पूर्वाञ्चल खबर
नागरिक अभिनन्दनका नाममा सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएपछि सरकारले नागरिक नभएर नगर अभिनन्दन गर्न लागिएको स्पष्ट पारेको हो।
संसद्को बुधबार बसेको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस विषयमा स्पष्ट पारेको छ।
संसद्को शून्य समयमा बोल्दै सांसदहरूले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका थिए। सांसदहरूले भारतका प्रधानमन्त्री मोदीको भ्रमणको जानकारी मागेलगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले दुईदिने भ्रमण हुन लागेको जानकारी गराएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल आउन लागेको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताए । मोदी दुईदिने भ्रमणका क्रममा २८ वैशाखमा नेपाल आउँदै छन्।
जनकपुर र काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्न लागिएको भन्ने विषयमा असहमति जनाउँदै उनले सरकारको सक्रियतामा नागरिक अभिनन्दन गर्ने भन्ने विषय गलत भएको स्पष्ट पारे।
‘जनकपुरमा जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यस्तै, काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ।’
भारतीय प्रधानमन्त्रीलाई सरकारले दुई ठाउँमा अभिनन्दन गर्न लागेको भन्ने आरोप लागिरहेको समयमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बन्धित नगरले अभिनन्दन गर्न लागेको संसद्लाई जानकारी गराएका हुन्।
विदेशी प्रधानमन्त्री आफ्नो देशमा आउँदा भ्रमण गरिएको नगरपालिकाले अभिनन्दन गर्ने प्रचलन छ। अघिल्लोपटक नेपाल भ्रमणमा आउँदा पनि मोदीलाई काठमाडौं महानगरपालिकाले अभिनन्दन गरेको थियो । अघिल्लो महिना नेपालका प्रधानमन्त्री ओलीको भ्रमणमा समेत दिल्ली महानगरले अभिनन्दन गरेको थियो।
एक अर्को मुलुकमा हुने राजकीय भ्रमणमा सम्बन्धित नगरले अभिनन्दन गर्ने परम्पराअनुसार नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्न लागिएको उनले जानकारी दिए।
भारतका प्रधानमन्त्री मोदीले भ्रमणका क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले सदनलाई जानकारी गराए। उनका अनुसार शुक्रबारै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्धका विषयमा छलफल हुनेछ।
भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले नेपाल भारतबीचको सम्बन्धलाई नयाँ आयाम थप गर्ने विश्वाससमेत व्यक्त गरे। आजको राजधानी दैनिकले यो समाचार छापेको छ ।