खबर पूर्वाञ्चल
१० जेष्ठ २०७४, बुधबार ०७:१४
विराटनगर, १० जेठ/ सोमवार एक सय तीन बर्ष लामो इतिहास बोकेको मोरङको सदरमुकाम विराटनगर महानगरपालिका घोषणा भएपछि राजनीतिक दलहरु विच जस लिने होडबाजी चलेको छ ।
करिव दुई दशक पछि हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचन तयारीमा जुटिरहेका राजनीतिक दलहरु विच महानगरपालिका घोषणाको जस लिने होडबाजी नै चलेको हो ।
विस २०५२ सालमा उपमहानगरपालिका घोषणा भएको विराटनगर २२ बर्ष पछि महानगरपालिका घोषणा भयो ।
विराटनगरलाई महानगर बनाउने चुनावी एजेण्डा बनाएका राजनीतिक दलहरु प्रचारप्रसार अभियान सञ्चालन गरीरहेको अवस्थामा महानगर घोषणा भएपछि जस लिने होडबाजी गरीरहेका छन् ।
प्रमुख तीन राजनीतिक दल बाहेक टोल संगठन र मोरङ व्यापार संघले पनि जस लिन खोजीरहेको छ ।
माओवादी भन्छ ‘ हाम्रो पहलमा विराटनगरलाई न्याय ’
नेकपा माओवादी केन्द्रले आफनो पार्टीको नेतृत्वमा विराटनगरलाई महानगर घोषणा भएपछि जस आफुले पाउनु पर्ने बताउदै आएको छ । मआवादी केन्द्रका प्रदेश नं १ इन्चार्ज गोपाल किराती विराटनगरलाई महानगर पालिका घोषणा गर्न माओवादीको ठूलो भूमिका रहेको बताउँछन् ।
माओवादी पछि मधेशबादी दल र कांग्रेसको केही सकारात्मक भूमिका रहेको बताउँदै उनी महानगर घोषणाको बिषयमा एमालेको कुनै भूमिका नरहेको दावि गर्छन् ।
माओवादी केन्द्र विराटनगर इन्चार्ज भोगेन्द्र यादव माओवादी अध्यक्ष प्रचण्डको पहलमा महानगर घोषणा भएको बताउँछन् । उनी भन्छन ‘ प्रचण्ड प्रधानमन्त्री नभएको भए महानगर घोषणा हुने सम्भावना थिएन’ नगरकमिटिले उठाउँदै आएको मुद्धा सरकारले सम्बोधन गरेको उनको तर्क छ ।
मंगलवार माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी महानगर बनाउने सरकारको घोषणालाई स्वागत गरेको छ । माओवादीले घर घरमा दिपावली मनाउन सबै सँग अनुरोध गरेको छ । महानगर घोषणा हुनु विराटनगर बासीकालागि गर्भको कुरा भएको नगर संयोजक नमिता न्यौपाने बताउँछिन । उनले महानगर घोषणा भएको विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने माओवादीको योजना रहेका जानकारी दिइन ।
एमाले भन्छ ‘साझा एजेण्डा
नेकपा एमाले अध्यक्ष विनोद ढकाल महानगरपालिका बनाउने सबै पार्टीको साझा अभियान भएको बताउँछन् । सबैले आ–आफ्नो स्थानबाट भूमिका खेलेको बताउदै उनले सबैको साझा एजेण्डा भएको बताएका हुन ‘कस कसले भूमिका खेलेका छन् भन्ने विराटनगरबासीलाई राम्रो सँग थाहा छ’ उनी भन्छन ‘ पहिले नै महानगर बन्ने थियो ढिलो भएपनि विराटनगरबासीको चाहाना अनुसार नै भएको छ ।’ सबैको सामुहिक पहलमा महानगरपालिका घोषणा भएको बताउँदै उनी अब विराटनगरको विकासमा लाग्नु पर्ने बताउछन् । जनतालाई आभास हुने गरी काम गर्नु पर्ने उनको भनाई छ ।
कांग्रेस भन्छ ‘हाम्रो एजेण्डा
नेपाली कांग्रेस नगर सभापति भिम पराजुली महानगर बनाउने एजेण्ड पहिले आफूहरुको उठाएको दावि गर्छन । ‘ म पहिलो पटक नगरसभापति भएपछि पहिलो बैठकमा विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने निर्णय गराएको थिए ।’ उनी भन्छन ‘ महानगर घोषणा कांग्रेसको पहलमा भएको हो ।’ उनले महानगर घोषणा भएपछि प्रदेश नं १ को राजधानी बनाउन पहल गर्नु पर्ने बताउँछन । नगरबासीलाई महानगरको अनुभूति दिने गरी अब आउने नेतृत्वले काम गर्नु पर्ने पराजुलीको भनाई छ।
हाम्रो पार्टीको भूमिका छ
स्थानीय विकास मन्त्रालयबाट विराटनगर र विरगञ्जलाई महानगर बनाउने प्रस्ताव मन्त्री परिषदमा पू¥याएका विजयकुमार गच्छदारले नेतृत्व गरेको पाटी नेपाल लोकतान्त्रिक फोरम मोरङ अध्यक्ष भक्तिनाथ माझी अरु पार्टी र व्यक्तीले अनावश्यक रुपमा जस लिन खोजेको गुनसो गर्छन ।
आफ्नो पार्टीको पहलमा महानगरपालिका घोषणा भएको बताउँदै उनले भने ‘ हाम्रो अध्यक्ष मन्त्री भए लगतै महानगरको प्रस्ताव लैजानु भएको हो, अरु पार्टीबाट स्थानीय बिकास मन्त्री भएकाहरुले महानगरको कुरा उठाएका थिएनन ।’
राप्रपाको पनि दावि
कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि महानगरपालिका घोषणामा जस लिन खोजीरहेको छ । स्थानीय बिकास मन्त्रालयको नेतृत्व आफ्नो पार्टी अध्यक्ष कमल थापाले गरेकै बेला महानगरपालिका बनाउने अभियान सञ्चालन गरेको बताउदै राप्रपा मोरङले पनि आफनो पहल भएको दावि गरेको छ ।
टोल संगठनको आफनै दावि
यता संयुक्त टोल नगर समन्व समिति विराटगरले पनि महानगरपालिका बनाउने एजेण्डा आफूहरुले उठाएको बताउँदै आएको छ । विस २०६० सालमा स्थापना भएको समितिले महानगरपालिका बनाउन स्थापना काल देखि नै आवाज उठाउँदै आएको दावि गरेको छ ।
समितिका अध्यक्ष राजेश मास्के र सचिव मेघराज श्रेष्ठले हस्ताक्षर गरी जारी गरेको अनुरोध पत्रमा पटक पटक टोल समन्वय समिति महानगरपालिका घोषणा गर्न पहल गरिरहेको उल्लेख छ । टोल संगठनले महानगर पालिका भएको खुशियालीमा दिपावली गरी मनाउन सबैलाई आग्रह गरेको छ ।
व्यापार संघको पनि दावि
व्यावसायीहरुको साझा संस्था मोरङ व्यापार संघले पनि महानगरपालिका बनाउँन आफूले भूमिका खेलेको भन्दै जस लिन खोजेको छ । व्यापार संघले केही दिन अघि महानगरपालिका बनाउने बिषयमा राजनीतिक दलहरुसँग छलफल गरेको थियो । व्यापार संघले पनि दिपावली गरेर महानगरको स्वागत गर्न सबैलाई भनेको छ । साभार उदघोष दैनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?