खबर पूर्वाञ्चल
काठमाडौं- आपूर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थानहरूमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालक समिति सदस्य नियुक्त गर्न लागिपरेका छन् ।
मण्डलले आफ्नै गृहजिल्ला मोरङ (विराटनगर–१४) का अरबिन्द्रकुमार अग्रवाललाई निगमको बोर्ड अफ डाइरेक्टर बनाउन आपूर्ति सचिवलाई निर्देशन दिइसकेका छन् । अर्बौं घाटामा गएर बन्द भएको नेसनल ट्रेडिङ लिमिटेड सञ्चालक समितिमा पनि उनले कार्यकर्ता भर्ती गरेका छन् । निरन्तर घाटामा गएपछि जग्गा बेचेर साढे दुई सय कर्मचारीलाई अवकाश दिएको लिमिटेडमा मन्त्री मण्डलले आफ्नै क्षेत्रका भोगेन्द्रप्रसाद यादवलाई नियुक्त गरेका छन् । यादव सन्हैठा–७, सिराहका बासिन्दा हुन् ।
कर्मचारीलाई तलब खुवाउन नसकेपछि लिमिटेडले जग्गा बेचेर दुई सय ६४ जनालाई अवकाश दिएको थियो । ‘कर्मचारीलाई तलब खुवाउन नसकेपछि जग्गा बेचेर अवकाश दिइएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘बन्द भएको नेसनल ट्रेडिङमा सञ्चालक समिति सदस्य नियुक्तिको कुनै औचित्य छैन ।’ मन्त्रालयकै पहलमा लिमिटेडको ४९ रोपनी १० आना जग्गा प्रतिआना ४२ लाख रुपैयाँका दरले ३ अर्ब २५ करोड रुपैयाँमा आयल निगमलाई बिक्री गरिएको थियो ।
त्यसैगरी मन्त्री मण्डलले नेपाल खाद्य संस्थानमा पनि दुईजनालाई सञ्चालक समिति सदस्य नियुक्त गरेका छन् । मण्डलले संस्थानमा राजपुर–९, सप्तरीका योगेशचन्द्र रोशन र रत्नराज पाण्डेलाई सञ्चालक समितिमा नियुक्ति दिएका छन् ।
मन्त्रीले संस्थानको कार्यविधि मिचेर खाद्य संस्थानका पूर्वमहाप्रबन्धक हरिनारायण शाहलाई नियुक्त गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री कार्यालयले रोकेको छ । मन्त्री मण्डलले संस्थानको कार्यविधिसमेत परिवर्तन गरेर ६५ वर्ष पुगेका शाहलाई महाप्रबन्धक बनाउने तयारी गरेका थिए । ‘मन्त्रीज्यूले शाहलाई बनाउने अधिकतम प्रयास गर्नुभयो,’ संस्थानका एक उच्चअधिकारीले भने, ‘मन्त्रिपरिषद्बाट कार्यविधि फेरेर नियुक्ति गर्ने प्रयास पनि सफल हुन सकेन ।’ त्यो पूरा नभएपछि अहिले मन्त्रालयले संस्थानको महाप्रबन्धक नियुक्त गर्न विज्ञापन खोलेको छ ।
तपाईको प्रतिक्रिया