पूर्वाञ्चल खबर
पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाई पक्राउ गरेको विरोधमा विप्लब माओवादीले बन्द आव्हान गरेको हो ।
बन्द गराउँदै हिंड्ने क्रममा मोरङबाट आफ्ना ६ जना नेता मंगलबार पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टीका मोरङ इन्चार्ज पुष्कर श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा पार्टीको मोरङ जिल्ला सेक्रेटरी उदय राई, दलित राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव जितेन्द्र महरा, बेलबारी गाउँपालिकाका सेक्रेटरी बालकुमार श्रेष्ठ र केराबारी गाउँपालिकाका सेक्रेटकरी गोपाल बस्नेत पक्राउ परेको उनले जानकारी दिए । त्यस्तै अखिल नेपाल क्रान्तिकारी महासंघ ट्रेड युनियनका केन्द्रीय सदस्य हरी खड्का र सागर रायलाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए ।

आइतबार विराटनगरमा आयोजित जनस्वयंसेवक संघको राष्ट्रिय भेलामा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा विप्लब समूहले नेपाल बन्द आह्वान गरेको हो । प्रहरीले आइतबार विप्लब समुहका २ सय ९३ जना नेता कार्यकर्ता पक्राउ गरेको थियो । अन्यलाई सोही दिन रिहा गरेको भएपनि पार्टीका नेताहरु ओली, राई र खतिवडालाई भने अझै हिरासतमै राखिरहेको छ । उनीहरुका विरुद्धमा प्रहरीले फौजदारी अभियोगमा मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।
बन्दको असर विराटगरमा भने परेको छैन । शैक्षिक संस्था भने जिल्ला भरका बन्द छन् । जिल्लाको पूर्वीक्षेत्र बन्दले बढी प्रभावित छ ।