खबर पूर्वाञ्चल
१० जेष्ठ २०७४, बुधबार १७:३२
उर्लाबारी, १० जेठ / माओवादी जनयुद्धमा आरम्भदेखि नै होमिएका उर्लाबारी ५ का पदम धिमाल (पात्रे)ले पार्टी भित्र मौलादै गरेका विकृति विसंगतिलाई सहन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै स्वतन्त्र रहने घोषणा गरे ।
आज उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी उनले माओवादी केन्द्र छाडेको घोषणा गरेका हुन् । साविक उर्लाबारी ३ को वाइसिएल अध्यक्ष हुदै गाँउ उपाध्यक्ष,पार्टीको क्षेत्रीय सदस्य,मोरंग जिल्ला सदस्य भइ जिम्मेवारी निर्वाह गरिसकेका उनले पार्टी छाड्नु अघि माओवादी केन्द्रको उर्लाबारी नगर सचिवालय सदस्य रहेका थिए ।
आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उर्लाबारी नगरपालिकाको मेयरका आकंक्षी रहेका धिमालले पार्टीले आफूलाई उपेक्षा गरेको बताए । सर्वहारा वर्गको उत्थान गर्ने भने पनि आफूसँग मेयरको उम्मेदवारी दिने हो भने मोटो रकम खर्चिनु पर्ने भनिएको पनि उनले खुलासा गरे ।
पार्टी र जनतामा अलोक प्रिय छवि बनाएका व्यक्तिलाई नै माओवादी केन्द्रले उर्लाबारीमा टिके प्रथाबाट मेयरको उम्मेदवार बनाइएको धिमालको आरोप छ । पार्टी भित्र मौलाइरहेका व्यक्तिवादी प्रवृत्ति,निम्नि पुजीँवादी चिन्तन,लम्पसारवादले माओवादी केन्द्रको पतन हुदै गएको भन्दै उनले दुःख व्यक्त गरे ।
आजकै मितिदेखि उनले माओवादी केन्द्रबाट सम्पूर्ण जिम्मेवारी त्यागेर स्वतन्त्र जिवन व्यतित गर्ने घोषणा समेत गरे । यस्तै,उनले आसन्न उर्लाबारी नगरपालिकाको चुनावमा स्वतन्त्र नागरिकको तर्फबाट उपमेयरको उम्मेदवारी समेत घोषणा गरेका छन् । नेपाल आदिवासी महासंघ उर्लाबारीका अध्यक्ष समेत रहेका धिमालले आफूले विगतमा गरेको सामाजिक कार्यलाई मूल्यांकन गर्दै अमूल्य मत प्रदान गर्न नगरवासीलाई अपिल समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?