AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कुलको ११ औं वार्षिकोत्सव सुरु, प्रविधि र संस्कारसहितको शिक्षामा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०८२, बिहीबार १६:२८
117
Shares
विराटनगर / विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । स्कुल परिसरमा आजदेखि सुरु भएको तीनदिने उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे ।

वार्षिकोत्सव उद्घाटन गर्दै मेयर कोइरालाले वर्तमान युग प्रविधिको भएकाले विद्यालयहरूले विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) र आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । ‘अहिलेको समय प्रविधिको हो, त्यसैले विद्यालयहरूले विद्यार्थीलाई प्रविधिसँगै सीप र संस्कारयुक्त शिक्षा दिनुपर्छ,’ कोइरालाले भने, ‘किताबी ज्ञानले मात्र पुग्दैन, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिएर सक्षम नागरिक बनाउनु आजको आवश्यकता हो ।’

कान्तिपुरका प्रिन्सिपल भुवन नेपालले विद्यालयले गुणस्तरीय शिक्षासँगै प्रविधि र संस्कारलाई प्राथमिकता दिएकै कारण अहिले २८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । उनले विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको दाबी गरे ।

प्रिन्सिपल नेपालका अनुसार तीनदिने उत्सवको पहिलो दिन आज नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । कार्यक्रमको दोस्रो दिन शुक्रबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने अन्तिम दिन शनिबार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गर्दै वार्षिकोत्सवको समापन गरिनेछ ।

कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी र विराटनगर महानगरपालिका–१० का वडाध्यक्ष अर्जुन गिरीले शुभकामना मन्तव्य राख्दै कान्तिपुर स्कुलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

सो अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरी अभिभावक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । तीन दिनसम्म चल्ने यस उत्सवमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विभिन्न विधाका कार्यक्रमहरू समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर