खबर पूर्वाञ्चल

गत २ महिनादेखि विद्यालयमा गणित र विज्ञान विषय पढाउने शिक्षक छैनन् । दरबन्दी हुँदा पनि शिक्षा कार्यालयले शिक्षक नपठाउँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक भरत बहादुर बस्नेतले बताए । विद्यालयमा विद्यालय व्यवस्थापन समिति पनि छैन र शिक्षकको पदपूर्तिका लागि शिक्षा कार्यालयमा निवेदन दिँदा पनि कुनै सुनुवाई भएको छैन । ७ सय ५० जना विद्यार्थी पठन–पाठन गर्ने विद्यालयमा दरबन्दी भएर पनि शिक्षक नपठाउँदा चलखेल भएको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीको भनाइ छ ।
रंगेलीको १ नम्बर वडामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ६ देखि १० सम्मको विज्ञान र गणित पढाउने शिक्षक नहुँदा २ महिनादेखि पठन–पाठन अवरुद्ध
‘शिक्षा कार्यालयलाई चारो नपुगेको जस्तो लाग्छ,’ कार्कीले भने, ‘दरबन्दीका लागि त्रिभुवन माविमा पठाइएका शिक्षकलाई अन्तै पठाइएको छ, विद्यार्थीको भविश्य शिक्षा कार्यालयबाटै बन्धक बनाइयो ।’ कर्मचारी र ब्यूरोक्रेसी नेपालको कस्तो छ भन्ने कुरा बुझ्न आग्रह गर्दै कार्कीले चारोमा पल्केकाहरुले विद्यालयलाई यो हालतमा पु¥याएको बताए ।
कक्षा १० मा अध्ययनरत विद्यार्थी विजय कार्कीले आफूहरुको पठन पाठन नहुँदा विज्ञान र गणित अध्ययन गर्ने समय यतिकै व्यतित गर्नु परेको बताए । ‘परीक्षाको समय आउन लागिसक्यो, कोर्षको पढाइ भएको छैन,’ उनले भने, ‘हामीले कसरी पढेर अरुसँग प्रतिस्पर्धा गर्ने ? ।’ सोही कक्षा अध्ययनरत छात्रा निरुता खवासले आपसी खिचातानी र शिक्षा कार्यालयको हेलचेक्¥याइँका कारण आफूहरुको पठन पाठन चौपट बनेको बताइन् । ‘हामीहरुको भविश्य बर्बाद भयो,’ उनले भनिन्, ‘काहाँबाट कसले शिक्षक पठाउने हो हामीलाई थाहा छैन तर हाम्रो पढ्न पाउने अधिकार हनन् भयो ।’
विद्यालयमा व्यवस्थापन समिति निर्माण नभएको डेढ वर्ष नाघेको छ । व्यवस्थापन समिति निर्माणका लागि शिक्षा कार्यालयसँग पहल गर्दा सहमति गर भनेर भन्ने गरेको प्रधानाध्यापक बस्नेतले बताए । ‘व्यवस्थापन समिति निर्माण गर्न सहमति माग्दा यहाँ सहमति हुँदैन, मतदानको प्रक्रियाबाट गर्न खोज्दा शिक्षा कार्यालय मान्दैन,’ बस्नेतले भने, ‘अन्य विद्यालयमा गठन भए जसरी पनि व्यवस्थापन समिति निर्माण गर्न नदिनुले शिक्षा कार्यालयले खोजेको के हो बुझ्न सकिएन ।’
रंगेली १ नम्बर वडाका वडा अध्यक्ष महेशकुमार खनालले विद्यालयले आफूहरुलाई समस्याको बारेमा जानकारी गराएको कारण तत्कालै जिल्ला शिक्षा कार्यालयसँग स्पष्टिकरण सोधिने बताए । ‘यति राम्रो विद्यालयलाई किन बन्धक बनाइँदैछ, चार महिनादेखि विज्ञान र गणित पढाइ किन भएन, हामीलाई जवाफ चाहिन्छ,’ खनालले भए, ‘एसइइ परीक्षा दिने विद्यार्थीले के तयारी गर्ने र के परीक्षा दिने ? ।’ विद्यालयमा ८ जना दरबन्दीका शिक्षक र ४ जना राहत शिक्षक रहेका छन् । गणित र विज्ञान विषयको दरबन्दी भएर पनि शिक्षक उपलब्ध छैनन् ।
‘विराटनगरमा ५ जना विद्यार्थी बराबर १ जना शिक्षक उपलब्ध गराइएको छ,’ विद्यालयका अभिभावक पर्शुराम चौंलागाईले भने, ‘यहाँ भने ५० विद्यार्थी बराबर १ जना शिक्षक पनि उपलब्ध गराइँदैन, शिक्षा कार्यालयको चरम लापरबाही देखियो ।’ शिक्षा कार्यालयले भने दरबन्दीका लागि उक्त विद्यालयमा पठाएको शिक्षक ‘सेटिङ’ मिलाएर अन्तै पठाउने गरेको अभिभावकको गुनासो छ । व्यवस्थापन समिति नहुँदा विद्यालयको भवन निर्माण देखि अन्य काममा पनि ढिलासुस्ती भइरहेको अभिभावक पर्शुराम चौंलागाई बताए ।