पूर्वाञ्चल खबर
यसैगरी सधैं सुटिङमा व्यस्त रहने अनि टेलिभिजनको पर्दामार्फत दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाउने कलाकारले क्रिकेटको ब्याट नचाएको र बल हुइँक्याएको दृश्य पनि कम्ता रोचक थिएन, त्रिवि क्रिकेट मैदानमा। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शुक्रबार राजधानीमा सुरु भएको क्रिकेट कार्निभलमा फरक क्षेत्रका व्यक्तित्वहरू केही समय भए पनि क्रिकेटमा रमाए ।
कार्निभलअन्तर्गत कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको प्रदर्शनी खेल आयोजना गरिएको थियो।
कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको दुई टोली बनाइएको थियो। प्रदर्शनी खेलमा नीलो टोलीले रातो टोलीलाई ५० रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको नीलो टोलीले निर्धारित १० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय १५ रन बनायो। नीलो टोलीका लागि पूर्वगृहमन्त्री जनार्दन शर्माले सर्वाधिक ३० रनको योगदान गरे। यस अर्थमा राजनीतिका यी चतुर खेलाडीले क्रिकेटमा पनि आफूलाई सफल साबित गरे।
अलराउन्डको भूमिका निर्वाह गरेका शर्माले पहिले बलिङ गर्दै रातो टोलीको पालिलाई ध्वस्त बनाएका थिए। उनले पहिलो ओभरमा नायक रमेश उप्रेती र गजित विष्टलाई पेभेलिन फर्काए। जवाफी ब्याटिङ गरेको रातो टोलीले १० ओभरमा पाँच विकेट गुमाएर ६५ रनमात्र बनाउन सक्यो। खेलपछि नेता शर्माले राजनीतिज्ञले सधैंजसो नियम मिचिरहने भए पनि आफूले क्रिकेटको नियम थाहा नपाउँदा आउट हुन परेको प्रतिक्रिया दिए।
‘नेपालका राजनीतिज्ञले सधैं नियम मिचिरहेका हुन्छन्। मचाहिँ क्रिकेटको नियम थाहा नपाएर आउट भएँ’, शर्माले भने। उनी नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेको बलमा स्टम्पिङ भएर पेभेलियन फर्किएका थिए। पहिलोपटक क्रिकेट मैदानमा उत्रिएका शर्माले केही समय अभ्यास गरेमा आफू खेलाडी बन्नसक्ने पनि बताउन भ्याए। आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।