खबर पूर्वाञ्चल
शाक्यको हत्या पछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’मा सूचना जारी गर्न लागिएको हो ।
इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य रहेका छन् । नेपाल प्रहरीको मात्र खोजी सूचिमा रहेका ‘गोरे’ इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचिमा रहनेछन् ।
मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताएका छन् । गोरे नेपाल बाहिर रहेको थाहा पाएको प्रहरीले खोजीकालागि इन्टरपोल मार्फत ‘डि–फ्यूजन नोटिस’ जारी गर्नलाई आवश्यक प्रकृया सुरु गरिएको हो ।
पूर्व डिआइजी निरौला २३ जनालाई ८ दिन म्याद थप
३३ किलो सुन काण्ड र सनम शाक्य हत्यामा मुछिएका नेपाल प्रहरीका पूर्व डिआइजी गोबिन्द निरौला सहित २३ जनालाई जिल्ला अदालत मोरङले थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ । मंगलवार २३ जनालाई म्याद थपकालागि मोरङ प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले प्रहरीलाई थप ८ दिन थुनामा राख्न आदेश दिएको हो ।
मंगलवार म्याद थप गर्न ल्याइएका २२ जनालाई प्रहरीले हतकडी लगाएर ल्याएको थियो भने निरौलालाई हतकडी नलगाई ल्याइएको थियो । अदालत परिषरमा ३३ किलो सुन काण्डका अन्य आरोपी एक ठाउमा रहेका बेला निरौला भने बेग्लै स्थानमा बसेका थिए ।
३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्याको अनुसन्धानकालागि गृहमन्त्रालयले गठन गरेको छानविन समितिले आइतवार पूर्व डिआइजी निरौलालाई पक्राउ गरेको थियो । निरौलालाई सोमवार पनि अदालतमा उपस्थित गराइएको थियो । पक्राउ परेको मितिले दुई दिन म्याद थपेर अन्य २२ जनाकास“गै म्याद मिलान गरेको प्रहरीले मंगलवार निरौला सहित २३ जनालाई अनुसन्धानकालागि ८ दिनको म्याद थप गरेको हो ।
मंगलवार प्रहरीले निरौला सहित राजेन्द्रकुमार शाक्य, तुलाराम थारु, अमरमान डंगोल, राजन कुमार, राजन थापालाई म्याद थप गरेको हो । ६ जनालाई गत चैत २६ गते याता पक्राउ गरिएको हो ।
त्यस्तै प्रहरीले २६ गते अघि पक्राउ परेका चाचाजी भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, र माधव भनिने मदनप्रसाद घिमिरेलाई म्याद थप गरिएको हो ।
प्रहरीले ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चुणमणी उप्रेती गोरेलाई पक्राउ गर्न सकेको छैन् । प्रहरीको उप्रेती र उनका केही आफन्त पनि खोजीरहेको छ ।
युएईबाट अबैध रुपमा भित्रिएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तीसम्म नपुगी बाटोबाटै गायब भएपछि तस्करको समूहले भरिया सनम शाक्यलाई यातना दिएर हत्या गरेको थियो । शाक्यको हत्या भएपछि प्रहरीले पक्राउ परेका २३ जनालाई ‘ संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्धामा म्याद थप गरिएको हो ।
१९ गते मुद्धा अदालतमा बुझाउदै प्रहरी
३३ किलो सुन काण्ड र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको प्रहरीले बैसाख १९ मुद्धा अदालतमा बुझाउने तयारी थालेको छ । ‘ संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्धामा ५२ दिन यता अनुसन्धान गरिरहेको मोरङ प्रहरीले २ महिना पुगेपछि मुद्धा अदालतमा बुझाउने बताइएको छ ।
प्रहरीले १९ गते मुद्धा अदालतमा बुझाउनकालागि मंगलवार ८ दिनको मात्र म्याद थप गरेको हो ।
संगठित अपराध निवारण ऐन २०७० मा आरोपीलाई बढिमा ६० दिन सम्म राखेर अनुसन्धान गर्न पाउने व्यावस्था छ । सोही ऐनका आधारमा १९ गते प्रहरीले मुद्धा अदालतलाई बुझाउनेछ । ऐनको परिच्छेद ४ दफा १४ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्गठित अपराधको अनुसन्धानको लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिको आधारमा अदालतको अनुमति लिई पटक पटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिने उल्लेख गरिएको छ ।
कहा छ सुन ?
नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेपछि सर्बाधिक चर्चामा रहेको ३३ किलो सुन काण्डको बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले २३ जनालाई अनुसन्धानकालागि नियन्त्रणमा लिएपनि सुन फेला पार्न सकेको छैन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट भित्रिएको सुन सम्बन्धीत व्यक्तीसम्म नपुगेपछि बाटोबाटै गायब भएपछि चुणामणी उप्रेती गोरेको समुहले भरिया सनम शाक्यलाई यातना दिएर सूचना लिन खोजेको थियो । तर यातनाकै क्रममा शाक्यको ज्यान गएपछि गोरे फरार भए । तर सनम शाक्यले डेलिभरी गर्न ल्याएको सुन कहा छ भन्ने सुइको प्रहरीले पाएको छैन् । घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतका अनुसार हराएको भनिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन् । यो खबर आजको उद्घोष दैनिकमा छापिएको छ ।