पूर्वाञ्चल खबर
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो । बैठकले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापविरुद्ध ३ साउनबाट तीन दिन उपत्यका र १५ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकार अधिनायकवादी चरित्रबाट संघीयताको खिलाफमा अघि बढिरहेकाले सरकारका कदमविरुद्ध कांग्रेस सडकदेखि सदनसम्म संघर्षमा उत्रिएको बताए ।
‘सरकार अधिनायकवादी चरित्रबाट अघि बढ्यो, सरकारका पछिल्ला गतिविधि संघीयताको खिलाफमा देखिँदै छन्, संविधानले गरेको व्यवस्थालाई सरकारले टेरेन,’ उपसभापति निधिले राजधानीसँग भने, ‘अब कांग्रेसले सदन र सडक संघर्षबाट सरकारलाई सचेत गराउँछ ।’
पहिलो चरणको संघर्ष चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गराउनतर्फ र दोस्रो चरणको आन्दोलन सरकारको अधिनायकवादी प्रवृत्तिविरुद्ध हुने उपसभापति निधिले जानकारी दिए ।
उनले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको अध्यादेश हुबहु ल्याउँदा मात्र डा. केसीको माग सम्बोधन हुनेसमेत दाबी गरे ।
बैठकले ३, ५ र ८ साउनमा दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा, ५ गते तरुण दलको अगुवाइमा र ८ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिको अगुवाइमा विरोध प्रदर्शन गरिने कांग्रेसले निर्णय गरेको हो ।
यस्ता छन् बिरोधका शैली कार्यक्रम
३ साउनः प्राध्यापक र चिकित्सकको अगुवाइमा प्रदर्शन
५ साउनः तरुण दलको अगुवाइमा प्रदर्शन
८ साउनः काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदर्शन
१५ साउनः देशभर प्रदर्शन
त्यस्तै, १५ साउनमा सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समिति र भ्रातृसंगठन तथा शुभेच्छुक संगठनलाई निर्देशन दिएको छ ।
यस्तै, दोस्रो चरणअन्तर्गत १५ साउनमा आफ्ना सबै जिल्ला समिति, भ्रातृ संगठन र शुभेच्छुक संगठनलाई कांग्रेसले जिल्लाजिल्लामा प्रदर्शन गर्नसमेत निर्देशन दिएको छ । आजको राजधानी दैनिकमा यो खबर छापीएको छ ।