खबर पूर्वाञ्चल
१ नम्बर प्रदेश प्रहरीले विराटनगर रानीमा आज एक कार्यक्रम आयोजना गरि जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र पासवान र क्षेत्रीय अनुसन्धान समूहकी जवान बसन्ती राईलाई नगदसहित पुरस्कृत गरिएको हो ।
सुनसरीको धरान ५ की साधनादेवी श्रेष्ठको नामबाट स्थापित ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट’ उनीहरुलाई जनही नगद ४०÷४० हजार रुपैया र प्रशंसापत्र सहित पुरस्कृत गरिएको हो । दुबै जना अपराध अनुसन्धान र नियन्त्रणमा दख्खल राख्ने प्रहरीमा पर्दछन् ।
साधनादेवीको छोरा प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठले दुबै जनालाई नगद सहित पुरस्कार प्रदान गरे ।
एक वर्ष भरीमा अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रभावकारी र उत्कृष्ट कार्य गरे बापत पासवान र राई पुरस्कृत भएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले बताए ।
कार्यक्रममा बोल्दै एआइजी उपाध्ययले ‘राम्रा काम गर्ने प्रहरीलाई यसरी नै पुरस्कृत गरेर मनोवल उच्च बनाइने छ । नराम्रो काम गर्नेलाई दण्ड र सजाय गरिने छ ।’ पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रदान गर्ने गरी २०७० सालमा स्थापना भएको हो । यो पुरस्कार २०७१ सालदेखि प्रत्येक वर्ष प्रहरी दिवशका अवसरमा प्रदान गरिंदै आएको छ ।
पहिलो वर्ष ५० हजार रुपैयाँबाट सुरु गरिएको पुरस्कारको राशि बढेर अहिले ८० हजार पुगेको हो । पुरस्कार स्थापना गर्ने पक्षले प्रत्येक वर्ष १० हजार रुपैयाँ बढाएर पुरस्कार राशि एक लाख पु¥याइने बताइएको छ ।
मोरङमा विभिन्न गोली काण्ड, लुटपाट, हत्या, बलात्कार, सुनचाँदी तस्करी, नेटवर्किङ ठगि, लागूऔषध, सीमा अपराध, तस्करी लगायतका अपराधको सफल अुनसन्धान गरेर पासवान चर्चामा आएका थिए । प्रसनि पासवान नेतृत्वको टोली विराटनगरसंगै सीमाना जोडिएको मोरङको कटहरी गाउँपालिकाका मारवाडी समुदायका डाँगा सासूबुहारीको गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गरेर घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरी वृतमा चर्चा छ ।