पूर्वाञ्चल खबर
आज भएको उद्धघाटन खेलमा आर्मीले सप्तरीलाई ६ विकेटले पराजित गरेको छ । इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल खडा गरेको थियो । जसमा विकास दासले सर्वाधिक २३ रन बनाउँदा मेहबुब आलमले १७ र राहुल विकले ११ रन बनाए । आर्मीका चन्द्र साउद र साहब आलमले २–२ विकेट लिए ।
जवाफमा १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । आर्मीका लागी राहुल विश्वकर्माले २१ रन बनाउँदा अनिल मण्डलले १९ रन बनाए । सप्तरीका विवेक यादवले २ विकेट लिए । खेलको म्यान अफ द म्याच आर्मीका हरिकृष्ण झा घोषित भए । उनले १५ सय नगद र ट्रफी पाए । आइतबारको खेल झापा र सुनसरी बिच प्रतिष्पर्धा हुने आयोजक सेभेन स्टार क्लबका सचिव सीपी पौडेलले जानकारी दिए ।
प्रतियोगितामा दुई विभागिय टिम नेपाल पुलिस तथा आर्मी सहित आठ टिमको सहभागीता रहेको छ । नक आउट प्रणालीमा खेलाईने प्रतियोगिताको विजेताले ७५ हजार नगद सहित ट्रफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित ट्रफी पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट वलर, उत्कृष्ट व्याष्टमेनले जनही १० हजार नगद र ट्रफी प्राप्त गर्ने छन् । इटहरी उपमहानगरपालिकाको संयोजन तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरे । प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ ।