विराटनगर, ३० चैत / नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लेखनाथ न्यौपानेले युवाहरुले विकास र चेतनाको नेतृत्व गर्दै मुलुकलाई समृद्ध बनाउने अभियान संचालन गर्नु पर्ने बताए ।
योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)नेपाल मोरङ जिल्लाको प्रथम सम्मेलनमा बोल्दै नेता न्यौपानेले गाउँको विकास राष्ट्रको समृद्धि भन्ने नारालाई जनताका बीचमा लगेर छिटो भन्दा छिटो मुलुकको आर्थिक हैसियत उचो बनाउने कार्यमा युवाहरु सक्रिय हुनु पर्ने बताएका हुन् ।
वैज्ञानिक खेती प्रणालीबाट कृषिलाई अघि बढाउँदा लाखौं युवाहरुकालागि रोजगारको आधार बनाउन सकिने भएकोले रोजगार र स्वरोजकारकालागि व्यवसायिक कृषिमा युवाहरुको संलग्न अपरिहार्य रहेको उनको भनाई थियो । वर्तमान सरकारले कृषिको विकास, पानीको उपयोग र पर्यटनमा केन्द्रीत रहेर महत्वपूर्ण नीति तयार पारिरहेको भन्दै उनले त्यसबाट करोडौं रोजगारी नेपालमै दिन सक्ने आधार तयार हुने भएकोले युवाहरुलाई प्राविधिक दक्षता हासिल गर्न आग्रह गरे ।
वर्तमान सरकारले अँध्यारो नेपाललाई उज्यालोमा रुपान्तरण गरिसकेको तथा मुलुकको दिर्घकालिन विकासको आधार तयार पार्दै आर्थिक वृद्धिको सुरुवात गरेकोले जनताले माओवादीप्रति भरोसा बढाएको भन्दै युवाहरुको साथबाट देश बनाउने जिम्मेवारी पुरा गर्ने उनको दावी थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बुले जनताले माओवादी प्रति पूर्ण भरोसा गरेकोले आगामी निर्वाचनबाट पश्चगामी र यथास्थितीवादी शक्तिहरु आश्चर्यमा पर्ने दावी गरे ।
वर्तमान प्रचण्ड नेतृत्वको सरकारले देशमा सहमति तथा सुशासनको वातावरण तयार पार्दै लगेपछि जनतामा निराशा हटेको उनको भनाई थियो । उनले स्थानीय तहको निर्वाचन गर्ने दिशामा सरकार अघि बढेपछि देशभर सकारात्मक सन्देश प्रवाह भइरहेको बताए ।
मोरङका १७ वटै गाउँ तथा नगर पालिका तथा उपमहानगरपालिकाको सम्मेलन सम्पन्न गरी आयोजना भएको जिल्ला सम्मेलनमा २ सय ५० प्रतिनिधि तथा दुई सय पर्यवेक्षक सहभागि छन् । त्यस अघि विराटनगरमा वृहद जुलुस प्रदर्शन गरी नगर परिक्रमा गरेको थियो । कार्यक्रममा सांसद तथा जनकलाकार जेबि टुहुरेले युवाहरु सोचमा युवा हुनु पर्ने र युवा जोस कम्युनिष्टको जस्तो जनसेवामा समर्पित रहनु पर्ने बताए । उनले सांगितिक प्रस्तुती मार्फत मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा पूर्व मन्त्री तथा मोरङ जिल्ला संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेती, बुद्धिजिवि गणेश क्षेत्री लगायतले युवाहरुलाई सम्वोधन गरेका थिए ।