RUMPUM
animated ellipse animated ellipse

विद्यालयको व्यापारमा रोक लगाउँँछु- मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ चैत्र २०७४, शनिबार ०५:१३
3
Shares
जीवन घिमिरे
विराटनगर, ३ चैत / प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी विद्यालयहरुले गरिरहेको व्यापारमाथि रोक लगाउने बताए ।

निजी विद्यालयहरुले विद्यार्थीलाई जबरजस्ती टाइ, जुत्ता, पुस्तक, कापी र पोसाकसमेत बेच्ने गरेको गुनासो आएको भन्दै मन्त्री घिमिरेले अब त्यसमा रोक लगाउने बताएका हुन् ।

‘संस्थागत विद्यालयहरुले बढि मूल्य लिएर विद्यार्थीलाई पुस्तक, कापी, टाई, जुत्ता र पोसाक बेच्ने गरेको गुनासो आएको छ’ मन्त्री घिमिरेले भन्नुभयो, ‘विद्यालयभित्रबाट हुने यस्तो व्यापारलाई अब कडाईका साथ नियन्त्रण गरिन्छ ।’ विद्यालयले विद्यार्थीलाई पढाउन ध्यान दिनुपर्ने भन्दै उनले व्यापार गर्न नपाइने बताए।

हरेक शैक्षिक सत्रमा नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक लागू गर्ने निजी विद्यालयको नीतिमाथि पनि रोक लगाउने मन्त्री घिमिरेले बताए । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आयोजनामा शुक्रबार विराटनगरमा भएको छलफलमा मन्त्री घिमिरेले हरेक शैक्षिक सत्रमा नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक लागू गर्दा अभिभाबकलाई भार परेको भन्दै त्यसमा कडाई गर्ने बताए ।

मन्त्री घिमिरेले सबै बिद्यालयले कम्तिमा २ वर्ष एउटै प्रकाशन गृहको पुस्तक प्रयोग गर्नुपर्ने बताए । त्यसो गर्दा विद्यार्थीलाई अध्ययनमा पनि सहज हुने र अभिभाबकको आर्थिक भार पनि कम हुने उनको भनाइ छ ।

निजी विद्यालयहरुले कमिसनको लोभमा हरेक वर्ष नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक प्रयोगमा ल्याउने गरेका छन् । पुस्तक प्रकाशनको अधिकार पाएका प्रकाशन गृहहरुले आफ्ना पुस्तक प्रयोग गरेमा कमिसन दिने भएकोले निजी विद्यालयले बढि कमिसनको लोभमा हरेक वर्ष नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक विद्यार्थीमाथि थोपार्ने गरेका छन् । जसले गर्दा अघिल्लो वर्षको पुस्तक अर्को वर्ष कामै नलाग्ने हुने भएकोले कक्षा दोहो¥याउने विद्यार्थीहरु पनि मारमा पर्ने गरेका छन् ।

मन्त्री घिमिरेले विगत वर्षमा जस्तो नयाँ शैक्षिक शत्र सुरु भएको महिनौंसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुग्ने अवस्थाको पनि अन्त्य गर्ने बताए । संस्थागत विद्यालयहरुले समयमै बुक लिष्ट तयार नगर्दा समस्या आउने भन्दै उनले शैक्षिक सत्र सुरु हुनु एक महिना अगावै बुक लिष्ट सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिने बताए ।

कार्यक्रममा मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले पुस्तक छाप्दा प्रकाशन गृहले गुणस्तरमा पनि ख्याल गर्नुपर्ने बताए । छलफलमा पुस्तक व्यवसायी, प्याब्सनका प्रतिनिधि र अभिभावकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर