animated ellipse animated ellipse

मेडिकल माफिया सुनील शर्माको चुनावी गतिविधि,मतदाता प्रभावित पार्दै चुनाव क्षेत्रभरि निःशुल्क उपचार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७४, शनिबार १९:५१
9
Shares
फाइल तस्वीर
विराटनगर, २५ कार्तिक/ मोरङ क्षेत्र नम्बर ३ को सुन्दर हरैंचा वडा नम्बर ९ मा कात्तिक २० गते नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल विराटनगरले निःशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो । चिकित्सक र नर्सको टिम लिएर शिविरको नेतृत्व गर्दै नोबेल अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहाल आफैं गाउँ पुगेका थिए ।

नोबेलका सञ्चालक सुनिल शर्माले राजीनामा दिए पछी पत्रिकामा नोबेल कलेजको विज्ञापनमा शर्माको फोटो सहितको विज्ञापन

शिविरमा आएका स्थानीयलाई स्वास्थ्य समस्या अनुसार औषधि दिइयो । शिविरमा गर्न नसकिने उपचारका निम्ति नोबेल अस्पताल आउन भनिएको थियो । त्यहाँ जँचाएर नोबेल पुग्नेहरूलाई निःशुल्क उपचारको आश्वासन दिइएको थियो ।

सुन्दर हरैंचाकै वडा नम्बर १० मा कात्तिक १९ गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो । त्यस शिविरमा पनि दाहाल पुगेका थिए ।

पेट दुख्ने समस्या भएकी सुन्दर हरैंचा त्रिवेणी चोककी मंगला विश्वकर्मालाई शिविरले निकै गुन लगाएको महसुस भएको रहेछ । गाउँमै पुगेको स्वास्थ्यकर्मीको टिमले अस्पताल जान सल्लाह दियो र उनी नोबेल पुगिन्, निःशुल्क स्वास्थ्यलाभ लिइन् । आर्थिक समस्या दर्शाउँदै नोबेल सञ्चालक सुनील शर्मालाई भेटिन् ।

‘खाना आएको बाहेक पैसा तिर्न परेको छैन,’ उनले भनिन्, ‘हामीजस्तो गरिबलाई निःशुल्क उपचार गरेर नोबेलले ठूलो गुन लगायो ।’

पथरी शनिश्चरे–४ कीर्तिपुरकी ५० वर्षीया मनमाया थापामगरले कात्तिक ८ गते गाउँमा आयोजना भएको शिविरमा जँचाइन् । पाठेघर झर्ने समस्याबाट पीडित उनको नोबेलले निःशुल्क अप्रेसन गरिदियो ।

नोबेलको निःशुल्क उपचार पाएका यी प्रतिनिधिमुलक मतदाता हुन् । हिजोआज मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा निःशुल्क शिविर आयोजना हरेक दिन भइरहेका छन् र प्रत्येक दिन कम्तीमा दुई बस बिरामी नोबेल अस्पताल ओसारिने गरेका छन् ।

नोबेल अस्पतालको चिकित्सक टोली र बस गाउँमै पुगेर बिरामी ओसार्ने गरेको छ । अस्पताल ल्याएर निःशुल्क उपचारपछि घर पठाइदिने गरेको छ । प्रतिनिधिसभा दोस्रो चरण निर्वाचनमा क्षेत्र नम्बर ३ को प्रत्यक्ष उम्मेदवारी टुंगो लागेपछि त झन् निःशुल्क शिविर आयोजनालाई व्यापक बनाइएको छ ।

नोबेलमा जाँदा पहिले–पहिले सरकारले नै सुविधा दिएको १० प्रतिशत निःशुल्क उपचार सेवाको लाभ लिन नसकेका नागरिक हिजोआज उसैले निःशुल्क उपचार गरिदिँदा दंग छन् । एकप्रकारले उनीहरूले स्वास्थ्य लाभ पनि लिइरहेका छन् ।

तर, निःशुल्क शिविरपछि उपचारको वातावरण तयार भएको भने प्रतिनिधिसभा निर्वाचनले हो । नोबेल सञ्चालक सुनील शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेपछि मतदाताहरूले स्वास्थ्य सेवा निःशुल्क पाउन थालेका हुन् ।

नोबेलमै कार्यरत तथा हाल शर्माको चुनावी अभियानका सहयोगी चन्द्र पराजुलीका अनुसार हिजोआज टोलटोलमै स्वास्थ्य शिविर आयोजना हुन्छन् । तर, शिविर क्षेत्र नम्बर ३ का लागि मात्रै हो । ‘धेरै ठाउँ भइरहने गरेकाले कहाँ कति शिविर ठ्याक्कै त बताउन सकिएन,’ पराजुलीले भने, ‘तर, शिविरमा सयौंको निःशुल्क उपचार भइसकेको छ, शिविरमा जँचाइएका बिरामीलाई अस्पताल लगेर उपचार गरिदिने वातावरण बनाएका छौं ।’

उनका अनुसार रोगको प्रकृति हेरेर उपचार गरिन्छ । अस्पतालै पुग्नुपर्ने, अप्रेसन गर्नुपर्ने भए त्यो सेवाका निम्ति पनि अस्पताल तयार छ । ‘जनताले निःशुल्क स्वास्थ्य सेवा पाउन् भनेर नोबेलले यस्तो कार्यक्रम चलाएको हो,’ उनी भन्छन्, ‘क्षेत्र नम्बर ३ का जनताले उपचारबापत नोबेलमा पैसा तिर्नु पर्दैन ।’

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निःशुल्क उपचारले सर्वसाधारणलाई राहत पुगे पनि नोबेलको उद्देश्य मतदाता प्रभावमा पार्नेतर्फ केन्द्रीत देखिन्छ । ‘अस्पतालजस्तो ठाउँलाई भोट माग्ने थलो बनाउनु भएन, यो आचारसंहिताभित्र पर्दैन,’ एमाले–माओवादीको संयुक्त बाम गठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवार भानुभक्त ढकाल भन्छन्, ‘हामीले सम्बन्धित निकायलाई सचेत गराइसकेका छौं ।’

क्षेत्र नम्बर ३ मा सुन्दर हरैंचाका १,८,९,१०,११, १२ वडा, बेलबारी नगरपालिका, पथरी नगरपालिका र कानेपोखरी गाउँपालिका पर्छन् । यहाँका टोल–टोलमा स्वास्थ्य शिविर आयोजना भइरहेका छन् ।

निर्वाचन आचारसंहिताले मतदातालाई प्रलोभनमा पार्ने कुनै पनि गतिविधि गर्न उम्मेदवारलाई बन्देज लगाएको छ । अस्पतालकै प्रमुख उम्मेदवार बन्नु र उम्मेदवार भएको क्षेत्रभरिका मतदाता लक्षित निःशुल्क स्वास्थ्य गतिविधि चलाइनुले निर्वाचन आचारसंहिता उल्लंघन भएको छ ।

निर्वाचन आयोगकै सहमति

नोबेल मेडिकल कलेजलाई स्वास्थ्य उपचार गतिविधि गराउन निर्वाचन आयोगले नै सहमति दिएको हो । सञ्चालक शर्मा प्रतिनिधिसभा निर्वाचनमा उठ्ने हल्ला चलिरहेकै बखत नोबेलले स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोगको सहमति लिएर शिविर चलाउन थालेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोगको अनुमति लिएर नोबेल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न थालेको थियो । नोबेलकै सञ्चालक शर्मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि आयोगमा उजुरी प¥यो र स्वस्थ निर्वाचनमा बाधा पर्ने भन्दै निर्वाचन आयोगले अनुमति रद्द गर्ने निर्णय गरेको छ ।

सिडिओ आचार्यका अनुसार नोबेल अस्पतालका प्रमुख निर्वाचनमा उम्मेदवार भएको हुनाले त्यही अस्पतालले गरिरहेको निःशुल्क स्वास्थ्य सेवा गतिविधि रद्द गरिएको निर्णयको बोदार्थ आइसकेको छ ।
आयोग आफैंले पहिल्यै अनुमति दिइसकेकोले स्वास्थ्य गतिविधि रोकिनेमा सन्देह उत्पन्न भएको छ । १८ गतेको उक्त निर्णयबारे जानकारी पाइसकेपछि पनि नोबेल अस्पतालले शिविर चलाउन छोडेको छैन । निर्वाचन आयोगले गरेको उक्त निर्णय क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले नोबेल अस्पतालमा २१ गते तामेल गराएको जनाएको छ ।

‘निर्णय भएकै बखत हामीले फोनमार्फत शिविर नचलाउनू भनेर जानकारी गराइसकेका छौं,’ कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले भने, ‘निर्णय तामेल भइसकेको छ, कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्दैछौं ।’ सञ्जेलका अनुसार पहिले नोबेल अस्पतालका प्रमुख चुनावमा उठेको नखुलेकाले आयोगले अनुमति दिएको र खुलिसकेपछि आयोग पछि हटेको बुझिन आएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आचारसंहिता उल्लंघन नहुनेगरी अनुमति दिएको भए स्वास्थ्य शिविर चलाउन अप्ठेरो नरहेको बताए । यद्यपि, अनुमति दिएको र रद्द गरिएको भए त्यसैअनुसार कारबाही हुनुपर्ने बताए । तर, आफूलाई नोबेलको चलाइरहेको स्वास्थ्य शिविरबारे जानकारी नभएको उनले बताए ।

यता, नोबेल मेडिकल कलेज विराटनगरले निःशुल्क स्वास्थ्य शिविर अभियान जारी रहेको जनाएको छ । उसले निर्वाचन आयोग र स्वास्थ्य मन्त्रालयकै अनुमतिमा शिविर सञ्चालन भइरहेको जनाएको छ ।

कलेज सञ्चालक शर्माले आफ्नो पदबाट राजीनामा दिइसकेको हुनाले शिविरलाई उम्मेदवारसँग जोड्न नमिल्ने जनसम्पर्क अधिकारी दाहालले बताए । ‘सुनील शर्मा सरले कलेजको निर्देशक पदबाट राजीनामा दिइसक्नुभएको छ, उहाँ र कलेजको सम्बन्ध सकिइसकेको अवस्थामा हामीलाई स्वास्थ्य शिविर चलाउन आचारसंहिताले छेक्छजस्तो लाग्दैन,’ दाहालले भने, ‘तथापि, आचारसंहिता उल्लंघन भयो भनेर निर्वाचन आयोगले रोक्न निर्देशन दिन्छ भने हामी बन्द गर्छौं ।’

‘नक्कली सर्टिफिकेटधारी’ डाक्टर

डाक्टरको नक्कली प्रमाणपत्र लिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पटक–पटक खोजी गरेका नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनील शर्मालाई नेपाली कांग्रेसले प्रतिनिधिसभा उम्मेदवार उठाएको हो । कांग्रेस मोरङ जिल्ला समितिले ‘नचाहँदा नचाहँदै’ निर्वाचनमा शर्माको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो ।

मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूका अनुसार क्षेत्र नम्बर ३ बाट उनी एक्लैको नाम सर्वसम्मतीले आएपछि उम्मेदवार बनाइयो । ‘केन्द्रले गाउँ र क्षेत्रलाई अधिकार दिएको थियो, त्यसैअनुसार शर्माको नाम सिफारिस भएर आएछ, हामीले हस्तक्षेप गर्न पाएनौं,’ लिम्बूले भने, ‘हामीले सुनील शर्माको नाम सिफारिस गर्न चाहेका थिएनौं, गाउँ–क्षेत्रबाट आएको नाम काट्ने अधिकार जिल्लालाई छैन ।’

लिम्बूका अनुसार यसपटकको निर्वाचनमा जिल्लालाई ‘राय लेख्न’ मात्र अधिकार दिइएको थियो । शर्माको नाममा जिल्लाले ‘राय’मात्र लेखेको लिम्बूले बताए । ‘सुनील शर्माको नाममा केन्द्रदेखि नै लबिङ भएका कारण हामी धेरै बोल्न बाध्य छैनौं,’ लिम्बूले भने।

नेपाल प्रहरीका अनुसार शर्माको आइएस्सी प्रमाणपत्रमा कैफियत देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा नवराज सिलवाल प्रमुख भएका बखत नक्कली प्रमाणपत्रधारी डाक्टर समात्ने अभियान ‘अपरेसन क्वाक’ चलाउँदा शर्मा फरार भएका थिए । त्यतिबेला ब्युरोमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार वीरगञ्ज, जनकपुर, विराटनगरबाट डाक्टरहरू पक्राउ गर्दा शर्मा फेला परेका थिएनन् । ‘हामी ब्युरोमा काम गर्दा सुनील शर्मालाई धेरैपटक खोजिएको हो,’ ती अधिकृतले भने ।

शर्माले आइएस्सी प्रमाणपत्र नक्कली बोकेको प्रहरी बताउँछ । नोबेल सञ्चालक हुनुपूर्व शर्मा चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थी ओसार्ने गर्थे । विद्यार्थी ओसार्दैगर्दा उनले त्यतैबाट एमबिबिएस प्रमाणपत्र लिएको बुझिन्छ । शर्माको एमबिबिएस प्रमाणपत्रमा पनि राज्यका निकायहरूले शंका गर्ने गरेका छन् ।

नोबेल सञ्चालक शर्मा कांग्रेसको तेह्रौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि सिफारिस भएका थिए । मोरङ क्षेत्र नम्बर ८ बाट त्यतिबेला शर्मा सिफारिस हुँदा सोही क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचन उठेका नेता रमेशजंग रायमाझी छुटेका थिए । रायमाझी भन्छन्, ‘८ नम्बर क्षेत्रको चुनावमा मैले दोस्रो मत ल्याएँ, तर म नै महाधिवेशन प्रतिनिधिमा सुनील शर्मासँग घुँडा टेक्नुप¥यो ।’

रायमाझीका अनुसार त्यसबेला केन्द्रीय नेताहरूको पहुँचमा शर्माले महाधिवेशन प्रतिनिधि हत्याएका थिए । उनी सोही सालमात्र कांग्रेसको सक्रिय सदस्य भएका थिए । रायमाझीका अनुसार सक्रिय सदस्यता लिएको केही समयमै महाधिवेशन प्रतिनिधि बन्ने सुनील शर्मा सम्भवतः कांग्रेसकै पहिलो कार्यकर्ता हुन् ।

शर्मालाई २०७० सालमा नक्कली प्रमाणपत्रमा एकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएको थियो । तर, शर्मा केही दिनमै अख्तियारको फन्दाबाट उम्किएका थिए । पछिल्लो समय ब्युरोले खोजी गर्न थालेपछि शर्मा तीन महिना नेपाल छोडेका थिए ।

शर्मालाई महाधिवेशन प्रतिनिधि बनाउन कांग्रेस नेता शेखर कोइराला हात धोएर लागेको मोरङ कांग्रेस बताउँछ । यसपालि पनि कोइरालाकै जोडबलमा शर्मा उम्मेदवार बनेको अधिकांश कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

संघीय संरचनागत हिसाबले अहिले निर्वाचन क्षेत्रहरू अदलबदल भएका छन् । गिरिजाप्रसाद कोइरालाको १, २, ३ नम्बर क्षेत्रको केही र ४ को केही भाग मिलेर अहिले क्षेत्र नम्बर २ बनेको छ ।
८, ९ र १ मिलेर क्षेत्र नम्बर १ बनेको छ । क्षेत्र नम्बर २, ३ र ८ मिलेर ३ नम्बर क्षेत्र बनेको छ । क्षेत्र नम्बर ३ मा भौसनीदेवी खवास र मानबहादुर लिम्बूको पनि दाबी थियो । दुबैले दाबी फिर्ता लिएपछि शर्माको नाम सर्वसम्मतीले सिफारिस भएको थियो ।

शर्मा, माओवादी केन्द्रका नेता वर्षमान पुन र कांग्रेस नेता कोइरालाको ‘नोबेल कनेक्सन’ चर्चा चुनावताका उजागर हुने गरेको छ । सेयर सदस्यमात्र रहेका शर्माले नोबेका चार जना सञ्चालकबाट एकलौटी नोबेल मेडिकल कलेज हत्याएका थिए । सञ्चालक समिति अध्यक्ष डा. ज्ञानेन्द्र गिरीलाई काठमाडौं विमानस्थलबाटै अपहरण गराएर शर्माले नोबेल आफ्नो हातमा लिएका थिए । त्यसबेला माओवादी नेता पुनले सघाएकाले पुन–शर्मा ‘कनेक्सन’ अहिले पनि राम्रो छ ।

कोइराला–शर्मा सम्बन्ध माओवादी युद्धकालदेखिको हो । माओवादीलाई शान्ति वार्तामा ल्याउनका लागि शर्माले प्रचण्ड–कोइरालालाई भारतमा भेट गराएपछि कोइराला–शर्मा ‘कनेक्सन’ मजबुत बनेको कहानी छ। कोइराला र पुन नोबेलका ‘अघोषित पार्टनर’ भनिन्छन् ।

साधारण सुनील नोबेलका मालिक कसरी ?
दुई अर्बभन्दा बढी चलअचल सम्पत्तिका मालिक भनिएका नोबेल अस्पताल सञ्चालक सुनील शर्माको विभिन्न ठाउँमा करोडौं लगानी देखिएको छ । शर्मा यति छोटो समयमा त्यत्रो सम्पत्ति र विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने क्षमताका कसरी भए कुनै निकायले नजर लाउन भने सकेको छैन । शर्माले आफ्नो सम्पत्ति श्रीमती र नातेदारका नाममा सेयरमार्फत छिराएका छन् । नोबेल अस्पतालबाहेक शर्माको काठमाडौंमा पिपुल्स डेन्टल कलेज, मेडिकल इन्स्टिच्युट, घर र मोरङकै विराटनगर, बेलबारी र हसन्दहमा जग्गा फेला परेको छ ।

आन्तरिक राजश्व विभागको अनुसन्धानमा पर्दा चार वर्षअघि शर्माले नोबेलमा एक अर्बको कारोबार रहेको स्वीकार गरेका थिए । तर, बैंक अफ काठमाडौं लगायत विभिन्न बैंकमार्फत नोबेलमा दुई अर्ब बढी लगानी रहेको अनुसन्धानमा खुलेको थियो । सेयरधनी बनेर भित्रिएका सुनील नोबेलको चलअचल सम्पत्तिको एकलौटी मालिक कसरी बने भन्ने यदाकदा खोजी हुने गरेका छ । नोबेलको सेयर उनको नाममा एकलौटी कसरी हस्तान्तरण भयो भन्ने नै शंकाको घेरामा छ ।

अनुसन्धान अनुसार नोबेल आफ्नो बनाएपछि उनले विभिन्न ठाउँमा लगानी गर्न सुरू गरेको पाइएको छ । काठमाडौं नयाँबजार नजिक शर्माको पिपुल्स डेन्टल कजेल सञ्चालनमा छ । सुरूमा साँढुभाइ रोशन लुइँटेलमार्फत उनले ९ करोड सेयर त्यो कलेजमा हालेका थिए । अहिले पूरै आफ्नो भइसक्दा त्यो कलेजमा २७ करोड रूपैयाँ बैंकहरूकै लगानी रहेको स्रोतले बतायो ।

सुनीलको पुतलीसडकमा भाइब्रेन्ट नाम गरेको मेडिकल इन्स्टिच्युट छ । निकै महंगो शुल्क उठाएर त्यहाँ एमबिबिएस पढ्ने विद्यार्थीलाई तयारी कक्षा दिइन्छ । यसमा करिब ५ करोड लगानी शर्माको छ । पत्नी इन्दिराका नाममा सुनीलले भद्रकालीछेऊ १८ आना जग्गा र घर जोडेका छन् ।

शर्माकै अस्पतालको बेलबारीमा नोबेल सामुदायिक अस्पताल सञ्चालनमा छ । नोबेल अस्पतालकै उक्तरपट्टि उनको एक लाखभन्दा बढी प्रतिधुर पर्ने १३ कठ्ठा जमिन छ । त्यसैगरी, बेलबारीमै सुनीलले ५ बिगाहा जग्गा जोडेका छन् । अमरदह गाविसमा जय भट्टराईको ७ बिगाहा जमिन शर्माले आफ्नो नाममा बनाएका छन् । भट्टराईले सापटीबापत सुनीलले दिएको पैसा फिर्ता गर्न नसकेपछि जग्गा नामसारी गरिएको स्रोतले जनायो ।

निकटस्थका अनुसार लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट जिल्ला गए । उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किँदा सुनील भइसकेका थिए । उनले चीनबाट एमबिबिएस पास गरेको सर्टिफिकेट देखाउने गरे पनि त्यो शंकास्पद भन्दै अख्तियारले छानबिन गरेको थियो । शर्मा चीन गएको ६ महिनामै फर्केर नेपाल र भारतका विद्यार्थी चीनका मेडिकल कलेजमा ओसार्ने ‘गिरोह’ बनेका थिए ।

२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल मेडिकल कलेजमा २८ करोड लगानी थियो । नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनील त्यसमा १६ प्रतिशत सेयर लिएर छिरेका थिए । नभन्दै डा. कोइरालामार्फत २०६४ सालमा उनले सम्बन्धन पनि दिलाए । तर, सम्बन्धन दिलाएको केही समयमै माओवादी नेता वर्षमान पुनमार्फत शर्माले गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई काभ्रे कामीडाँडा पु¥याएर मरणासन्न हुनेगरी पिटाएपछि सबै सञ्चालक नोबेलबाट अलग भए । अन्य सबै सञ्चालक हटेपछि नोबेल सुनीलको एकलौटी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर