RUMPUM
animated ellipse animated ellipse

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०७५, सोमबार १७:२१
3
Shares
काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ को समूहले तस्करीको रकम जग्गामा लगानी गरेको भेटिएको छ ।

गोरे र उनको समूहले पछिल्लो चार वर्षमा मात्र ३८ क्वीन्टल सुन तस्करी गरेको समितिको निश्कर्ष छ । सुन तस्करीको आरोपमा ९ प्रहरीसहित ३४ जना पक्राउ परेका छन् भने ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलिरहेको छ ।

अदालतमा मुद्दा चलिरहँदा अनुसन्धान समितिले भने तस्करीबाट भएको रकम खोजी थालेको छ । ‘उप्रेतीसहित उनको समूहले जग्गामा लगानी गर्ने गरेको भेटिएको छ’ समितिका एक सदस्यले भने, ‘हामी केही जग्गा दलालहरुलाई शंकाको घेरामा राखेका छौं । उनीहरुको बयान लिने काम भइरहेको छ ।’

स्रोतका अनुसार उप्रेतीले मोरङ र काठमाडौंका विभिन्न ठाउँका जग्गामा लगानी गरेका थिए ।

गोरेले मोरङको मिक्लाजुङ-९ मा २६ कठ्ठा जग्गाका किन्नका लागि बैना दिएको समेत खुलेको छ ।

उनले जग्गा धनी स्थानीय व्यापारी जयगोपाल शाहलाई २३ लाख रुपैयाँ दिएको खुलेको हो । उनीहरुबीच १ करोड ५६ लाख रुपैयाँमा जग्गा किनबेच गर्ने सहमति भएको बताइएको छ । यद्यपि, गोरेले पूरै रकम भने दिइसकेका थिएनन् ।

त्यो जग्गामा क्रसर उद्योग खोल्ने गोरेको योजना रहेको बताइन्छ । ‘यो एउटा सानो प्रतिनिधि केस मात्र हो’, समितिका एक सदस्यले भने, ‘गोरे लगायत अन्यले विभिन्न ठाउँमा विभिन्न व्यक्तिको नाममा जग्गा खरिद गरेको भेटिएको छ ।’

गोरेले आफ्नो कार उर्लाबारीस्थित पशुपति बोर्डिङ स्कुलका सञ्चालक विजय कार्कीलाई दिएको खुलेको छ । उनले मोहन काफ्लेको नाममा खरिद गरेको गाडी कार्कीलाई दिएका हुन् ।

‘त्यसवापत २० लाख रुपैयाँ नगद लिइसकेको देखिन्छ भने अरु रकम जग्गा दिएर मिलाउने गरी सहमति भएको थियो’, स्रोत भन्छ, ‘अहिलेसम्म गाडी पास भने भएको छैन ।’

हराएको सुनको मालिक अग्रवाल

सुन तस्करीको अनुसन्धान हराएको भनिएको ३३ किलो सुनबाट सुरु भएको थियो । गोरेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास गरेको यो सुन अनामनगर लैजाने क्रममा बाटोमा लुटिएको भनेपछि गोरेले छानविन थालेका थिए ।

त्यसक्रममा समन शाक्यको हत्या भयो । त्यहीबाट सुरु भएको अनुसन्धानले गोरेको तस्करी खुलेको हो । यद्यपि हराएको भनिएको सुन कहाँ छ अझै खुलेको छैन ।

अनुसन्धानका क्रममा गायब भएको भनिएको साढे ३३ केजी सुनमा सुनसरीको धरान उपमहानगरपालिका-३ घर भइ हाल काठमाडौंको अनामनगर बस्दै आएका एम.के. मामा भनिने मोहनकुमार अग्रवालको लगानी भएको देखाएको छ ।

शाक्यको हत्या भएको भोलिपल्टबाट अग्रवाल फरार रहेको अनुसन्धान समितिका एक अधिकारीले बताए । ‘सनमको हत्यापछि प्रहरीले निगरानी बढाएको खबर पाएसँगै उनी गायब भएका थिए’, एक अधिकारीले भने, ‘अहिले अग्रवालकी श्रीमति समेत गायब छिन् । घरमा ताला लगाइएको छ ।’

अनुसन्धान समिति समक्ष बयान दिने क्रममा भुजुङ गुरुङले भनेका छन्, ‘पछिल्लो पटक सन् २०१८ जनवरी २३ तारिकमा आएको साढे ३३ केजी सुनमा एम.के भन्ने मोहनकुमार अग्रवालको लगानी रहेको थियो । मैले कमिशन पाउँथे ।’

तर, अनुसन्धानले सुन लुटपाटमा राप्रपाका नेता भुजुङ गुरुङकै संलग्नता देखिएको छ । सुन तस्करीको अभियोगमा पक्राउ परेका अभियुक्तहरुले समेत सुन लुटपाटमा गुरुङ समूहकै संलग्नता रहेको बयान दिएको स्रोतको भनाइ छ ।

गुरुङ पञ्चायतकालबाटैसुन तस्करी गर्दै आएका थिए । टन्न पैसा कमाएपछि उनले केही समय कारोबार छाडेका थिए । चुडामणि उप्रेती ‘गोरे’ समूहसँग सम्बन्ध कायम भएपछि ६४ वर्षे नेता गुरुङले सुन तस्करी पुनः सुरु गरेका थिए ।

सानु बनसँग मिलेर विमानस्थलबाट साढे ३३ केजी सुन बाहिर ल्याउने तक्ले भनिने पुण्यप्रसाद लामाले छानबिन समिति समक्ष बयानका क्रममा गोरेको समूहले टर्चर दिने क्रममा भुजुङ गुरुङलाई पनि भेट्न बोलाए पनि नआएको बताएका छन् । ‘उनीहरूले भुजुङ गुरूङ भन्ने मानिसलाई पनि फोन गरेर भेट्न बोलाएका थिए । तर, आउन आलटाल गथ्र्याे’ उनले भने, ‘सोधपुछका क्रममा सालो डिविटर डा. भन्ने छिरिङ वाङ्गेल घले भन्ने मानिसलाई पनि सुनको बारेमा चुडामणि उप्रेतीका मानिसहरूले सोधपुछ गर्दा उसले भुजुङ गुरूङलाई थाहा हुनुपर्छ भनेको थियो ।’

सानु बन समेतको मिलेमतोमा भुजुङ गुरुङले साढे ३३ किलो लुटेको हुन सक्ने आशंका गरिएको छ । ‘सुन हराउने वित्तिकै भरियाहरुलाई टर्चर दिन थालियो । बनलाई पनि सोधपुछ गर्न थालियो’ समितिका एक सदस्य भन्छन्, ‘गुरुङसँग आफू मिलेको बताउँदा आफू गोरेबाट नबच्ने र त्यसबारे नबताउँदा पनि गोरेको टर्चर पाइराख्नु पर्ने भएकैले उसले आत्महत्या गरेको हुन सक्ने देखिएको छ ।’

गुरुङ ०७० सालको निर्वाचनमा मनाङबाट राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका थिए । हाल उनी पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रवातान्त्रिकमा थिए ।

भुजुङका ड्राइभरबाट खुल्यो रहस्य

अनुसन्धान समितिले बुधबार भुजुङ गुरुङका चालक फुल्दुङ भनिने लक्षुबहादुर गुरुङलाई पक्राउ गरेको छ । सानु बनले आत्महत्या गर्नु अघिसम्म लक्षु उनको सम्पर्कमा रहेको प्रहरी बताउँछ । उनीबाटै धेरै कुरा खुलिसकेको समितिका एक सदस्य बताउँछन् । उनको बयानबाट पनि भुजुङले सुन लुटेको निष्कर्षतर्फ अनुसन्धान समिति पुगेको छ ।

समिति स्रोतका अनुसार भुजुङकासाला नाता पर्ने डेविटर डा. भन्ने छिरिङ वाङ्गेल घले र उनका चालक फाल्दुङ गुरुङ मिलेर अनामनगरबाट सुन लुटेको दोस्रो चरणको अनुसन्धानबाट देखिएको छ ।

गुरुङमाथि सार्वजनिक अपराध ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बुझिएको छ ।

समितिको म्याद थपिने संकेत

सनम शाक्यको हत्याबाट सुरु भएको सुन तस्करीको अनुसन्धान थालेको समितिको म्याद जेठ ४ गते सकिँदैछ । यद्यपि, अनुसन्धानका थुप्रै पाटाहरु बाँकी छन् ।

समितिका एक अधिकारीले म्याद थपिन सक्ने संकेत गरे । ‘प्रधानमन्त्री समक्ष समितिले बि्रफिङ गर्ने क्रममा पनि सुन तस्करीको विविध पाटोबारे जानकारी गराएका थियौं’, उनले भने, ‘अनुसन्धान गर्नु पर्ने केही कुरा बाँकी नै रहेकाले म्याद थपेर अरु अनुसन्धान थाल्नसक्छौं । यसबारे मन्त्रीपरिषद्ले निर्णय गर्ने हो ।’

सरकारले संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप समिति गठन भएको थियो । गृह मन्त्रालयका सह-सचिव ईश्वर पौडेलको नेतृत्वमा भएको समितिले घटनामा संलग्न २९ जनालाई पक्राउ गरिसकेको छ । ३३ जना अझै फरार छन् । अनलाइन खबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर