पूर्वाञ्चल खबर
सुनसरीको दुहबीमा आज सम्पन्न भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधीसँगै मनाङले ४ लाख नगदका साथ ट्रफि हात पारेको छ ।
मनाङले गत वर्ष पहिलो संस्करणमा आर्मीसंग ब्यहोरेको हारको बदलासमेत लिएको छ । गत वर्ष मनाङलाई सडन डेथमा १–० ले पराजित गर्दै आर्मीले उपाधी जितेको थियो ।
स्थानीय दुहबी रंगशालामा सम्पन्न फाइनल खेलमा मनाङलाई उपाधी दिलाउन विशाल राई र विमल राणाले गोल गरे । आर्मीका लागि एकमात्र गोल नवयुग श्रेष्ठले गरे । खेलको १७ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट बित्न नपाउदै मनाङका विशाल राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको १४ औं मिनेटमा मनाङका विमल राणाको प्रहारले जाली चुमेपछि मनाङको जित निश्चित भएको हो । दोस्रो हाफमा आर्मीले केही गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा उपबिजेतामै चित्त बुझाइ २ लाख रुपैयाँमा हात पारेको छ ।
गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठ घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । मनाङका विशाल राई फाइनल खेलको म्यान अफ द फाइनल घोषित भए भने सर्वाधिक गोलकर्ता भने आर्मीका नवयुग श्रेष्ठ भए । उनीहरुले जनही १० हजार रुपैयाँ पाए । मंसिर २३ गतेदखि सुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजनका ८ टिमको सहभागिता रहेको थियो ।