पूर्वाञ्चल खबर
आज भएको समूह चरण चरणको अन्तिम खेलमा जर्मनी एसियन राष्ट्र दक्षिण कोरियासँग २–० ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो । कोरियको जितमा किम योङ गिवन र सन ह्युङ मिनले एक एक गोल गरे ।
अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे ।
सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।
पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश सम्भावना राखेको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो ।
तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३–० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो ।
तर, कोरियाले आफू मात्र बाहिरिएन, साविक विजेता जर्मनीलाई पनिसँगै घर फर्काएको छ ।
मेक्सिकोलाई पराजित गर्दै स्वीडेन समूह विजेता बन्दै नकआउट चरणमा
समूहको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३–० गोलले पराजित गर्दै समुह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । पिहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे ।
त्यसपछि ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि मेक्सिको स्वीडेनसँग ३–० ले पराजित भयो । जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिकोले स्वीडेनसँग भने पराजय ब्यहोरेर समूह उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
समूह चरणमा दुई र दुई खेल जितेका र मेक्सिकोले बराबर ६ अंक जोडेको छ । तर गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बनेको हो ।