पूर्वाञ्चल खबर
गत साउनमा गएको बाढीले बस्ने घर, लत्ताकपडा र खाद्यन्न बगाएपछि शिसबनी र खाप टोलमा रहेको मुसहर समुदायको बिचल्ली भएको थियो ।
त्यो बेला कैयौ हप्ता भोकभोकै एउटै पालमुनी खाँदिएर बस्नुपर्दा खासगरी यहाँका महिला, बालिका तथा किशोरीहरुले धेरै असुरक्षा भोगे । बाढीले लत्ता कपडा सबै बगाएपछि भिजेको एक जोर लुगामा नजिकैको नहरको डिलमा बस्नुपर्दा आफूहरुले निक्कै असुरक्षाको महसुस गरेको सुनिताकुमारी ऋषिदेव बताउँछिन् ।
बाढीले शौचालय बगाएपछि खुल्ला ठाउँमा जानुपर्दा धेरै कष्ट व्यहोर्नु परेको राधा ऋषिदेव बताउँछिन् । ठूलो परिवार एउटै पालमुनि सबै जना एकै ठाउँमा सुत्नु पर्दा धेरै असजिलो भएको उनी बताउँछिन् ।
अझै आफूहरु अस्थायी घरमै असुरक्षित बसोवास गरिरहेको उनको गुनासो छ ।
खापटोल र सिसवनी टोलका बाढी प्रभावित क्षेत्र अहिले पनि अस्तव्यस्त छ । गत साउन २७ गते राति आएको बाढीपछि यो क्षेत्रका सर्वसाधारणको अवस्था पुरानो स्थितिमा फर्किन सकेको छैन । अझै उनीहरु धेरैजना पालमै असुरक्षित बसोवास गर्न बाध्य छन् । नारी विकास र एक्सन एडको सहयोगमा यहाँ निर्माण भएको सामुदायिक भवनमा हिजोआज उनीहरु दिनहुँ दिउँसो जम्मा हुन्छन् र आपसी समस्यामा छलफल गर्दै समाधानका उपाय खोज्छन् । जसले गर्दा आफूहरुले धेरै कुरा सिक्ने मौका पाएको सुनिता बताउँछिन् ।
गाउँमा होहल्ला गर्ने र केटीहरुमाथि आँखा लगाउनेहरुलाई कसरी सजाय दिने, अनि रजस्वलाको समयमा किशोरीहरु कसरी सुरक्षित बन्ने, गाउँको सरसफाईमा ध्यान कसरी दिने र गर्भवती र प्रसूति महिलाहरुको सुरक्षा जोखिम कसरी कम गर्ने भन्ने उनीहरुको छलफलको विषय हुने गरेको छ । समूहमा छलफल गर्न थालेपछि यहाँका किशोरी तथा महिलाहरुको चेतना बढेको उनीहरु बताउँछन् । दैनिक जनमजदुरी गरेर गुजारा चलाउने उनीहरुलाई सुरक्षित बसोबासको भने अझै अभाव नै छ ।