पूर्वाञ्चल खबर
केपी ओली नेतृत्वको सरकार इतिहासमै सबैभन्दा संवेदनहीन सरकार भएको लेखकले बताए । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले डा. केसीको मुद्दा आम नेपाली जनताको भएकाले जनताको मागलाई कांग्रेसले उठाउन खोज्दा त्यसलाई बेठीक भन्न नमिल्ने उल्लेख गरे । “गोविन्द केसीको माग आम नेपाली जनताको माग हो,” उनले भने, “कांग्रेसले जनताको माग पूरा गर्नुपर्छ मात्रै भनेको हो ।”
अहिलेसम्म सरकारका मन्त्रीले केसीलाई नभेटेको उनले बताए । “सरकारका मन्त्रीहरूलाई बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राका विषयमा अनर्गल कुरा गर्न फुर्सद छ । तर, डा.केसीलाई भेटेर वार्ता गर्ने फुर्सद छैन,” लेखकले भने, “यहाँभन्दा संवेदनहीन के हुन सक्छ ?”
सरकार नेपाली जनताको अभिभावक भएको र डा. केसी पनि नेपाली जनता भएकाले मागप्रति सरकार गम्भीर हुनुपर्ने लेखकको भनाइ थियो । उनले २३ दिनसम्म अनसन बस्दा पनि वार्ताका लागि सरकार गम्भीर नभएको भन्दै डा. केसीसँग वार्ताका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।
नेता लेखकले कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेश हुबहु पारित भए केसी र आम नेपाली जनताको माग पूरा हुने उनको कथन थियो । “नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा सुधार विधेयक वर्तमान सरकार र संसदले स्वीकार गरिसकेको छ,” उनले थपे, “तर स्वास्थ्य क्षेत्रका माफियाहरूको चंगुलमा परेर सरकारले विधेयकलाई फेरि तोडमोड गर्न खोजेको छ । त्यसमै कांग्रेसको विरोध हो ।”
नेता लेखकले कांग्रेसको आन्दोलन सरकार ढाल्न र गिराउन नभई सरकारले गरेको कर वृद्धि र महँगी र गलत कामविरुद्ध भएको प्रष्ट पारे । चार–पाँच महिनाको अवधिमै सरकारले गरेको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै तर निषेधाआज्ञाको नाममा लोकतन्त्रलाई कमजोड बनाउने काम भइरहेकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । सरकारका पछिल्ला केही क्रियाकलापले संविधान र संघीयता खतरामा पर्ने संकेत देखिएको लेखकले दाबी गरे ।