पूर्वाञ्चल खबर
अबको जीवन कसरी चलाउने ? छोराछोरीको भरण पोषण कसरी गर्ने अनि खरानीमा परिणत भएको घरलाई फेरि कसरी ठड्याउने यही पीरले उनको आधा जिउ सुक्यो । भनिन्,‘छिमेकीको घरबाट सुरु भएको आगोले सम्पतिको नाममा भएको हाम्रो सानो घरलाई पनि बाँकी राखेन । कयौं रात पालमुनि बितायौं ।’ उनले ती दिन सम्झदा अहिले पनि कहाली लाग्ने गरेको सुनाइन् ।
बतराई टोलकै बिस्नीदेवी सरदारको पीडा पनि कम छैन । त्यही आगलागीले उनको घर पनि निल्यो । निमेषभरमै घर खरानी भयो । खेतमा काम गर्न गएकी उनले अत्यालिंदै आइन तर केही पनि बचेन । कुनै सामान बाहिर झिक्न पाइनन् । भनिन्,‘तर, हामीले धेरै समयसम्म दुःखमा बस्नु परेन । हाम्रो घर त एकै दिनमा ठडियो ।’ बुचनी र बिस्नीको घर जीवन विकास समाजका स्वयम्सेवकले श्रमसेवा गरी एक दिनमै तयार गरिदिए । बुचनीका अनुसार यसरी घर बन्ला भनेर त उनीहरु जस्ता विपन्न सीमान्तकृत सरदार समुदायले सोचेकै थिएनन ।
गत चैत २ गतेको आगलागीबाट पुरै सखाप भएको टोलका घर बैशाख ७ गते जीवन विकास समाजका डेढ सय जना भन्दा धेरै कर्मचारी र स्वयम्सेवकले एकै दिनमा ठड्याई दिए । समाजको झोराहाट शाखाको पहलमा घर निर्माण गरिएको शाखा प्रमुख मैया राईले बताइन् । भनिन्,‘अहिलेसम्म दुई सयभन्दा धेरै परिवारको घर बनाउने, मर्मत गरिदिनेलगायत काम गरिसकेका छौं ।’ आगलागी पीडितको घर निर्माणमा समाजको केन्द्रीय कार्यालयका कर्मचारी र प्रतिनिधि पनि पुगेका थिए ।