AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेस युनियनद्वारा विभिन्न पुरस्कारको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०७४, सोमबार १४:११
3
Shares
विराटनगर, १६ साउन / नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष समर्पण गर्दै आएको विभिन्न पुरस्कार घोषणा गरेको छ ।
युनियनको आज विराटनगरमा बसेको बैठकले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार र रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारको घोषणा गरेको हो । बैठकको निर्णय अनुसार शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार शंकर खरेल, विक्रम निरौला र रुपेन्द्र शेर्मालाई प्रदान गरिने भएको छ । खरेल अढाई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय छन् । उनका विभिन्न साहित्यिक कृतिहरू प्रकाशित छन् । खरेल न्यू सृष्टि दैनिकका प्रधान सम्पादक हुन् ।
त्यस्तै निरौला नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष हुन् भने उनी बीबीसी नेपाल सेवामा कार्यरत छन् । उनी उद्घोष दैनिकका समाचार सम्पादक समेत हुन् । त्यस्तै शेर्मा उत्तरी मोरङमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । उनी उर्लाबारीस्थित सञ्चार क्लबका पूर्व अध्यक्षसमेत हुन् । उनीहरूलाई जनही १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरिने युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । सो पुरस्कार गत वर्ष शेखर रेग्मी, शंकर लुइँटेल र सुशीला पाठकलाई प्रदान गरिएको थियो ।
त्यस्तै रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार अभयकुमार राईलाई प्रदान गरिने भएको छ । ११ हजार रुपैयाँ राशिको सो पुरस्कार गत वर्ष पत्रकार अजित तिवारीलाई प्रदान गरिएको थियो । राई मकालु टेलिभिजनका कार्यक्रम निर्देशक हुन् । उनी खेल पत्रकारसमेत हुन् । यो पुरस्कारका लागि रिजाल परिवारले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेका छन् । रिजाल लामो समयदेखि राजनीति र साहित्य क्षेत्रमा सक्रिय छन् ।
यो पुरस्कार आगामी वर्षदेखि प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर जेठ १३ गते प्रदान गरिने अध्यक्ष नवोदितले बताए । यो वर्ष स्थानीय तहको निर्वाचन परेकाले पुरस्कार प्रदान गर्न ढिलो भएको हो । आगामी वर्षदेखि शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार पनि आचार्यको स्मृति दिवसको अवसर पारेर प्रदान गरिनेछ । घोषित पुरस्कार छिट्टै विशेष समारोह आयोजना गरेर प्रदान गरिने अध्यक्ष नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर