पूर्वाञ्चल खबर
हस्पिटललको नयाँ आएका व्यवस्थापकले बिरामीलाई आफ्नै हस्पिटलबाहेक अन्यत्र रेफर भएर जान नदिकन आम्दानीको लोभमा चिकित्सवलाई जबर्जस्ती सोही अस्पतालमै उपचार गराउन बाध्य बनाएको रहस्य सार्वजानिक भएको छ। यस्तो रहस्य सार्वजानिक भएसँगै अस्पतालमा कार्यरत मेडिकल अफिसियर डाक्टर आलोक रायलाई ५० हजार रुपैयाँ जरिमाना गराइ जागिरबाट हटाएको अवकासको पत्र थमाउने कार्यकारी संचालक कर्ण र प्रशासकिय अधिकृत पण्डितलाई अस्पतालको बोर्ड बैठकले निलम्बन गरेको हो ।
अस्पतालमा कार्यरत डाक्टर आलोक रायलाई एक बिरामीलाई उपचार गर्न नसक्ने भन्दै विपी प्रतिष्ठानमा रिफर गर्दा ५० हजार आम्दानी घाटा गराएको भन्दै कर्ण र पण्डितले अवकासको पत्र थमाउँदै जरिमाना तिर्न बाध्य गराइएको थियो। दुई जना व्यवस्थापक कर्ण र पण्डित हस्पिटलमा नयाँ व्यवस्थापकको रुपमा आएका थिए। उनीहरू आएको १५ दिन नपुग्दै जागिरबाट हात धुनु परेको छ। त्यस अस्पतालमा कार्यरत चिकित्सकलाई ३ महिनादेखिको तलब नदिइएको, बिरामीलाई जबर्जस्ती उपचार गर्न लगाउने गरेको, ओपिडी समयमा भन्दा अन्य समयमा पनि काममा लगाउने गरेको, डाक्टरको अपमान गर्ने र व्यवस्थापकहरू पैसाको पछि मात्रै लाग्ने गरेको त्यही कार्यरत डाक्टरहरूको भनाइ छ।
डाक्टर आलोकलाई अवकासको पत्र थमाएपछि भने अन्य ४ जना मेडिकल अफिसर डाक्टरहरूले पनि राजिनामा दिएको खुलेको छ। राजिनामा दिनेहरूमा मेडिकल अफिसर डा. विप्र लोहनी, डा. सुजाता चौधरी, डा. राहुल चौधरी र राकेश बैठ रहेका छन्। हाल उक्त विवाद भने समाधान भइरहेको अस्पतालका संचालक राजेश प्रसाईले बताए। ‘सबै विवाद मिलाइसकेका छौं,’ प्रसाईले भने, ‘पत्र काट्ने व्यवस्थापकलाई पनि निलम्बन गरेका छौं।’ त्यस बेला भावनामा बगेर गरेको निर्णय मुख्य नभएको प्रसाईको भनाइ छ। प्रसाईले कस्तो कर्मचारीलाई कस्तो पत्र काट्ने र भाषा के लेख्ने भन्ने विषयमा ज्ञान नदेखिएको कारण कर्णलाई निलम्बन गरिएको बताए पनि बिरामीलाई रिफर गर्न नदिएको विषयमा भने बोल्न चाहेनन्।
व्यवस्थापक कर्णले डा. रायलाई असार १९ गते बेलुका ११ बजे हस्पिटलमा वर्ष ४७ को रुरु माया मुगनलाई विपी प्रतिष्ठानमा रिफर गरेपछि अस्पताललाई घाटा भएको भन्दै ५० हजार रुपैयाँ जरिवना गरी २० असारदेखि जागिरबाट हटाएको पत्र थमाएका थिए। त्यसपछि चिकित्सक रायले उक्त हस्पिटलले कुनै स्पष्टीकरण माग नगरी सिधै जरिमाना गरि जागिरबाट निकालेको भन्दै आवश्यक सहयोग माग्दै असार २१ गते नेपाल चिकित्सव संघ कोशी अञ्चल विराटनगरमा निवेदन दिएका थिए। उक्त निवेदन र अस्पतालले दिएको पत्र बाहिर आएपछि घटना अझै उत्कर्षमा पुगेको थियो।
विवाद साम्य पार्न अस्पताल संचालकले व्यवस्थापकलाई हटाउने निर्णय गरेको भए पनि नीजि अस्पतालले सर्वसाधरणलाई दिने सास्तीको भने यस घटनाले सतहमा ल्याइ दिएको छ। ११ जना संचालक रहेको संजीवनी अस्पतालमा डाक्टरहरूको पनि लगानी रहेको छ। जसमा डाक्टर प्रेरणा दाहाल, डा. अन्जु देव रहेका छन्। अन्य संचालकमा राजेश प्रसाई, ओम प्रसाई, विनय पन्त, विनायक पोखरेल, राज मण्डल, कमलेशकुमार कर्ण, सुरेन्द्र राय र पवन पराजुलीलगायत छन्।
संचालकले मागे माफी
हस्पिटलका कार्यकारी निर्देशक कर्णले डा.आलोक रायलाई दिएको चिठीमा प्रक्रिया गलत भएको भन्दै माफी मागेका छन्। उनले नेपाल चिकित्सक संघ कोशी अञ्चल विराटनगरलाई एक पत्र लेख्दै माफी मागेका छन्। ‘डा.आलोकलाई दिएको चिठीको प्रक्रिया गलत भएकोले संजिवनी हस्पिटलको तर्फबाट क्षमा प्रार्थी छु,’ उनले लेखेको पत्रमा उल्लेख छ।