पूर्वाञ्चल खबर
मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको रोबरमा गोरेको बयान बन्द इजालसमा हुँदै आएको छ । भोली गोरेको बयान सकिए शनिबार विदा हुने भएकोले आइतबारमात्र उनकोे मुद्दामा थुनछेक बहस सुरु हुनेछ ।
जिल्ला अदालत मोरङमा बुधबारबाट गोरेको बयान लिन सुरु गरिएको हो । गोरेलाई कडा सुरक्षा व्यवस्था दिएर प्रहरीले बिहान १० बजे नै गोरेलाई बयान गर्न अदालत पेस गर्दै आएको छ । दुई दिनमा गोरेले १६ पृष्ठको बयान दिएको स्रोतको भनाई छ ।
बयान सकिएपछि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । त्यसपछि गोरेकोतर्फका कानुन व्यवसायीले बहस प्रस्तुत गर्नेछन् । अहिलेसम्म गोरेको तर्फबाट बहस गर्न एक जना मात्र कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । गोरेको तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गर्नेछन् । बहस सुन्ने र थप प्रमाण बुझेपछि इजलासबाट थुनछेकका आदेश हुनेछ ।
काठमाडौंबाट मंगलबार पक्राउ परेका गोरेलाई सोही दिन अबेर जिल्ला अदालत मोरङ पेस गरिएको थियो । अदालतले मंगलबारमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो ।