खबर पूर्वाञ्चल
आचारसंहितमा उल्लंघनको घटना बढेपछि बुधबार बसेको सर्वपक्षीय बैठकले आचारसंहिता उल्लंघनमा कडाई गर्दै दोषीलाई कार्वाही गर्ने निर्णय गरेको हो ।
मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा बसेको बैठकले आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा टाँगिएका तुल, ठूला ब्यानर तथा प्रचार सामाग्री हटाउन पनि २४ घण्टे अल्टिमेटम दिएको छ । मुख्य निर्वाचन अधिकृत खतिवडाले आचारसंहिता कार्यान्वयन गराउनको लागि कसैले दवाब दिनु पर्ने अवस्था आउन नहुने बताए ।
यसैगरी सञ्चार माध्यमले पनि आचारसंहिता विपरित गतिबिधि गरेको भन्दै बैठकले आचारसंहिता उल्लंघन गरे कार्बाही गर्ने चेतावनी दिएको हो । बाम गठबन्धनले विराटनगरबाट प्रशारण हुने मकालु टेलिभिजनले आचारसंहिता विपरित काँग्रेस उम्मेदवारसँग मोटो रकम लिएर एकतर्फी समाचार प्रशारण गरेको आरोप लगाएको थियो । आचारसंहिता अुनसार टेलिभिजनले एक दिनमा ४ पटक एक मिनेटको दरले मात्र विज्ञापन बजाउन पाउने आचारसंहिता भएपनि एक उम्मेदवारको १५ मिनेटसम्म गुणगान गाउने गरेको विषय उठेपछि यस्तो निर्णय भएको हो ।
बैठकमा दल र उम्मेदवारले निर्वाचनको प्रचारमा प्रयोग गरेका गाडीको विवरण नबुझाएको खुलेपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विनापास प्रयोगमा रहेका गाडी रोख्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । चुनाव प्रचारका लागि निर्वाचन अधिकृतको कार्यालयहरुबाट गाडीको पास लिनु पर्ने प्राबधान छ । तर, उम्मेदवार र दलहरु कसैले पनि पास नलिएको पाइएको छ ।
नेकपा एमालेका अध्यक्ष बिनोद ढकालले नेपाली कांग्रेसले क्षेत्र नं. ३ र २ मा व्यापाक आचारसंहिता उल्लंघन गरेको आरोप लगाए । उनले चुनावको मुखमा विजुलीका पोल र पैसा बाँड्ने तथा बाटोमा ढुंगागिटी झार्ने काम भएको भन्दे आपत्ती जनाएपछि बैठकले चुनावलाई प्रभावित गर्नेगरी कुनैपनि निर्माण सामाग्री वितरण गर्न रोक लगाउने र गरेमा कार्वाही गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेपाली काँग्रेसका सचिब नागेश कोइरालाले भने केही गल्ती कमि कमजोरी भएको स्वीकार गर्दै अब कार्यकर्तालाई त्यसो नगर्न निर्देशन दिने प्रतिबद्धता जनाए ।
दलहरुले बैठक तथा छलफलमा निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएपनि आचारसंहिताको ब्यापक उल्लंघन हुँदै आएको छ । चुनावको मुखमा बिजुलीका पोल लैजान, स्वास्थ्य शिविर चलाउने र आथिर्क प्रलोभन दिने कामहरु खुलेआम भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले भने आचारसंहिताको उल्लंघन गर्नेहरुमाथि आयोग चुप लागेर नबस्ने र तत्काल कारबाहीमा जाने चेतावनी दिए ।