खबर पूर्वाञ्चल
३० जेष्ठ २०७४, मंगलवार १९:१३
बिनु तिम्सिना
विराटनगर, ३० जेठ / पटकपटक मिति सर्दै गए पनि मोरङमा स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । असारको समयमा निर्वाचन मिति घोषणा गरिएको भए पनि यहाँका कृषकदेखि सर्वसाधारण सबै निर्वाचनमा भाग लिन आतुर देखिएका छन् ।
लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन मोरङका सर्वसाधारण निकै आतुर देखिएका छन् । विभिन्न बाहानामा पटकपटक मिति सारिएकाले अहिले तोकिएको मितिमा पनि निर्वाचन हुने हो कि होइन भन्नेमा यहाँका सर्वसाधारणमा चिन्तासमेत बढेको छ । तथापि निर्वाचनमा भाग लिन उनीहरु आतुर देखिन्छन् ।
मोरङको पुरानो सदरमुकाम रंगेलीका स्थानीयहरु विकास निर्माण र भौतिक पूर्वाधार निर्माणमा रंगेली धेरै पछाडि परेको अवस्थामा अब हुने स्थानीय तहको निर्वाचनपश्चात रंगेलीको विकास हुने कुरामा आशावादी देखिएका छन् । लामो इतिहास बोकेको भएपनि पूर्वाधार विकास नहँुदा पछाडि परेको रंगेली नगरपालिका र यहाँका स्थानीयले रंगेलीलाई नमुना नगरपालिका बनाउने उम्मेदवार खोजिरहेको रंगेलीका स्थानीय राजेश बगडियाले बताउँछन् ।
सर्वसाधारणमात्रै होइन मोरङका कृषकहरु पनि निर्वाचनको उतिकै व्यग्र प्रतीक्षामा छन् । अब कुनै पनि बाहानामा यो निर्वाचन सर्न नहुने उनीहरुको तर्क छ । असारमा खेतीका लागि धमाधम हुने भए पनि आफूहरु निर्वाचनमा जसरी पनि सहभागी हुने उनीहरु बताउँछन् ।
खेतीको समयमा मजदुरी गर्नेहरुसमेत मजदुरी छोडेर भएपनि बल्लतल्ल हुन लागेको निर्वाचनमा रोजी नै छाडेर भएपनि सहभागी हुने बताउँछन् । मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र ८ वटा गाउँपालिकासहित १७ वटा स्थानीय तह रहेका छन् ।
जसबाट मोरङमा यसपटकको स्थानीय तहको निर्वाचनबाट ८ सय २९ जना निर्वाचित हुनेछन् । जसका लागि आगामी असार १४ दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरिएको छ । आफूहरुले व्यग्रताका साथ पर्खिरहेको निर्वाचन अब भने कुनै पनि बहाना सारिन नहुने यहाँका स्थानीयको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया