नोबेलको बदमासी, विरामीको मृत्यु भएपछि सेवा बन्द

खबर पूर्वाञ्चल, २९ असार २०७५, शुक्रबार ०७:०४

विराटनगर / सोमवार नोबेल मेडिकल कलेज विराटनगरमा प्रसूति गराउन आएकी धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको मृत्यु भयो । गत शुक्रवार छोरीलाई जन्म दिएकी खड्काको अकस्मात अवस्था बिग्रिएपछि इमर्जेन्सी अप्रेशन गर्न लगियो । तर उनी फर्कीनन् ।

….
गत शनिवार नोबेल मेडिकल कलेज विराटनगरमा प्रसूति गराउन आएकी सुनसरी गढी गाउ“पालिका ४ छिटहाकी २६ वर्षीया चा“दनी मेहता र उनको नवजात शिशुको मृत्यु भयो ।

….
गत असार ९ गते शनिबार भर्ना भएकी सप्तरी कञ्चनरुप नगरपालिका–८ की २८ वर्षीया अनु सोनीको मृत्यु भयो । प्रसूति गराउन ल्याएको आफन्तको मृत्यु भएपछि सोनीको परिवारले विरोध जनाएका थिए ।
माथीका एकै प्रकृतिका तीन घटना पछिल्लो दुई सातामा घटेका हुन् ।

अस्पतालको लाप्रवाहीका कारण दुईसातामा एक नवजात शिशुसहित तीन सुत्केरीको मृत्यु भएको हो । उपचारकालागि आएका विरामीको निरन्तर मृत्यु भएपनि न अस्पताल संवेदनशिल बनेको छ नत नियमनकारी निकाय नै । उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ती दिएर थामथुम पारीरहेको छ । तर निरन्तर उपचारकालागि आएका विरामीको ज्यान गइरहेको बिषयमा अस्पताल संवेदनशिल बनेको छैन् ।

विरामीको मृत्यु हुन थालेपछि अस्पतालले प्रसूति सेवा नै बन्द गरेको छ । नेपाल सरकारको आमा सुरक्षा कार्याक्रम मार्फत प्रसूति सेवा सञ्चालन गर्दै आएको नोबेलले आइतवारदेखि सेवा बन्द गरेको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले प्रसूतिकालागि छुट्टै वार्ड बनाउने काम सुरु गरेको बताउदै तत्काललाई प्रसूति सेवा बन्द गरेको जानकारी दिए । तर सेवा बन्द गर्नुमा अस्पतालको वार्ड सार्ने भन्दा पनि विरामीको मृत्युहुने कारण बढी छ । विरामीको मृत्यु हुन थालेपछि अस्पतालले सेवा नै बन्द गरेको हो । दाहाल अनिश्चित कालकालागि प्रसूतिका विरामी भर्ना नलिने गरेको जानकारी दिए ।

अस्पतालमा गत जेठ १० र ११ गते उपचारकालागि आएका चैता मण्डल र सविता राईको मृत्यु भएको थियो । अस्पतालको लाप्रवाहीका कारण मोरङ सुनबर्षी ८ का ३५ वर्षीय चैता मण्डलको जेठ ११ गते शुक्रबार र झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको जेठ १० गते बिहीबार मृत्यु भएको थियो ।

आन्द्राको घाउको अप्रेशन गर्दा इन्फेक्सन भएको भन्दै दोस्रो पटक अप्रेशन गर्ने क्रममा मण्डलको मृत्यु भएको थियो भने अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी राईको डाक्टरकै लाप्रवाहीका कारण ज्यान गएको थियो ।

निरन्तर विरामीको मृत्यु हुन थालेपछि अस्पतालको प्रसूति विभागमा कार्यरत चिकित्सकले पनि राजीनामा दिएका छन् । निरन्तर विरामीको मृत्यु हुनथालेपछि डाक्टरले पनि राजीनामा दिएका हुन् ।

जानकारी नदिइ बन्द
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार स्वास्थ्य महाशाखाबाट स्वीकृत लिएर आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेजले सेवा बन्द गरेपनि सम्बन्धित निकायलाई जानकारी गराएको छैन् ।

स्थानीय सरकार हुदै परिवार स्वास्थ्य महासाखालाई पनि सेवा बन्द गर्ने बिषयमा जानकारी गराउनुपर्ने हुन्छ । तर नोबेलले सेवा बन्द गराएको बिषयमा महानगरपालिकालाई पनि जानकारी गराएको छैन् ।

आमा सुरक्षा कार्याक्रमको सुविधा विराटनगर महानगरपालिका मार्फत लिदै आएको छ । तर सेवा बन्द गरेको बिषयमा महानगरलाई जानकारी नै नआएको स्वास्थ्य महासाखा प्रमुख लजिता योञ्जन बताउछिन् । असारमा थोरै बिरामीको संख्या पेस गरेको बताउदै उनले सेवा बन्द गरेको बिषयमा जानकारी नआएको बताएकी हुन् ।

अस्पतालले पूर्व क्षेत्रिय स्वास्थ्य निर्देशनालयलाई पनि जानकारी गराएको छैन् । कार्यालय प्रमुख चन्द्रदेव मेहताले अस्पतालले आमा सुरक्षा कार्यक्रम बन्द गराएको बारे कुनै जानकारी नआएको बताएका हुन् । यो समाचार आजको उदघोष दैनिकमा हरि अधिकारी लेखेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५