RUMPUM
animated ellipse animated ellipse

सर्वोत्कृष्ट छन् विराटनगरका पनि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७४, बिहीबार १६:५९
3
Shares
विराटनगर / विराटनगर औद्योगिक नगर मात्र होइन पछिल्लो समय शैक्षिक सहरको रूपमा समेत विकसित भएको छ।

अब्बल शिक्षाका लागि प्रायः सबै विषयमा यो महानगरले विदेशी विद्यार्थीसमेत तान्न थालेको छ। खासगरी स्वास्थ्य र व्यवस्थापन विषयमा केही कलेजले निकै राम्रो नतिजा ल्याउन सफल भएकै कारण शैक्षिक हबको रूपमा यो सहरले नयाँ पहिचान स्थापित गराउन सकेको हो।

विद्यलय शिक्षामा भएको प्रगतिसँगै विराटनगरमा विद्यार्थीको आकर्षण पनि चुलिएको छ। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा यहाँका निजी तथा सामुदायिक विद्यालयहरू विद्यार्थी भर्नाको तयारीमा लागेका छन्। कलेजहरूले पनि निकै प्रगति गरिरहेका छन्।

नोबेल मेडिकल कलेजले भारत र माल्दिभ्सका विद्यार्थीलाई समेत आफ्नो कार्यक्रममा समेटेको छ। कलेजको भरपर्दो व्यवस्थापन र भौतिक पूर्वाधारको उपलब्धताले नै यो मेडिकल कलेजमा विदेशी विद्यार्थी आकर्षित बनेका हुन्। कलेजका निर्देशक डा. सुनील शर्मा भन्छन्, ‘मेडिकल पढ्ने विद्यार्थीका लागि सैद्धान्तिकभन्दा पनि व्यावहारिक ज्ञान बढी आवश्यक हुन्छ जुन उपलब्ध साधनस्रोत र भौतिक पूर्वाधारले मात्र पूरा हुन्छ। हामीले यो परिपूर्ति गर्न सकेकोले नै नोबेल दक्षिण एसियामै नाम कमाउने अवस्थामा पुगेको छ।’

विज्ञानमा १० जोड दुईसहित पछिल्लो समय विद्यालय शिक्षाका लागि निकै चर्चामा रहेको एभरेस्ट स्कुललाई यतिबेला विद्यालय वाार्षिक परीक्षाको चटारोसहित नर्सरीदेखि नै भर्नाका लागि विविध कार्यक्रम घोषणा गर्ने व्यस्तता छ। यो शैक्षिक सत्रमा ३० करोड रुपैयाँ लगानी थपेर नयाँ पूर्वाधारसहित स्नातक र स्नाकोत्तर कक्षा चलाउने तयारी गरिरहेको छ। बीबीए, बीएसएम र बीएस्सी एजी चलाउने तयारी रहेको बताउँदै पुरीले भने,‘नयाँ सोच र ढंगका साथ हामी नयाँ शैक्षिक कार्यक्रम लिएर अघि बढिरहेका छौं।’

तीन बिघा जग्गामा गुणस्तरीय स्पोर्टस भिलेज बनाउन पूर्वाधार निर्माण भइरहेको छ। भलिबल, स्विमिङ पोखरी, ब्याडमिन्टन, फुटबल, बास्केटबल कोर्ट निर्माणको काम गरिरहेको बताउँदै पुरीले त्यहाँ ब्चालर र मास्टर्स कक्षा सञ्चालन गरिने जानकारी दिए।
एसएलसी दिएर जाने र ड्रप आउट भएर जाने विद्यार्थी परिपूर्ति गराउन विद्यालयले नयाँ विद्यार्थी भर्नाको तयारी गरेको छ। विद्यालयले कक्षा ९ मा भर्ना नलिने तर कक्षा ८ सम्म भने लिने व्यवस्था गरेको जनाइएको छ। शिक्षण विधि र विद्यार्थी केन्द्रित मूल्यांकन विधि अपनाएकाले एभरेस्टमा विद्यार्थीको चाप रहेको पुरीले दाबी गरे।

एभरेस्टमा हरेक वर्ष विदेशबाट आउने स्वयंसेवक शिक्षकले उताको अनुभव आदानप्रदान गर्ने गरेका छन। यो वर्ष अस्ट्रेलियाबाट स्वयंसेवक आउने विद्यालयले जनाएको छ। एभरेस्टमा दुई हजार विद्यार्थी पढ्छन्।

एसएलसीमा राष्ट्रियस्तरमै उत्कृष्ट नतिजा ल्याएर सधैं चर्चामा रहने गरेको विराटनगरको बाल कल्याण विद्या मन्दिर (विकेभीएम) क्षेत्रीय रूपमा पनि निकै कहलिएको विद्यालय हो। नर्सरी र तल्लो कक्षाहरूमा विद्यार्थी भर्नाको दर अधिक हुने गरेको बीकेभीएममा सिरह र सप्तरीबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउँछन्।

तीन हजार विद्यार्थी पढ्ने यो विद्यालय शैक्षिक आकर्षणको केन्द्र मानिन्छ। बीकेभीएमका सञ्चालक रविन दाहाल भन्छन्, ‘शैक्षिक गुणस्तरलाई कायम गर्न सकेकोले नै हामीले विद्यालयलाई राष्ट्रियस्तरमै चिनाउन सफल बनेका हौं।’

विराटनगर- ४ मा अवस्थित इडेन नेसनल स्कुलले स्थापनाको २५ औं वर्ष निकै धुमधामसाथ मनाएको छ। विराटनगरको उत्तरी क्षेत्रलाई समेटेको यो विद्यालयको पछिल्लो विद्यार्थी भर्नादर निकै बढेको छ। प्रिन्सिपल सीएम बस्नेतले भने, ‘कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई परीक्षामा सामेल गराउने र उत्कृष्टलाई निःशुल्क पढाउने व्यवस्थासमेत गरिएको छ।’ उत्कृष्ट विद्यार्थीलाई ‘सिल्भर जुब्ली एम्बेसडर’ घोषणा गरेर सुविधा दिइएको छ। विद्यालयले भौतिक पूर्वाधार र पढाइको गुणस्तरमा निकै ध्यान दिएको जनाएको छ।

निजी विद्यालयसँगै सामुदायिक विद्यालयले विराटनगरमा छुट्टै पहिचान बनाउन सफल बनेका छन्। सामुदायिकमा सुरु भएको अंग्रेजी माध्यमको पठनपाठनका कारण ती विद्यालयले निजीजत्तिकै शैक्षिक गुणस्तर र नतिजा हासिल गर्न सकेका हुन्।

विराटनगरका सामुदायिक विद्यालयहरू आदर्श, पोखरिया र सत्यनारायणले विद्यार्थी भर्ना गराउँदा निजी विद्यालयकै जस्तो प्रवेश परीक्षा लिने गरेका छन्। विराटनगरको सगरमाथा स्कुल पनि गनिएको विद्यालयमा पर्छ। बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अपनाउँदै अभिभावकसँगको परामर्शलाई जोड दिँदै आएको विद्यालयले पनि नयाँ भर्नाबारे तयारी सुरु गरेको छ। विराटनगरमा बुढानिलकण्ठ, सेन्ट जोसेफ, सेन्टमेरिज, दिल्ली पब्लिक, डीएभीजस्ता धेरै विद्यालयले शैक्षिक गुणस्तरमा निकै फड्को मारिसकेका छन्। अन्नपूर्ण पोस्टबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर