लेटाङ, २ बेशाख । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा मोरङको लेटाङ भोगटेनी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।
लेटाङ नगरपालिका वडा नम्बर ४ स्थित जनसेवा सामुदायिक वन कार्यालयको प्राङ्गणमा भएको नागरिक सुनुवाई कार्यक्रमका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाको प्रमुख आतिथ्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारी,स्थानीय विकास अधिकारी सोभाखर रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक बिमल डंगोल, लेटाङ भोगटेनी नगरपालिकाका कार्यकारी अधिकृत नारायण न्यौपानेलगायत कार्यक्रममा सहभागी थिए ।
त्यस अवसरमा सहभागीले प्रहरी कार्य, हालको शान्ति सुरक्षाको अवस्था र प्रहरीले प्रवाह गरी रहेको सेवामा सुधार भएको धारणा व्यक्त गरेका थिए । सहभागीले नागरिक र प्रहरी एक अर्काका परिपूरक भएको बताए । प्रहरीको कार्य शैलीमा समय अनुकुल परिवर्तन गरिदै लैजानु पर्ने, लागु औषध दुव्र्यसन कम गर्न अझ ठोस कदम चालिनु पर्ने सुझाव दिइएको थियो ।
आउँदो ३१ गते हुन गईरहेको स्थानिय निकायको निर्वाचन सफल पार्नका निमित्त सबै मिली अगाडि बढ्नु पर्नेलगायतका सुझावहरू दिइयो । प्रजिअ कोइरालाले देश चुनावमा होमिएको हुँदा स्वच्छ, निर्भय र निश्पक्ष निर्वाचन गर्न सबैको महत्वपूर्ण भूमिका रहने बताए ।
विभिन्न स्थानहरूमा भइरहेको नागरिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिदै सो मार्फत नागरिकहरूबाट प्राप्त हुन आएका सुझाव तथा गुनासाहरूलाई आत्मसात गर्दै अघि बढ्ने एसपी भण्डारीले बताए ।