खबर पूर्वाञ्चल
बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जेल सजाय सुनाइएकी गुरुङले चिठीपत्रमा भएको हेलचेक्राइँ र ढिलाइका कारण तोकिएभन्दा दोब्बर समय जेलमा बिताउनुपरेको हो। पीडितले क्षतिपूर्ति रकमका लागि दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आइतबार गुरुङलाई बढी जेल समयको क्षतिपूर्ति भराउन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागका नाममा परमादेश जारी गरेको छ।
गुरुङलाई अदालती फैसलाभन्दा ५ वर्ष ६ महिना १० दिन बढी समय जेलमा राखिएको थियो। थुनावापतको क्षतिपूर्ति भराएर मौलिक हक र मानवअधिकार कार्यान्वयन गर्न माग गर्दै उनी सर्वोच्च पुगेकी हुन्। गुरुङले गरिब र निरक्षर रहेका कारण माइतीमै बसेर ज्याला मजदुरी गर्नेक्रममा बलात्कृत भएर गर्भाधान गरेको र त्यसबाट जन्मेको नवजात शिशुलाई लोकलाज र गरिबीका कारण हत्या गर्न विवश भएको याचना सर्वोच्चसँग गरेकी थिइन्।
माइतीमै बारीमा काम गरी घर फर्किंदा बाटोको जंगलमा आफूमाथि जबर्जस्तीकरणी (बलात्कार) भएको र त्यही कारण गर्भवती भई जन्मेकी छोरीको हत्या गरेको स्वीकारोक्ति उनको थियो। पालनपोषणको समस्या र लोकलाजका कारण २०४८ साल मंसिर २४ गते शिशुको हत्या गरेको भनाइ उनको छ। अन्नपुर्ण पोष्टमा यो खबर छ ।