‘डोज भन्दै’ प्रसोधित पानीमा सोडा

खबर पूर्वाञ्चल, ८ श्रावण २०७५, मंगलवार ०७:४८

विराटनगर / उपभोक्तालाई सुद्ध पानी विक्री गर्ने नाममा खुलेका पानी उद्योगहरुले प्रसोधित पिउने पानीमा सोडा मिसाउने गरेको पाइएको छ । विराटनगरमा सञ्चालित केही पानी उद्योगहरुले पानीको अम्लिय र क्षनरको मापन (पिएच) बढाउने नाममा सोडियम बाइकार्बाेनेट(सोडा) प्रयोग गर्ने गरेको पाइएको समाचार आजको उदघोष दैनिकमा हरि अधिकारीले लेखेका छन् ।

प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले नेतृत्व गरेको अनुगमन टोलीले पानी उद्योगले सोडा प्रयोग गरेको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

पिउन योग्य पानीकालागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पिएचको मात्रा न्यूनत ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर विराटनगरका केही बाहेक उद्योगले उत्पादन गरेको पानीको पिएचको मात्र न्यूनतम भन्दा कम छ । बजारमा कतै परीक्षण भैहाले जोगिन उद्योगीहरुले मानव स्वास्थ्यलाई असर गर्नेगरी सोडाको प्रयोग गर्ने गरेका हुन् ।

पानी उत्पादकले सोडालाई ‘डोज’को नाम दिएका छन् । सोमवार अनुगमनका क्रममा विराटनगर– ८ न्यूरो अस्पताल छेउमा सञ्चालित माउण्टेन जल उत्पादन गर्दै आएको माउन्टेन वाटर इन्ड्रस्टीज, हाम्रो जल उत्पादन गर्दै आएको हाम्रो प्रयास जल उद्योग र सितल जल उत्पादन गर्दै आएको सितल उद्योगले प्रशोधित पानीमा ‘डोज’ भन्दै सोडाको प्रयोग गर्ने गरेको पाइएको हो ।

सोडा प्रयोग गरिएको पानी निरन्तर प्रयोग गरे मानिसलाई पेट सम्बन्धी समस्या देखिन्छ । मानव स्वास्थ्यलाई हानी गर्ने तत्व मिसाउने गरेको पाइएपछि तत्काल हटाउन निर्देशन दिएको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरेले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट अनिवार्य रुपमा खाद्य अनुज्ञापत्र लिएर मात्र पानी बिक्री गर्न पाइन्छ । पानी परीक्षणमा पनि डोज प्रयोग गरेका उत्पादकले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरी सोडा प्रयोग गरेको पाइएपछि तत्काल हटाउन निर्देशन दिइएको थियो ।
मन्त्रीलाई सोडा मिसाएको पानी

सामाजिक विकास मन्त्रालयमा हाम्रो प्रयास जल उद्योगले पानी आपूर्ती गर्दै आएको थियो । मधुमारामा सञ्चालित उद्योगले मन्त्रालयसहित अन्य सरकारी अड्डाहरुमा पानी आपूर्ती गर्दै आएको थियो । तर उद्योगले पानीमा सोडा मिसाउने गरेका पाइएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित अन्य सरकारी अड्डाका हाकिमहरुले सोडा मिसाएको पानी उपभोग गर्दै आएका छन् ।

हाइमलमा सिलबन्दी
सोमवार अनुगमनका क्रममा हाइमल पानी उत्पादन गर्दै आएको हाही मल वाटर इन्ड्रष्टीजमा शिलबन्दी गरिएको छ । अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञा पत्र नविकरण नगरेको पाइएपछि शिल गरिएको मन्त्रालयका सहसचिव गोपीप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार साझेदारीका मोरङको कटहरीमा सञ्चालित उद्योग विना जानकारी विराटनगर–१० मधुमारामा सञ्चालन गरिरहेको थियो । उद्योगले एकबर्षयता खाद्य अनुज्ञा पत्र पनि नविकरण गरेको थिएन । विनोद अर्याल र रक्षा अर्यालको नाममा सञ्चालित उद्योगलाई बिक्री तत्काल बिक्री वितरण नगर्न निर्देशन सहित शिलबन्दी गरिएको हो ।

शुक्रवारयता सुरु अनुगमनमा शिलबन्दी गरिएका उद्योगको संख्या चार पुगेको छ । आइतवार बाथरुम जत्रो कोठामा पानी उद्योग सञ्चालन गर्दै आएको एसएसएस जल उद्योग शिलबन्दी गरिएको थियो भने अनुज्ञापत्र नलिएका गोमा रानी जल उद्योग र पूजा फुड एण्ड वेभरेज इन्ड्रष्टीजमा शिलबन्दी गरिएको थियो ।
सोमवार सामाजिक विकास मन्त्रालयको टोलीले ६ वटा पानी उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्मल जल उत्पादन गर्दै आएको पूर्वाञ्चल निर्मल जल उद्योग सफा पाइएको थियो । उद्योगले हिसाब पनि चुस्त राखेको पाइएको थियो ।

अनुगमनका क्रममा उद्योगहरुले पानी जस्तो सम्बेदनशिल वस्तुको उत्पादन र बिक्रीमा पनि लाप्रवाही गरेको पाइएको थियो । श्रीजल उद्योगमा सरसफाई गरेको पाइएको थिएन भने सितल जल उद्योगले सोडा मिसाउने गरेको पाइएको थियो । निर्मल जललाई अनुगमन समितिले अटोमेटिङ फिलिङ मेसिन जडान गर्दै पाँच फुट सम्म भित्तामा टाली लगाउन निर्देशन दिएको थियो भने अन्य उद्योगलाई पनि सरसफाईमा ध्यान दिदै अटोमेटिक फिलिङ मेसिन जडान गर्न निर्देशन दिएको थियो ।

तीन उद्योगलाई जरिवाना
अनुगनका क्रममा हिसाव किताब पारदर्शी नराख्ने तीन उद्योगलाई जरिवना गरिएको छ । मन्त्रालयले नेतृत्व गरेको अनुगमन टोलीस“ग गएको आन्तरिक राजस्व कार्यालय विराटनगरले तीन उद्योगलाई जरिवाना गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका कर अधिकृत कृष्ण बिष्टका अनुसार हाम्रो प्रयास जल उद्योग, माउण्टेन वाटर इन्ड्रस्टीज र श्रीजल उद्योगलाई जरिवाना गरिएको हो । अनुगमनका क्रममा चिटको घरमा कारोवार गर्ने गरेको पाइएपछि माउन्टेन वाटरलाई १० हजार जरिवाना तिराइएको छ भने सात दिन भित्र खातापाता सहित कार्यालयमा उपस्थीत हुन निर्देशन पनि दिइएको छ । सुमित साह, सम्भू कामत र महमद उरुफ सञ्चालक रहेको उद्योगले हिसाव खाता अद्यावधिक पनि गरेको थिएन ।

कपिल खडका सञ्चालक रहेको हाम्रो प्रयास जल उद्योगले उत्पादन गर्दै आएको पानीको बिक्री खाता देखाउन नसकेपछि ‘अन द स्पोट’ पाँच हजार जरिवाना गरिएको छ । त्यस्तै सूर्य जल उत्पादन गर्दै आएको श्रीजल उद्योगले पनि बिक्री विवरण देखाउन नसकेपछि दुई हजार जरिवना गरिएको छ ।

आइतवार अनुगमनका क्रममा शुभ जल उद्योग बुढीगंगा १ गंगा चोक, श्रीजल उत्पादन गर्दै आएको विराटनगरको तिरुपती जल उद्योग र पूजा फुड एण्ड वेभरेज इन्ड्रष्टीजलाई पाँच÷पाँच हजार जरिवाना गरिएको थियो भने त्यस्तै गोमा रानीलाई दुई हजार जरिवाना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५