खबर पूर्वाञ्चल
दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्।
अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ।
पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी बताउँछन्।
मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बिमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए।
त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बिमा रकम ताकिएको थियो। यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर (एक करोड ४५ लाख रुपैयाँ) पाउँछन्। असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन।
सरकारी निर्णय र नेपाल सरकार मातहतमा अदालतबाट बिमा दाबी गर्दा पीडितले उचित बिमा नपाउने अधिकारी ठोकुवा गर्छन्। ‘नेपाली कानुनलाई पछ्याएर क्षतिपूर्ति तथा बिमा दाबी गरे वार्सा कन्भेन्सनअनुसार पीडितले २० हजार डलर मात्रै पाउने भुक्तानी हुन्छ,’ अधिकारीले बुधबार भने, ‘तर वार्सा कन्भेन्सनकै आधारमा पनि पीडितले असीमित दायित्वअन्तर्गत बिमा भुक्तानी पाएका अन्तर्राष्ट्रिय नजिर छन्।’ यही नजिर यूएस बंगलामा पनि लागू हुने अधिकारीले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ ।