खबर पूर्वाञ्चल
चुनावी मिति नजिकिँदै गर्दा दुवै उम्मेदवारको दौडधूप चलिरहेको छ। आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का कान्छा ज्वाइँ (छोरी ज्वाइँ) पनि हुन्। उनको चर्चा यसै पनि भइरहेको छ भने अर्का उम्मेदवार चुमनारायण तबदार त्यस क्षेत्रको परिचित नाम हो। आचार्य पनि स्थानीय हुन्।
क्षेत्र नम्बर ६ को १ मा विवेकशील साझा पार्टीबाट युवा कृषक सरोज नेपाल र संघीय समाजवादीबाट थारू नेत्री मीरा भगत पनि चुनावी प्रतिस्पर्धामा छिन्। तर, उनीहरू उति प्रभावशाली देखिएका छैनन्। मीरा विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा थिइन्। तर, गच्छदार कांग्रेसमा एक्लै हतारमा प्रवेश गरेर पार्टी विलय गराएपछि भगतले समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी हुन्।
स्थानीयस्तरमा भगत पनि परिचित र सकारात्मक छवि बनाएकी महिला नेत्री हुन्। भगत थारु समुदायको स्थानीय उम्मेदवार भएको र कानुन व्यवसायीसमेत भएकोले चुमनारायण तबदारका लागि केही असहज बन्ने आँकलन पनि गरिएको छ।
को हुन् जीवन आचार्य?

द्वन्द्वकालमा ०५८ देखि माओवादी पार्टीमा संगठित भएका उनले पारिवारिक अवस्थाले गर्दा कम्युटर व्यवसाय थालेका थिए। विराटनगरमा कम्युटर व्यवसाय गर्दै गर्दा उनी चीनबाट कम्युटर आयात गर्ने सफल व्यवसायी बनेका थिए। पछि उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी कान्छी पुत्रीसँग विवाह भएको थियो।
पूर्व सांसद अमनलाल मोदी र आचार्य सँगसँगै विद्यालय र कलेज पढेका हुन्। आचार्यलाई यहाँ धेरैले प्रचण्डको ज्वाइँभन्दा पनि भिजन सहितको उम्मेदवारको रुपमा लिन थालेका छन्। आचार्यले विराटनगर विमानस्थलको स्तरोन्नतिमा जोड दिएका छन्।
औद्योगिक क्षेत्रको संरक्षण, जोगबनी किमाथांका सडक सञ्चालन, गछिया, पुष्पलालचोक सडक स्तरोन्नति, कृषि कलेज स्थापना, हसिना सिमसार क्षेत्र संरक्षण, दलित र गरिब विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा, आदिवासीको संग्राहलय स्थापना, युवा, महिला र बेरोजगारलाई उद्यमशीलता तालिम, आय आर्जनका कार्यक्रम सञ्चालन, अस्पतालको स्थापना, दिगो तटबन्ध निर्माण, र युवालाई प्रविधिमैत्री बनाउने आफ्ना एजेन्डा रहेको आचार्यले बताएका छन्।
को हुन् चुमनारायण?
चुमनारायण तबदार विराटनगर–४ कञ्चनबारी निवासी हुन्। पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रहेका उनी विजय गच्छदारसँगै फोरम लोकतान्त्रिकमा गएका थिए। गच्छदार पुनः कांग्रेसमा फर्किएपछि उनी पनि कांग्रेसमै फर्किएका हुन्। स्थानीय जमिन्दार तबदार ०५६ को स्थानीय निर्वाचनमा विराटनगर ५ को वडा अध्यक्ष बनेका थिए। उनी दोस्रो संविधानसभाको पुनः निर्वाचनमा तत्कालको मोरङ ७ नम्बर क्षेत्रमा कांग्रेसका शेखर कोइरालासँग पराजित भएका थिए।
मोरङ ६ (१) मा विराटनगर महानगरपालिकाको ४ नम्बर वडासहित बूढीगंगा गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा पर्दछन्। बूढीगंगा गाउँपालिका र विराटनगर–४ मा थारु समुदायको बाहुल्यता छ।
बुढीगंगा गाउँपालिकामा २५ हजार ९ सय ७० मतदाता छन्। यसैगरी, विराटनगर ४ मा ९ हजार ७ सय ७८ र सुन्दरहरैचा नगरपालिकाको २ मा ४ हजार ८ सय ८१, ३ मा ४ हजार ९ सय १९, ४ नम्बरमा ५ हजार ३९, ५ नम्बरमा ६ हजार ६, ६ नम्बरमा ५ हजार ९ सय ६१ र ७ नम्बर वडामा ५ हजार ७ सय ११ मतदाता छन्।
मोरङ ६ को प्रतिनिधिसभामा भने पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित तथा नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ।