवस्था आउला भनेर मैले सोंचे । अझै चालकले उत्साहित हुँदै भन्यो, “बन्दुक लिन्छौ ?” अब भने मुटुको धढ्कनले ठाउँ छाड्यो । यो ट्याक्सी चालक ठीक छैन भन्ने निर्णयमा पुग्न ग्राहो भएन । त्यही भएर गोर्कीपार्क पुग्नुभन्दा अगाडि नै उसलाई पैसा दिएर विदा ग¥यौं हामीले ।

पानी जहाजबाटै मस्कोलाई एक फन्को
हामी नेपाली स्रोत साधन भएर पनि गरिब छौं । हामीकहाँ प्राकृतिक सुन्दरता छ । काठमाडौंको बाग्मतीको पानी छुन पनि घिन लाग्छ । विराटनगरको पूर्वको सिंघिया र पश्चिमको केसलिया फोहोर बोकेर बगिरहेको छ वर्र्षौंदेखि । त्यसको सदुपयोग भएको छैन । बरु हरेक वर्ष वर्षायाममा विराटनगर प्रवेश गर्छ र धेरैलाई घरबारविहीन बनाउँछ । गर्मीमा पौडी खेल्न जाने थुपै्र किशोरको ज्यान लिन्छ । न त बागमतीबाट न त केसलिया र सिंघियाबाट फाइदा लिन सकिएको छ । यी नदीहरूलाई बर्दानका रुपमा लिन सकिएको छैन आजसम्म । तर, मस्को सहरको छाती हुँदै बग्ने ‘मस्को रिभर’ले धेरै पर्यटकलाई आफूतिर आकर्षित गरिरहेको छ । आर्थिक रुपमा पनि थोरै भए पनि सहयोग गरिरहेके छ रसियालाई ।

नदीमा पानीजहाजमात्रै होइन फेरी पनि सञ्चालन गरिएको छ । हामी पनि जहाजमा गढ्यौं । ठ्याक्कै एक घन्टा घुमेको ७ सय रुबल लाग्दो रहेछ । अनुभवका लागि पनि हामी जहाजबाटै मस्को सहरलाई फन्को मा¥यौं । सहरको बीचमा भएर पनि कति सफा थियो नदी । दुवै किनारबाट सडक थियो । घुम्ने पार्क थियो । अनि सडकभन्दा अलि पर विशाल महलहरू थिए । जसले मस्को रिभर पुग्ने जोकोहीलाई आकर्षित गरिरहेको हुन्छ ।

गोर्कीपार्कको रमणीय दृश्य
छिमेकी मुलुक चीन तीन हप्ता बसेर आएलगत्तै रुस जाने अवसर मिल्यो । दुवै कम्युनिष्ट शासन भएका मुलुक हुन् । कम्युनिष्ट शासन भए पनि त्यहाँको स्वतन्त्रता देखेर म निकै प्रभावित भएँ । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको दुरुपयोग भएको छ । छाडातन्त्रका रुपमा विकास भइरहेको छ लोकतन्त्र र प्रजातन्त्र । तर, चीन र रुसमा कम्युनिष्ट शासन भएर पनि नागरिकलाई दिनुपर्ने स्वतन्त्रता पूर्ण रुपमा दिइएको मैले महसुस गरें । गोर्कीपार्कमा युवायुवतीको चर्तिकला हेर्दा लाग्थ्यो त्यहाँ कुनै रोमान्टिक चलचित्रको सुटिङ भइरहेछ । पार्कभरि युवायुवती मात्रै होइन अधवैंशे मानिस पनि अर्धनग्न अवस्थामा चुम्बन गर्नमा व्यस्तै देखिन्थे । कसैलाई कसैको मतलब थिएन त्यहाँ । मात्र मायाको मापन गरिरहेका थिए सबै अँगालोमा बाँधिएर ।

हेलिकप्टरबाट ट्राफिक नियन्त्रण
मस्को अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने बित्तिकै बाहिर निस्क्यौं । विराटनगरको ३५ माथिको गर्मीबाट गएका थियौं हामी । त्यहाँ थियो १८ डिग्रीभन्दा तल । निकै चिसोको महसुस भयो । नेपालबाट कुरा भएअनुसार ट्याक्सी लिएर आएका थिए जाओर हामीलाई लिन विमानस्थलमा । यसको सबै चाँजोपाँचो जेनिसले मिलाएका थिए । जाओर आफैंले ट्याक्सी हाँके । फराकिला र सफा सडक पार गर्दै हामी अगाडि बढ्यौं । गाडीको चाप भए पनि जाम थिएन । एकछिनमा आकाशमा हेलिकप्टरको आवाज आयो । जाओरले भने, “त्यो हेलिकप्टरले ट्राफिक कन्ट्रोल गरिरहेको छ । हुन पनि आकाशबाट ट्राफिक कन्ट्रोल हुँदो रहेछ । हाम्रो देशमा विदेशीले बनाइदिएको ट्राफिक लाइट पनि संरक्षण गर्न सकेका छैनौं । र, धुलो र हिलोमा पनि ट्राफिक प्रहरी नै खट्नुपर्छ ट्राफिक व्यवस्थापनका लागि ।

चुरोट नखाने भेट्नै मुस्किल
रुसमा चुरोट खानुलाई सामान्य रुपमा लिइँदो रहेछ । ट्याक्सीभित्रै पनि चुरोट खान बन्देज छैन । सडकदेखि होटल र होटलदेखि सुपरमार्केटसम्म चुरोट खाने रोक छैन । जुनसुकै ठाउँमा मात्रै चुरोट खान पाइने रहेछ । सडकका छेउछोउमा चुरोटका ठुटाहरू जताततै देखिन्थ्यो । जसलाई केहीछिनमै सफा गर्ने मेसिनले उठाउँदो रहेछ । युवामात्रै होइन युवती पनि चुरोट तान्न मग्न देखिन्थे । सबै उमेर समूहका मानिसले चुरोट खाँदा रहेछन् रुसमा ।

विश्वकपले तीन गुणा मूल्यवृद्धि
आफूसँग भएको चस्मा ट्याक्सी चालकले लगिदिएपछि भने फसाद प¥यो । मेरो कस्तो समस्या छ भने चस्मा नलगाई घाममा हेर्नै नसक्ने । त्यसपछि फोटो खिच्न पनि समस्या भयो । चस्मा नलगाएपछि आँखा चिम्म हुने । अनि टोलीकै वीरेन्द्र भगतसँग भएको चस्मा लगाएर पालैपालो फोटो खिच्नुपर्ने बाध्यता सिर्जना भयो । रेडस्क्वायर घुम्न जाने क्रममा चस्मा किन्ने योजना बनाएँ । रेडस्क्वायर छेउकै सुपरमार्केटमा केहीछिन घुम्यौं । जताततै फुटबल झुण्ड्याइएको थियो । हामीले केही थान सेल्फी खिच्यौं । अनि चस्मा पसलतर्फ लाग्यौं । मूल्य चस्मामै टाँसिएको थियो । मूल्य देखेर किन्ने आँट गर्न सकिन मैले । चस्माको मूल्य लेखिएको थियो १२ हजार रुबल (रसिनय मुद्रा) । अनि सम्झें नेपाली दूतावासका द्वितीय सचिव खिमानन्द भूषालले भनेको । विश्वकपका कारण हरेक सामानको मूल्य तीन गुणा वृद्धि भएको छ भनेका थिए भूषालले । सायद चस्माको पनि मूल्य त्यही भएर बढेको रहेछ भन्ठानें ।

जताततै खेती नै खेती
मस्कोबाट रस्तोव–वन–डोन जाँदा र आउँदा बाहिरी दृश्य मजाले नै अवलोकन गरियो । रेलबाट बाहिर हेर्दा जताततै एकीकृत खेती गरेको देखिन्थ्यो । ठूलाठूला प्लटमा गहुँ, आलु, जौ, तोरी र तरकारी बाली लगाएको दृश्य देखियो । गाउँको अवस्था भने रुसमा पनि सामान्य नै रहेको अनुभूति गर्न सकिन्थ्यो दृश्य हेर्दा । सामान्य घर । तर, बाक्लो वस्ती । हाम्रो नेपालको गाउँजस्तो छरिएका घर थिएनन् । जति घर थिए एकैठाउँमा झुरुप्प थिए । सडक र विद्युतको पहुँच सहज देखिन्थ्यो बस्तीमा । तर, वस्ती र सडकमा मान्छेको चहलपहल भने एकदमै न्यून देखिन्थ्यो ।

सगरमाथाको भ्रम चिर्दाचिर्दा हैरान
रुस पुगेदेखि नै विदेशीसँगको जमघट निकै भयो । विश्वकप हेर्न विश्वका कुनाकुनाबाट दर्शकको ओइरो लागेको थियो रुसमा । विश्वकप भएका हरेक सहर विदेशी दर्शकले भरिभराउ थिए । होटलका कोठाहरू प्याक थिए । विदेशीसँग परिचय गर्दा माउन्ट एभरेष्ट मेरो देशमा छ भन्दा उनीहरूले विश्वासै गरेनन् । धेरैलाई सगरमाथा चीनमा पर्छ भन्ने भ्रम रहेछ । मैले आफूसँग भएको सरमाथाको चित्र अंकित पैसा देखाएँ । त्यसपछि भने उनीहरू ढुक्क हुन्थे सगरमाथा नेपालमै रहेछ भनेर ।

रसिया बसाइका क्रममा भेटिएका विदेशीलाई सगरमाथाको भ्रम हटाउने काम गरियो । कस्तो विडम्बना छ भने रसियनलाई पनि सगरमाथा चीनमै पर्छ भन्ने भ्रम रहेछ । १ हजार नेपाली छन् रुसमा । दूतावास छ । तर, दूतावासले नेपालको पर्यटन प्रवद्र्धनमा खासै चासो देखाएको पाइएन । ठूलो देश भएकाले सबै ठाउँमा गएर पर्यटन पर्यटन गर्न समस्या रहेको राजदूत ऋषिराम घिमिरेको भनाइ थियो । उनका अनुसार बजेटको समेत अभाव छ दूतावासलाई । नेपालबाट लगेका केही पोष्टर भने बाँड्ने गरिएको उनले सुनाए ।

विदेशी मुद्रा संकलन
मेरो सानैदेखिको शोख थियो– विदेशी मुद्रा संकलन गर्ने । दक्षिण कोरिया, इण्डोनेसिया, बंगलादेश, मलेसिया, दुबई, चीन अहिलेसम्म जहाँ–जहाँ पुगें त्यहाँको केही मुद्रा सुरक्षित राखेको छु । वैदेशिक रोजगारीबाट फर्किएकाहरूसँग पनि मागेर राखेको छु । अहिलेसम्म ३० भन्दा बढी मुलुकको मुद्रा संकलन गरिसकेको छु । रुस भ्रमणका क्रममा अन्य सात मुलुकको मुद्रा थपियो । मैले ब्राजिल, स्पेन, तान्जिनिया, उर्वेकिस्तान,

नाइजेरियालगायतका मुलुकको मुद्रा प्राप्त गरें रुस बसाइका क्रममा । जोसित होटल बसाइका क्रममा घनिष्टता भयो उनीहरूलाई सगरमाथा अंकित नेपाली मुद्रा दिएर उनीहरूको देशको मुद्रा लिएँ । यसले मलाई स्टेडियममै पुगेर विश्वकप हेरेबराबरकै आनन्द दिएको छ ।

१० बजेसम्म उज्यालै
क्षेत्रफलको हिसाबले रसिया विश्वकै सबैभन्दा ठूलो मुलुक हो । तर, जनसंख्या भने १६ करोड मात्रै छ । विश्वको चौथो ठूलो देश चीनमा १ अर्ब ३९ करोड जनसंख्या छ । रसिया ठूलो मुलुक भएर पनि जनसंख्या कम हुनुको पछाडि त्यहाँको हावापानी र भौगोलिक विविधता नै हो । ६ महिना हिउँ जम्ने भएकाले नागरिक निकै कष्टकर जीवन व्यतीन गर्न बाध्य छन् । अहिले राति साढे १० बजे घाम अस्ताएर ४ बजे नै उदाउँछ । यतिखेरको मौसम भनेको गर्मी मौसम हो । तर, पनि हाम्रा लागि निकै जाडै छ । ज्याकेट लगाउनुपर्ने अवस्था छ अहिले पनि । जाडो महिनामा अहिलेको ठीक उल्टो हुँदो रहेछ ।
भाषाकै समस्या

चीनमा जस्तै रसियामा पनि भाषाको निकै समस्या छ । पहिला–पहिला अंग्रेजी भाषालाई घृणा गरे पनि पछिल्लो समय भने दुवै मुलुकले अंग्रेजी भाषालाई आत्मसात गरेका छन् । महत्व दिएका छन् । नयाँ पुस्ता अंग्रेजीमै कुरा गर्न सक्ने भएको छ । तर, दुवै मुलुकले प्रविधिबाट भाषालई सहज बनाएका छन् । एप्समार्फत जुनसुकै भाषाबाट बोले पनि रसियन भाषामा ट्रान्सलेट हुन्छ । जाओरले त हामीसँग एप्समार्फत नेपाली भाषामै पनि कुरा गर्न थालेका थिए । ह्वाट्सएपमा ‘तिमीहरू कहाँ छौ, म मस्कोमा छु’ भनेर पठाउँदा म छक्क परें । प्रविधिलाई प्रयोग गर्न जाने विश्वका जुनसुकै कुनाका मान्छेसित पनि संवाद गर्न सकिने रहेछ भन्ने प्रस्ट भयो ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५