RUMPUM
animated ellipse animated ellipse

मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप विराटनगर हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७४, आईतवार १७:१६
27
Shares
विराटनगर, ४ चैत / मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) समयमा फुटबलको आयोजना हुने भएको छ ।

विराट गोल्डकप फुटबल पाँचौं संस्करणको प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा हुने भएको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारैमा जानकारी गराएको छ । गोल्ड कप चैत १७ देखि २६ गते सम्म विराटगरको शहिद मैदानमा हुने भएको छ । यस अघि सस्करण दिवाकालीन समयमा मात्रै हुँदै आएको थियो ।

गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाउने जमर्को गरिएको जानकारी दिए । ‘यस पटक भिन्न तरिकाबाट रात्रिकालीन खेल खेलाउन लागिएको हो,’ उनले भने, ‘त्यसका लागि प्रतियोगिता आयोजना स्थल सहिद रंगशाला वरपर ६ वटा बत्ती जडान गर्दै पर्याप्त मात्रमा लाइटको व्यवस्था गरिने भएको छ ।’ प्रतियोगिता उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ ।

दिवाकालीन समयमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगतलाई हेरेर दर्शक आकर्षित गर्न आयोजकले यस वर्ष नयाँ उपाय अपनाएको हो । ‘विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजना गर्नेे जमर्को गरिएको हो,’ अध्यक्ष रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’

विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष भने प्रतियोगिता हुन सकेन । यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको छ । गोल्डकपलाई भव्य र सभ्य बनाउन भन्दै विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी रिजालले दिए ।

भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने अध्यक्ष रिजालले बताए । २०७२ सालको प्रतियोगिताको उपाधि भने नेपाल पुलिसको जितेको थियो ।

यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको जानकारी रिजालले दिए । आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा सञ्चालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर