खबर पूर्वाञ्चल
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रमुख डा.सुब्बाले अहिले तोकिएको राजधानी अस्थायी मात्रै भएकाले आत्तिएर बन्द हड्ताल गर्नु उचित नहुने बताए । संविधान अनुसार प्रदेशसभाले नै राजधानी तोक्ने हुनाले धैर्यधारण गरेर शान्तीपुर्ण तरिकाले आफ्ना माग राख्न उनले आन्दोलनरत पक्षलाई आग्रह छ । ‘स्वभाविक हो हरेक जिल्लाका नागरिकले राजधानी आफ्नो जिल्लामा होस भन्ने चाहन्छन्’, उनले भने, ‘तर आफ्नो माग पुरा गराउन गैर कानुनी हिसाबले बन्द हड्ताल गर्नु लोकतान्त्रिक मूल्य मान्यताको विपरीत हो ।’
संविधान र नियम कानुन बनिसकेको अवस्थामा प्रदेश सरकार निर्माण र संचालनका लागि कुनै समस्या नआउने उनको भनाई छ , । मुलुकले क्रमिक रूपमा फड्को मारिरहेको बताउँदै उनले अब शान्ति कायम हुने र स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
जिम्मेवारीले गम्भिर बनाएको छ
प्रदेश प्रमुख सुब्बाले सरकारले जिम्मेवारी दिएसँगै आफू गम्भिर भएको बताएका छन् । ‘जुनसुकै जिम्मेवारी प्राप्त गर्दा त्यसले जिम्मेवार त बनाउँछ नै,’ सुब्बाले भने, ‘म पहिले प्राध्यापन पेशमा छँदा पनि गम्भिर थिएँ, र अहिलेको जिम्मेवारीले पनि मलाई सिरियस बनाएको छ ।’
प्रदेश प्रमुखलाई स्वागत गर्नेको लर्को
प्रदेश प्रमुखमा नियुक्ति भएपछि राजधानी काठमाडौंमा राष्ट्रपतिबाट सपथ ग्रहण गरेर शनिबार विराटनगर एयरपोर्ट आइपुग्दा सुब्बालाई स्वागत गर्नेको लर्को लागेको थियो ।
सुब्बालाई नेपाल सेना तथा प्रहरीको कडा सुरक्षाकाबीच निज निवास सुनसरी मोरङ सिंचाई आयोजनाको भवन भएको ठाउँ विराटनगर–१६ पुर्याइएको छ । सुब्बालाई स्वागत गर्न १ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी पशुपति उपाध्याय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतका सरकारी अधिकारी उपस्थित थिए । यसका साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको पनि विराटनगर विमानस्थलमा भीड लागेको थियो ।
यो खबर आजको जनविद्रोह दैनिकमा छ ।