पूर्वाञ्चल खबर
प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो । बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ ।
औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । ‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’ कार्यदलमा भुसालसहित नेताद्वय देव गुरुङ र खिमलाल देवकोटा सदस्य थिए ।
सचिवालयभन्दा स्थायी समिति शक्तिशाली
अहिलेको संरचनाअनुसार सबैभन्दा माथि दुई अध्यक्ष रहेको नौ सदस्यीय केन्द्रीय सचिवालय रहे पनि विधानले स्थायी समितिलाई शक्तिशाली कमिटीका रूपमा प्रस्ताव गरेको छ ।
सचिवालयलाई दैनिक कार्यसम्पादन गर्ने प्रशासनिक निकायमा सीमित गर्दै स्थायी समितिलाई सबैभन्दा माथिल्लो शक्तिशाली राजनीतिक निकायका रूपमा प्रस्ताव गरिएको हो । सचिवालयले केन्द्रीय कार्यालय सञ्चालन, बैठकको कार्यसूची बनाउने र प्रतिवेदन तयारी गर्ने काम गर्नेछ भने सबै महत्वपूर्ण राजनीतिक निर्णय भने स्थायी समितिबाटै हुने गरी विधानको मस्यौदा तयार भएको हो ।यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।