कराँतेकी ‘ब्ल्याक बेल्ट’ मन्टेश्वरीमा‘फस्टडन’

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७५, शनिबार १८:२६

विराटनगर / विराटनगरमा अहिले टोलटोलमा मन्टेश्वरी खुलेका छन् । बालबालिकाको स्यहारदेखि पढाउने नाममा च्याउ उम्रेसरी खुलेका धेरै मन्टेश्रीले कार्यक्षेत्र विस्तार गर्न सकेका छैनन् । सीमित साधन स्रोत र विद्यार्थी लिएर जर्बजस्ती चलाइएका मन्टेश्री पनि छन् । तर, सन् १९९९ तिर विराटनगरको अवस्थ निकै भिन्न थियो ।

बालबालिकालाई मन्टेश्वरी विधिमा पढाउने एउटा विद्यालय पिटर प्यानको मात्र चर्चा हुन्थ्यो । यही मेसोमा मार्सल आर्टसकी एकजना खेलाडीलाई शिक्षण पेशाले तान्यो । क्याम्पसको पढाइ लगत्तै स–साना विद्यार्थीसँग रमाउने उनको उत्कठ इच्छालाई परिवारले पनि नाई भन्न सकेनन् । उनी थिइन् विराटनगर–१० की सेविका थापा । सन् १९९५ एसएलसी दिए लगत्तै यी कराँतेकी यी खेलाडीलाई बालबालिकाको निर्दोष अनि बालापनले तान्यो ।

इच्छा थियो मन्टेश्वरी टिचर बन्ने । जहाँ इच्छा त्यहाँ उपाय भने झैं पिटर प्यानको बारेमा सुनेकी उनले त्यही स्कुलमा असिस्टेन्ट टिचरको रुपमा काम पाइन् । ‘उबेला अहिले जस्तो सबै समुदायका मानिसले आफ्ना छोराछोरीलाई मन्टेश्वरी पठाउने चलन थिएन,’ विगत सम्झदै भनिन्,‘हाइक्लास सोफेस्टिकेटेड अभिभावकले मात्र पठाउँथे । अहिले त प्रारम्भिक शिक्षाको आधार नै मन्टेश्वरी बनेको छ ।’ त्योबेला यस्ता विद्यालयबारे धेरै मानिसलाई थाहा नभएको र अहिले मात्र आएर यत्रो प्रचार भएको बताइन ।

खेलकुदको जीवनबाट अध्यापनमा छिरेकी सेविकाले पछिल्लो २० वर्षको अवधिमा कति विद्यार्थी पढाइन र उनीहरुलाई काबिल बनाइन भन्ने लेखाजोखा छैन । तर, उनले पढाएका धेरै विद्यार्थीले उनलाई कराँतेकी कुसल खेलाडी भन्दा पनि असल शिक्षकको रुपमा चिन्ने गर्छन । रिङमा कराँते खेल्दा धेरै खेलाडीलाई डालेकी उनले भारतमा मन्टेश्वरी विषयमा डिप्लोमा गरिन् । स्कटल्याण्डमा ‘एडभान्स’ तालिम लिइन ।

मलेसियामा भएको वर्कसपमा सहभागी बनेपछि आफ्नो विषयमा थप पारंगत बनिन् । भन्छिन्,‘विदेशको सिकाइलाई स्वदेशमा व्यवहारिक रुपमा प्रयोग गर्न निकै मद्दत मिल्यो ।’ तालिम सकेपछि लन्डनमा विवाह गरिन । तर, उता बस्न मन लागेन । स्वदेशमै केही गर्ने सोचले यतै नेपाल फर्किएर आइन् । विगतबारे उनले भनिन्,‘विदेशको मोहले कसलाई तान्दैन् र ? त्यो पनि बेलायतको तर हामी स्वदेशमै पहिचानसहितको काम गर्ने योजनासाथ विराटनगर फर्कियौं ।’ खेलक्षेत्रकै सर्वजित पाण्डेसँग विवाह भएपछि उनी स्वदेश फर्केर आइन । अनि शैक्षिक क्षेत्रमा हात हालिन र कराँतेकी ब्ल्याक बेल्ट खेलाडी । त्यही खेलको प्रशिक्षक फस्टडन जस्तै मन्टेश्वरी क्षेत्रकी सक्रिय अग्रज अगुवा बन्न सफल बनिन् ।

बुबा विश्वराज थापा र आमा शोभा थापाकी जेठी छोरी सेविकाका तीन दिदीबहिनी र एक भाई छन् । उनले राज्यलक्ष्मी गोल्छाको यूरो किड्समा सिंगल टिचर, डिपिएसमा ६ वर्ष कोअर्डिनेटरको रुपमा पनि काम गरिन । रविशंकरको यात्रा हुँदै अहिले चेन मन्टेश्वरी किड्जीमा आबद्ध छिन् । यसमा आफ्नै लगानी छ । भन्छिन्,‘खेलाडीबाट शिक्षकमा रुपान्तरण हुन धेरै समय नै लागेन । तर, खेलजीवन पनि उत्तिकै रमाइलो थियो ।’ अहिले किडजीमा थापाले मन्टेश्वरी तालिम दिन्छिन् । विद्यार्थीको थेगिनसक्नुको चाप छ ।

अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार पढाइ हुने भएकोले गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको थापा बताउँछिन् । पहिले अरुको विद्यालयमा पढाउने उनले अहिले शिक्षाक्षेत्रमा लाग्न चाहने युवतीका लागि रोजगारीको अवसर सिर्जना गरिदिएकी छन् । भन्छिन्,‘बालमनोविज्ञान अध्यय्न गर्न र उनीहरुकै सेवामा जीवनका महत्वपूर्ण बसन्त बिते अझै सेवा गरिरहने चाहना छ ।’ उनले मन्टेश्वरीलाई अझ व्यवस्थित गर्न भने जरुरी रहेको बताइन ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.