विराटनगर, ३ बैशाख / नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दे नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहुच र प्रतिनिधित्व हुनु पर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार कायम गरिए पनि ९ हजार ७ सय मात्र पाइरहेकाले बृद्धि भएको ज्याला समायोजन गर्नु पर्ने, कृषि, चिया बगानलगायतका क्षेत्रमा तोकिएको न्यूनतम ज्याला लागू पर्ने भन्दै ज्ञापन बुझाएका छन् ।
उनीहरुले संविधान संसोधन मार्फत राष्ट्रिय श्रम आयोगको गठन, बैधानिक हड्तालको अधिकार, नीति निर्माण र निर्णय प्रक्रियामा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनु पर्ने, औद्योगिक व्यवसाय सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्येयक २०७१ को दफा ४७ को श्रमीक विरोधी उपदफा ६ र ७ को खारेजी गर्न माग गरेका छन् ।
यस्तै कालो बजारी, अभाव र आकासिदो मूल्य वृद्धि नियन्त्रण गरी श्रमीकहरुलाई सर्वुसुलभ उपभोग्य बस्तुहरु उपलब्ध गराउनु पर्ने,रुग्ण भएका र बन्द भएका उद्योगहरुलाई आवश्यक संरक्षण गर्ने नीति लिनुपर्ने,सामाजिक सुरक्षा विधेयक पारित गरी योगदानमा आधारित सुरक्षा योजना संचालन गर्नुपर्ने,रोजगारी सिर्जना गर्न र आर्थिक विकासमा श्रमिकको सहभागिता वृद्धि गर्ने अख्तियार गर्नुपर्ने, सुमधुर औधोगिक श्रमसम्बन्ध कायम गर्नुपर्ने भन्दै उनीहरुले ज्ञापन बुझाएका थिए । यस्तै उनीहरुले केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला, क्षेत्रीय सभापति तथा सांसदहरुलाई बोधार्थ दिइएका थिए ।