पूर्वाञ्चल खबर
उर्लाबारी – ७ मा रहेको शनमको घरमा उनीहरु एकै स्वरमा भने, ‘दोषी जति सवैलाई कडा कारबाही हुनुपर्दछ ।’ सञ्चारकर्मीसँग कुरा गर्दै सनमकी आमा कल्पनाले मेरो जेठो छोरोको हत्या गर्ने मुख्य नाइके ‘गोरे’ र अन्यलाई कडा कारबाही माग गरिन् । ‘आफनै ठाउँमा सानोतिनो कारोवार गरेर जीवन छोराले चलाइ रहेको थियो,’ घरको बलेसिमा बसेर मलिन स्वरमा आमा कल्पनाले भनिन्, ‘एक छोरी र श्रीमतिसँग आफनो परिवारमा रमाइरहेको थियो । छोरामा लोभलालच पनि थिएन् ।’ उनी भन्छिन्, ‘घर बेचेर अन्तै घडेरी किनेर घर बनाउन र उब्रेको पैसा ठेक्कापटा कारोवारमा लगाउने योजना भैरहेको थियो । तर, दुई बर्ष अघि बिकेश र गोरे भन्ने साथीले फकाएर काठमाण्डौ छोरालाई लग्यो ।’
उनी भन्छिन्, ‘गोरेको व्यापारको लेखा हेर्ने काम गर्छु भन्थ्यो । हामीलाई समान्य तलब छ भन्ने गत्र्थो । हामीलाई कहिल्यै अकुत पैसा ल्याएर दिएको पनि छैन्,’ उनले भनिन् । एक पल्ट बुहारी र छोरीलाई काठडमाण्डौ घुमाउन लगेको थियो,’ उनले भनिन्, ‘त्यत्ति हो त्यो पनि मेरो करले । सम्पत्तीको नाममा हाम्रो यही एउटा चिया पसल र काठको यही घर हो । जीबिका चलाउने अर्को उपाय छैन् ।’
‘गोरेले नबोलाएको भए मेरो जेठो छोरा सनम काठमाण्डौ जाने नै थिएन्,’ उनले भनिन्, ‘ काठामाण्डौ नगएको भए उसको ज्यान पनि नजाने रहेछ । मेरो छोराको हत्यारा र त्यो सुन तस्करीको मुख्य नाईके गोरेलाई जहाँबाट भएपनि पक्राउ गरेर ल्याउनुपर्छ । हत्यामा संलग्न सवैलाई जेल हाल्नुपर्छ ।’ उनले भनिन्, ‘अनि मात्र हामीलाई सन्तोष हुन्छ । न्यायको अनुभुति हुन्छ । गोरे पक्राउ परेन भने मेरो छोरा जस्तै अरुको पनि धेरै छोराहरु मारिनेछन् ।’ उनले भिनन्, ‘मेरो छोरामाथि लागेको कलंक हटाउनुपर्छ ।’